अब कार्यनीतिमा बद्लाउ 

कालेबुङ, 5 जुन


 लोकसभा अनि दार्जीलिङ विधानसभा उपचुनाउमा भाजपाबाट भारी व्यवधानले हारको सामना गर्न परेका विनय तामाङ पक्षको गोजमुमोले अलिघरि चुनाउ परिमाणलाई लिएर केन्द्रिय स्तरदेखि तृणमूल स्तरसम्म नै समीक्षा गरिरहेको छ। यता गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिले पनि पार्टी कार्यालयमा एउटा बैठक डाकेर चुनाउ परिणामलाई लिएर चर्चा-परिचर्चा गऱ्यो। 13 वटै समष्टिका प्रतिनिधिहरूलाई लिएर सम्पन्न बैठकमा पार्टीको हारबारे समीक्षा गर्दै अब जनताको विश्वास जित्न के कस्ता कामहरू गर्ने भन्ने विषयमा जोड दिइयो।

‘चुनाउ परिणामलाई लिएर हाम्रो समीक्षा भइरहेको छ’-युवा सचिव अमीर बस्नेतले भने, ‘हामीले जनतासमक्ष जानका निम्ति कुन-कुन कुरालाई प्राथमिकता दिनुपर्ने, हामी कहाँ चुकेका छौँ? भन्ने विषयमा हाम्रो आत्मलोचना भइरहेको छ।’

बस्नेत अनुसार ग्रामीण स्तरबाट नै सङ्गठनलाई दह्रिलो बनाउन शाखा स्तरका नेताहरूलाई पनि बोलाएर सुझाउहरू लिने काम भइरहेको छ। सङ्गठनलाई अघि बढाउन पार्टीले गर्नुपर्ने बद्लाउहरूबारे पनि कार्यकर्ताहरूले खुलेर सुझाउ राखेका छन् अनि ती सुझाउहरूलाई जिल्ला समितिमा चर्चा गरेपछि केन्द्रिय स्तरमा पुऱ्याइने भएको छ।

यसरी नै जीटीए अध्यक्ष अनीत थापाले अब रोजगारलाई प्रमुखता दिएर काम गर्ने जुन सोच बनाएका छन् त्यसलाई पनि युवा मोर्चाको समर्थन रहेको बस्नेतले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया