पृथ्वीलाई सिस्टमले बाँच्न देला के?

ती बौद्धिक जमातको निम्ति त्यो कारखानाको मालिक र प्लास्टिक सप्लाई गर्ने बजारले केही गरेकै छैन। त्यो व्यवस्थाको केही गलती नै छैन। ती लाखौं करोडौं जनसाधारण, जसलाई दोकानेले टमाटर हालेर दिने प्लास्टिक कहाँबाट आउँछ थाहासम्म छैन। जसलाई आफ्नो बिहान बेलुकी हातमुख जोड्नको निम्ति मजदुरी गरिरहेको कारखानाको मालिकको लोभले गर्दा पृथ्वी खतरामा परेको थाहा छैन। आफ्नो छोराछोरीको नाक, मुख र फोक्सोबाट हावा खोसिएको थाहा छैन र जसलाई आफ्नै घरमुन्तिरको खोला सुकाउने कम्पनीको मालिकको नामसम्म थाहा छैन। उसैको छोराछोरीलाई पर्यावरण दिवसको दिन स्कुलमा बिरुवा रोप्न लगाइन्छ। ती बौद्धिकहरू पर्यावरण सम्बन्धि सेमिनारहरूमा देशका करोडौं जनसाधारण र उनीहरूको कोखबाट जन्मिएका सपनाहरूलाई दोष लगाइरहेका हुन्छन्।


एनबी घिमिरे, नाम्ची दक्षिण सिक्किम


आज विश्वमा देखापरेका विभिन्न समस्याहरू मध्ये एउटा सबैभन्दा मुख्य समस्य पर्यावरणको विनाश हो। तीव्र जलवायु परिवर्तन हो। र यसै समस्यामाथि विभिन्न चर्चा परिचर्चा भइरहेको हामी देख्छौं। ठूलाठूला सेमिनारदेखि लिएर बहसहरू चलिरहेको छ। सबैको एउटै औचित्य छ। यो पृथ्वीलाई कसरी बचाउने? पर्यावरण दिनप्रतिदिन विनाशको बाटोमा हिँड्दैछ र यसका मुख्य मुख्य कारणहरू के के हुन्?

पर्यावरणको विनाशसँग सम्बन्धित अहिलेको सबैभन्दा ठूलो समस्या भनेको जलवायुको तीव्र परिवर्तन हो र यस विषयमा प्रायः सबैलाई थाहा छ। हामी सबैले तीव्र जलवायु परिवर्तनलाई पढ्दै र झेल्दै आइरहेका छौ। तर यसलाई कसरी रोक्ने? यो आजको महत्त्वपूर्ण प्रश्न बनेको छ।

हामीले देख्दै आइरहेका छौ कि जब मानव समाजमा कुनै आपत्ति आइपर्छ वा कुनै समस्या आइपर्छ तब हामी तत्कालीन समाधानको खोजीमा निस्किन्छौ। समस्याबाट तत्कालै समाधान चाहनु अथवा खोज्नु मानव प्रवृत्ति हो साथै आवश्यकता पनि।

तर तत्कालै खोजिएको समाधान स्थायी नभएर अस्थायी हुन्छ। अथवा त्यो समाधान क्षणिक हुनसक्छ र समस्या सकिएको हुँदैन। यहाँ यो कुरा गर्नको औचित्य के हो भने हामी पर्यावरण विनाश, पृथ्वीमा आएको सङ्कट, तीव्र जलवायु परिवर्तन आदिबाट बच्नको निम्ति तत्कालीन समाधानको खोजीमा छौं। यसैले हामी हरेक विश्व पर्यावरण दिवसमा बिरुवा रोप्छौं। प्लास्टिक टिप्छौं। र यो एउटा सकारात्मक संस्कृति नै बसिसकेको छ।

तर एउटा प्रमुख प्रश्न के छ भने “के विश्व पर्यावरण दिवसमा बिरुवा रोप्दैमा हामी यो पृथ्वीलाई बचाउन सफल बन्नेछौ। के प्लास्टिक टिप्दैमा वा यसको प्रयोग नगर्दैमा जलवायु परिवर्तनको तीव्रता रोकिन्छ त?”

यस प्रश्नमा प्रायःजसोको उत्तर हुन्छ कि “केही मात्रामा त रोकिन्छ।” तर अबको सबैभन्दा प्रमुख प्रश्न के उठ्छ भने “केही मात्रामा रोकिनु नै काफी हो त?” केही मात्रामा रोकिए हाम्रो भविष्य सुरक्षित रहन सक्छ?

हामीसित एउटा चरित्र हावी छ। हामी शक्तिशाली दुश्मन र कमजोर तप्का भेट्यौं भने कमजोरमाथि ‘वार’ गर्न थाल्छौं। यतिबिघ्न कराउँछौं कि सबैले उसैलाई दुश्मन देख्न थाल्छन्। यहीँ चरित्रलाई अझै मलजल गर्छ बलियो दुश्मनले। जब हामी कमजोर कमजोरबीचमा लडाईँ चल्न थाल्छ। हामी आफ्नो असली दुश्मनलाई भुल्लिन थाल्छौं। तब त्यो शक्तिशाली अथवा बलियो दुश्मन झनै शक्तिशाली हुन्छ। उ सुरक्षित हुन्छ र हामीमाथि राज गर्छ। हाम्रो मस्तिष्कमा हस्तक्षेप गर्छ। हामी उसले बनाएको आधारहरूमा सोच्न थाल्छौं।

अहिले हाम्रा बुद्धिजीवीहरूको एउटा ठूलो जमात पनि यसै दलदलमा फसेका छन्। कोही जानीजानी फसे। कोही अनजानमै फसे। त्यो बौद्धिक जमातको निम्ति पर्यावरण बिनाशको मुख्य कारण जनसंख्याको वृद्धि हो। र उनीहरूको निम्ति कारखानामा दिनभरि मजदुरी गरेर बेलुकी एक किलो टमाटर एउटा प्लास्टिक ब्यागमा किनेर फर्किएको मजदुरहरूले गर्दा पर्यावरण विनाश भइरहेको छ। किनकि उसले प्लास्टिकको झोलामा सरसौदा किनेको छ।

ती बौद्धिक जमातको निम्ति त्यो कारखानाको मालिक र प्लास्टिक सप्लाई गर्ने बजारले केही गरेकै छैन। त्यो व्यवस्थाको केही गलती नै छैन। ती लाखौं करोडौं जनसाधारण, जसलाई दोकानेले टमाटर हालेर दिने प्लास्टिक कहाँबाट आउँछ थाहासम्म छैन। जसलाई आफ्नो बिहान बेलुकी हातमुख जोड्नको निम्ति मजदुरी गरिरहेको कारखानाको मालिकको लोभले गर्दा पृथ्वी खतरामा परेको थाहा छैन। आफ्नो छोराछोरीको नाक, मुख र फोक्सोबाट हावा खोसिएको थाहा छैन र जसलाई आफ्नै घरमुन्तिरको खोला सुकाउने कम्पनीको मालिकको नामसम्म थाहा छैन। उसैको छोराछोरीलाई पर्यावरण दिवसको दिन स्कुलमा बिरुवा रोप्न लगाइन्छ। ती बौद्धिकहरू पर्यावरण सम्बन्धि सेमिनारहरूमा देशका करोडौं जनसाधारण र उनीहरूको कोखबाट जन्मिएका सपनाहरूलाई दोष लगाइरहेका हुन्छन्।

म कहिले पनि बिरुवा रोप्नेहरूको विरुद्धमा छुइन्। म बिरुवा नै नरोपी फलको आशा गर्ने मूर्ख पनि होइन। तर समस्याको मुख्य जडलाई उखेलेर फ्याँकिएन भने स्वच्छ र स्वस्थ पृथ्वीको आशा गर्नु चिलाउनेको विरुवा रोपेर आँपको आशा गर्नु जस्तै हो।

तीव्र जलवायु परिवर्तनको कारणहरू के के हुन सक्छन्? कसले कति विनाश गर्दैछ र कसले कति सपार्दैछ? यो विषयमा अध्ययन गर्न जरुरी देखिन्छ। त्यसको तथ्याङ्कहरू यहाँ राख्न म सक्दिनँ कारण यो लेख लामो हुन जान्छ। ती डाटाहरू सबै प्रकाशित छन्। अफिसियल डाटाहरू इन्टरनेटमा पनि हेर्न सकिन्छ। यसैले यो लेखमा केही कारणहरू मात्रै बताउने प्रयत्न गर्नेछु।

वास्तवमा पर्यावरण विनाश गर्नेमा प्रमुख हात पहिलो विश्वमा भएका ठूला ठूला कम्पनीहरूको छ। त्यहाँका आम जनता तथा युवावर्ग र विद्यार्थीहरू पनि अहिले ती कम्पनीहरूको विरुद्धमा लडाईँ लडिरहेका छन्। ती कम्पनीहरू जो अहिले तेस्रो विश्वका राष्ट्रहरूमा पाइला टेकिसकेका छन्। विश्व पुँजीवादी आर्थिक व्यवस्था नै यसको मूल कारण हो जो अहिले साम्राज्यवादी चरित्रको छ।

सुन्दा अचम्म लाग्छ कि करोडौं जनतालाई छोडेर एकमुठ्ठी कम्पनीहरू कसरी पर्यावरण विनाशका कारणहरू हुन सक्छन्? तर सत्य त्यही नै हो। उनीहरूले प्रकाशित गरेका तथ्याङ्कहरू हेरेर नै हामी भन्न सक्छौं, दिनरात पसिना बगाएर बिहान बेलुकी हात मुख जोड्न र गुजारा गर्नको निम्ति एउटा रुख काट्ने, एकमुठ्ठी दाउरा बाल्ने र दुईवटा माछा मार्ने किसानहरू, मजदुरहरू र आदिवासीहरूले भन्दा हजारौं गुणा धेरै प्रदुषण एकमुठ्ठी कम्पनीहरूले गरिरहेको छ। जनसाधारणहरू गुजारा गर्नको निम्ति एकदुई माछाको सिकार गर्छन् भने पुँजीवादीहरू आफ्नो लोभको भाडो भर्न र अधिक नाफा कमाउनको निम्ति खोलाको नै सिकार गर्छन्।

बजारले एसी बनाउँछ र विज्ञापन छाड्छ। गर्मीमा शीतलता दिने भन्छ। मानिसहरू एसी किन्छन्। अर्को साल अलिक गर्मी बढ्छ। बजारले नयाँ ब्रान्डको एसी निकाल्छ। विज्ञापन टाँस्छ र भन्छ, यसले पहिलाको भन्दा धेरै शीतलता प्रधान गर्छ। मानिसहरू त्यो किन्छन् किनकि पहिलाको भन्दा साँच्चै गर्मी बढेको छ। अनि अर्को साल झनै गर्मी बढ्छ। र त्यसरी नै बजारले अर्को एसी जन्माउँछ। हामी किन्छौं। तर हामी कहिले पनि बजार, एसी र गर्मीको सम्बन्ध बुझ्ने चेष्टा गर्दैनौं। र गर्मी बढ्नुको दोष लगाउँछौ हिउँदमा एक अङ्गालो दाउरा ताप्ने जनसाधारणलाई। यहीँ नै हाम्रो प्रवृत्ति छ। हामी शक्तिशाली दुश्मनको विरुद्ध खडा हुनुभन्दा कमजोर निर्दोषलाई नै तार्गेट गर्न सजिलो सम्झिन्छौं।

जेनेभा र रियो सम्मिटहरू जस्ता अनेकौं भेलाहरू भइसके। विश्व नेताहरू अनेकौंपटक बोलिसके। हजारौं सेमिनारहरू भइसके। तर हिजो जुन गतिमा पर्यावरणको विनाश हुँदै थियो आज त्योभन्दा दुई गुणा बढेर गएको छ।

अबको लडाईँ भनेको पुँजीवादसँगको हुनुपर्छ। ग्रेटा तेन्बर्ग जस्ता हजारौं विद्यार्थीहरू अहिले सडकमा ओर्लिएर सिस्टमलाई प्रश्न गर्दैछन्। अदानी जस्तो कोर्पोरेटहरूलाई बाटो छेक्दै छन्। किन? किनकि ती उमेर र सोच दुवैले बुढा भएका नेता र पुँजीपतिहरू तथा सोचले बुढा भएका युवाहरू र जनप्रतिनिधिहरूलाई यो पृथ्वीको मतलब छैन। मतलब अब हामीलाई छ। युवा र नयाँ पुस्तालाई छ। विश्व मानव सभ्यतालाई छ।

आज हामी जो जो पनि पर्यावरण दिवसमा बिरुवा रोप्दैछौं। हामीले पनि याद गर्नुपर्छ कि यो खराब सिस्टमले खोला बेच्छ, पहाड बेच्छ, बनजङ्गल बेच्छ कोर्पोरेट हाउसहरूलाई। अनि अबको बीस तीस बर्षमा हामीले रोपेको विरुवाहरू ठूलो हुन्छ र त्यसलाई पनि उनीहरूले मेसिन लगाएर फाँड्छन्। जसरी एमाजोनमा किलोमिटर दर किलोमिटर जङ्गलहरू मिनेटमा मिनेटमा काटिन्छन्। जसरी टन टन टक्सिक् पदार्थहरू खोलाहरूमा हालिन्छ। जसरी खोलाहरूको घाटीमा अनेकौं ड्यामहरू लगाएर केवल नाफाको निम्ति चाहिएकोभन्दा लाखौं गुणा धेरै उत्पादनहरू गरिन्छ। यो व्यवस्थाले हाम्रो हातबाट हाम्रो भविष्य खोसेर लाँदैछ। हाम्रो फोक्सोबाट सास खोस्दैछ। हाम्रो पैतालामुनिबाट जमिन खोस्दैछ। र यही व्यवस्थाले भन्दैछ “तिमीहरू बिरुवा रोप्नु, प्लास्टिक टिप्नु, दाउरा नबाल्नु, नानीहरू नजन्माउनु।”

अबको समय भनेको एउटा हातले बिरुवा रोप्दै अर्को हातले सिस्टम विरुद्ध लडाईँ लड्ने हो। किनकि हामीसित दुईवटा मात्रै विकल्प छ:

कि यो पुँजीवाद साम्राज्यवाद सिस्टमलाई मारेर पृथ्वी बचाउने

कि यो सिस्टमलाई बचाइराखेर पृथ्वीलाई मार्ने।

यदि तपाईं तेस्रो विकल्प खोज्नु हुन्छ भने यही सिस्टमले धेरैवटा विकल्पहरू निकालिदिएको छ। र ती विकल्पले दसको गतिमा पर्यावरणको सुरक्षाको बाटो हिँड्छ अनि त्यो विकल्प निकाल्ने सिस्टमले नब्बेको गतिमा पर्यावरणको विनाश गर्छ।

याद राखौं हामी कतै यही व्यवस्थाको प्लास्टिक मात्रै टिपिरहने त होइनौं के?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया