तिमी आउने बाटोभरि…

किताबको कुरा

साँचो लेखकले राम्रा-नराम्रा जुनै पनि कुरालाई समाजबाट टिपेर आफ्नो रचनामा थपक्क राखिदिन्छन्। त्यसका राम्रा-नराम्रा पक्षमाथि आफ्नो विचार राख्दैनन्। त्यस्ता कसरत गर्नलाई त तमाम पाठकहरू छँदैछन् नि! पाठकको काम लेखकले नै गरिदिए भने त पाठकहरू अल्छे बन्छन्। आखिर पाठक भनेको समाजका हरेक तप्काका मानिसहरू न हुन्। समाजका यी तमाम मानिसहरू अल्छे बनिदिए समाज कसरी विकासको मार्गमा अग्रसर होला! उपन्यासकार नन्द हाङ्खिमले यो कुरो राम्ररी बुझ्नुभएको छ।


मिलन बान्तवा


फाटेको हाफ-प्याण्ट लगाएको एउटा सानो ठिटो। उसको नाकबाट अनवरत चुहिरहेको सिँगान मैलो कमेजको बाहुलाले पुछिरहेको छ। गुहे नालीबाट बगेर आएको पानीमा माटोका केही आकृतिहरू बनाउन तन्मय मन्मय छ। उसले बनाएका आकृतिहरू अरूले खुट्टाउन सक्दैनन्। तर उसलाई थाहा छ ती आकृतिहरूमा हात्ती छ, ऊँट छ, जिराफ छ, चराहरू छन्। अरू त अरू ती आकृतिहरूमा उसको संसार छ।

यतिकैमा अचानक कतै टाढ़ोमा माइक बज्न थालेको छ।

माइकले गाउँदैछ-

फूल भए फेरि फुल्थेँ

तिमी आउने बाटोभरि

सुवास छरी वसन्त ल्याउँथेँ

तिमी आउने बाटोभरि

उसलाई थाहा छैन। माइकमा कसले गाउँदैछ, कसले सङ्गीत बजाउँदैछ। अनि उसलाई यो पनि थाहा छैन कि ती गीतका शब्दहरू कुन प्रेमीले कुन प्रेमिकाका निम्ति रचेका हुन्। तर उसलाई माइकबाट प्रसारित भइरहेको गीतले यति तान्यो कि उसले आफ्नो बालक्रीड़ाबाट एकाग्रता हरायो। ऊ त गीतमा यति चुर्लुम्म डुब्यो कि उसको हातमा लागेका हिलो सुकिसकैको पनि उसले चालै पाएन।

निकै पछि, सन् 1981 को कुनै एक दिन उसले बेटेन उच्च विद्यालय, तकभरमा शिक्षक दिवस हेर्ने अवसर पायो। त्यसताक ऊ त्यही विद्यालयमा पाँचैँ श्रेणीको छात्र थियो। अनिता तामाङ भन्ने आठौँ श्रेणीकी दिदीले यही गीत गाउँदा उसलाई हुनसम्मको आनन्द लागेको हो। किन होला आज पनि त्यो गीत बज्दा उसलाई अनिता दिदीको याद आउँछ। कहाँ होला नि ती अनिता दिदी?

पछि, निकै पछि, उसले थाहा पायो कि यो गीत त सुप्रसिद्ध गायक कुमार सुब्बाले गाउनुभएको रहेछ।

उसले यो पनि थाहा पायो कि यस लोकप्रिय गीतलाई वरिष्ठ सङ्गीतकार कर्म योञ्जनले सङ्गीतबद्ध गर्नुभएको रहेछ।

तर धेरै पछिबाट मात्र उसले थाहा पायो कि यस अजम्बरी गीतका शब्दहरू रचना गर्ने प्रेमी त मूर्द्धन्य साहित्यकार नन्द हाङ्खिम पो हुनुहुँदोरहेछ। गीतका शब्दकारहरू किन यसरी ओझेलमा परेका होलान् भन्ने सोचेर उसलाई अचम्म पनि लाग्यो।

उसले कहिल्यै सोचेको थिएन-

यस्ता पारस व्यक्तित्वसित उसको भेट होला।

000

अघिको त्यो सानो ठिटो जन्मनुभन्दा पाँच वर्षअघि नै स्वनामधन्य साहित्यकार नन्द हाङ्खिमले आफ्नो प्रथम कृति लाश उपन्यासका रूपमा दिइसक्नुभएको रहेछ। यसरी नै उहाँका अन्य कृतिहरू प्रीतिका चिट्ठीहरू (पत्रात्मक कथा सङ्ग्रह), उन्मुक्ति (लघु कथा सङ्ग्रह), अर्को अनुहार (उपन्यास), प्रेमालाप (मुक्तक सँगालो), मृत्यु दिवस (एकाङ्की सङ्ग्रह), नेपाली आधुनिक कविता सङ्कलन (स्व॰ कुमार घिसिङसित सम्पादन), चियाबारीमा (खण्डकाव्य), युद्धहरू (नाटक), अभिषेक (नाटक), लीला-अ-लीला (एकाङ्की सङ्ग्रह), सत्ता ग्रहण (कथा सङ्ग्रह), हिमपुरीको देशमा (खण्डकाव्य), नन्दन-निबन्धन (निबन्ध), मैनबत्तीको आत्मकथा (खण्डकाव्य), गीतानन्द (गीत सङ्ग्रह) आदि। यसबाहेक उहाँले कहीँ अँध्यारो कहीँ उज्यालो चलचित्रका पटकथा, संवाद अनि गीत रचना गर्नुभएको छ भने सपना (लघु चलचित्र) अनि 1955 साल (टेलिफिल्म) पनि लेखिसक्नुभएको छ।

उहाँले साहित्यका विविध विधाहरूमा कलम चलाउनुभएको छ भने कथा विधामा सत्ताग्रहणका निम्ति राष्ट्रिय स्तरको अकादेमी पुरस्कारले पनि उहाँलाई सुशोभित गरिएको छ। यद्यपि, नाटक विधा नै उहाँको लोकप्रिय विधा हो भन्ने मेरो ठनाइ छ। प्रायोगिक नेपाली नाटकको पृष्ठभूमिदेखि समकालीन नाट्यलेखनमा समेत उहाँको नाट्य लेखन विस्तारित भएको पाइन्छ।

प्रगतिवादी देखिएका उहाँका नाटकहरू जनप्रिय भए तापनि ‘अभिषेक’ नाटकले नेपाली साहित्यमा विशिष्ट महत्त्व राखेको पाइन्छ। आफ्नै जातीय मिथक (किराती मिथक)-मा आधारित अहिलेसम्मको नेपाली नाट्य परम्परामा यही नै पहिलो सफल नाटक हो भनी विद्वान्हरूले मानेका छन्। यस नाटकको अङ्ग्रेजी रूपान्तर वरिष्ठ साहित्यकार कर्णेल एम॰एस॰ सुब्बाले गर्नुभएको छ।

आज त्यो सानो ठिटोको अघि उनै महान् साहित्यकारद्वारा लिखित उपन्यास विडम्बना छ। अनि उसले आफ्नो धड़्किरहेको मुटु र कामिरहेको हातले विडम्बनामाथि केही लेखिरहेछ।

विडम्बना उपन्यास आद्योपान्त पढ़ियो। उपन्यास एकै बसाइमा पढ़्न सकिने भएको रहेछ। कुनै पनि पुस्तक यसरी एकै बसाइमा पढ़्न सक्नु अवश्यै सामान्य कुरो होइन।  विशेष गरी दार्जीलिङकै सेरोफेरोलाई समातेर लेखिएको यस उपन्यासले स्थानीय पाठकहरूका मनलाई आकर्षित गर्छ भन्ने लागेको छ।

उपन्यासकारसित भएको एक अनौपचारिक भेटमा आफूलाई वामपन्थी विचारधारा लिएर लेख्ने लेखक हुँ भनी स्वीकार गर्नुभएको मलाई स्पष्ट थाहा छ। उपन्यासमा उहाँको यस विचारधाराले प्रश्रय पाएको प्रस्ट देखिन्छ। दार्जीलिङका निम्नवर्गीय परिवारलाई उपन्यासकारले राम्रैसित बुझ्नुभएको छ भन्ने कुरो उपन्यासले बताउँछ। समाजलाई यसरी सूक्ष्मातिसूक्ष्म तवरले बुझेर आफ्नो लेखनमा उतार्नु लरतरो काम होइन।

यसका निम्ति निरन्तर अभ्यास चाहिन्छ। इमान-जमान बोकेर हिँड़्ने लेखकले मात्र यस्तो दुरूह कार्यभार उतार्न सक्षम बन्छ। उहाँको लेखनमा इमानपूर्वक जिउनसक्ने लेखकको लेखकीय विशेषता पाइन्छ। चाहे समाजले जेसुकै तथा जस्तोसुकै दण्ड देओस् तर उहाँ समाजका विकृतिहरूलाई दह्रो मनोबल र विश्वासका साथ लेख्न हिचकिचाउनुहुन्न। मलाई सबभन्दा मनपरेको कुरो पनि उहाँको त्यही इमानदार लेखनधर्मिता नै हो।

आज संसार नारीवादी लेखनले पिटेको छ। यता दार्जीलिङे नारी साहित्यकारहरूले पनि नारीवादी लेखनलाई आत्मसात् गर्दै नयाँ-नौला ढङ्गमा सिर्जनाहरू गरिरहेका छन्। यद्यपि, विश्वका कतिपय घोर पुरुषतन्त्री समाजको त कुरै छोड़ौँ तर भारतकै अन्य जातिहरूको तुलनामा वर्तमानमा हाम्रो दार्जीलिङे नेपाली समाजमा पुरुषसत्तात्मकता नरहेको कुरो पनि धेरै लेखकहरूले गरिरहेका छन्।

आमाबाबुले छोरा अनि छोरीमा कुनै प्रकारका भेदभाव नराखी एउटा शिशुलाई चाहिने आवश्यकताहरू पूर्ति गरिरहेका छन् भन्ने कुराहरू पनि अघि आइरहेका छन्। वास्तविकता तर अर्कै पनि हुनसक्छ। यसैले त उपन्यासकारले आफ्नो पात्रहरूमाझ यसरी वार्तालाप गराउनुभएको छ-

जयन्तीले जुत्ताको लेश खोल्न आँटदा कमलले भन्यो, ‘‘पर्दैन, मै खोल्छु।’’

‘‘बूढ़ाको लेश खोल्दा के हुन्छ?’’

अर्को एक ठाउँ फेरि यस्तो संवाद भेटिन्छ-

जयन्तीले के भन्न आँटेकी थिई सङ्गीताले भनी, ‘‘तँ चुप लाग्। हुन त तँ तेरो बूढ़ा हुँदा पनि तेरो बोलीको के माने थियो र? त्यो पनि एकप्रकारको कूरो नै थियो हाम्रो स्वतन्त्रता मरेको नाममा।’’

हाम्रो समाजमा अझ पनि पुरुषहरूकै हैकम चल्छ भनेर उहाँले लामेताँत व्याख्या-विश्लेषण गरेर पाठकलाई वाक्कदिक्क पार्नुभएको छैन। बरू यी माथि उद्धृत गरिएका उद्धरणहरूजस्तै अनेकौँ संवादहरू उपन्यासमा राखिदिनुभएर गम्भीर पाठकका मन-मस्तिष्कलाई हल्लाइदिने काम गर्नुभएको छ।

साँचो लेखकले राम्रा-नराम्रा जुनै पनि कुरालाई समाजबाट टिपेर आफ्नो रचनामा थपक्क राखिदिन्छन्। त्यसका राम्रा-नराम्रा पक्षमाथि आफ्नो विचार राख्दैनन्। त्यस्ता कसरत गर्नलाई त तमाम पाठकहरू छँदैछन् नि! पाठकको काम लेखकले नै गरिदिए भने त पाठकहरू अल्छे बन्छन्। आखिर पाठक भनेको समाजका हरेक तप्काका मानिसहरू न हुन्। समाजका यी तमाम मानिसहरू अल्छे बनिदिए समाज कसरी विकासको मार्गमा अग्रसर होला!

उपन्यासकार नन्द हाङ्खिमले यो कुरो राम्ररी बुझ्नुभएको छ। उहाँले पाठकका निम्ति प्रशस्तै अवकाशका ठाउँहरू छोड़िदिनुभएको छ, जहाँ पाठकले आफ्ना दृष्टि, विचार तथा सोचलाई विस्तारित गर्ने अवसर पाउनेछन्।

उपन्यासकारले हाम्रो समाजमा चलिआएको रूढ़िवादी कर्मकाण्डलाई मान्नुहुन्न। यद्यपि, उहाँले कतै यस्ता कर्मकाण्डबारे नराम्रा टिप्पणी गर्नुभएको छैन। बरू सहजतापूर्वक आफ्ना पात्रहरूमाझ संवाद गराउनुभएको छ। केही दृष्टान्त टिपौँ-

‘‘बुहारी, अब तिमी नुहाइधुवाइ गरेर कूरोमा बस्नुपर्छ होला।’’

‘‘केटीहरू पनि कूरोमा बस्छ र आमा?’’ सङ्गीताले सोधी।

‘‘अब घरमा लोग्ने मान्छे छैन, बूढ़ो मान्छेलाई बस भन्नुभएन।’’ जयन्तीको सासू आमाले भनिन्।

‘‘हुन्छ, हुन्छ म पानी तताएर नुहाइहाल्छु।’’ जयन्तीले भनी।

‘‘अबै कहाँ? चिसो पानीले नुहाउनुपर्छ।’’ आमाले घोर्ले स्वरले निकै तीव्र बोलिन्।

समाजमा व्याप्त अन्धविश्वासलाई उजागर गर्न निम्न प्रसङ्गले पनि धेरै सहयोग गरेको छ-

उनले मुण्टो बटारेर जयन्तीलाई हेर्दा प्रत्येक निःश्वासमा ओठ फटफटाएर सास फेरिरहेको देखेर धीमा स्वरमा बोलिपठाइन्, ‘‘यस्तोले के पैसा जोगाउँला, बूढ़ाचैँ सरकारी नोकरी गर्ने भएर के गर्नु। बूढ़ीले जोगाएन भने, यसरी मुखले फूः फूः गरेको राम्रो होइन।’’

यसरी उहाँले हाम्रो समाजमा व्याप्त रूढ़िवादी मान्यता तथा अन्धविश्वासलाई उपन्यासमा ठाउँठावैँ स्थान दिनुभएको छ। जसले उपन्यासलाई अझ तिक्खर र जीवन्त बनाएको छ।

नेपालीहरूको उखानै छ- खाई सार कि लाई सार मरेपछि लम्पसार। हाम्रो जाति त्यसै पनि रौसे जाति। मोजमज्जा गर्न पाए पुगिजान्छ। भविष्यको चिन्ता लिने मानिसहरू हाम्रो जातिमा विरलै भेटिएलान्। त्यसैले पनि होला हाम्रो जातिको आर्थिक स्थिति कहिल्यै बलियो भएन। आर्थिक स्थितिमा सुधार नआएपछि त्यसले सर्वाङ्गीण क्षेत्रमा नै असर पार्छ।

त्यसैले हामी शिक्षामा पछौटे छौँ। साहित्य, सङ्गीत तथा कलाको क्षेत्रमा पनि हाम्रो उपस्थिति नगण्य छ। बरू ढाँटेर, छलेर भए तापनि आफ्नो सम्पन्नता देखाउने प्रयास गर्छौं। भनिन्छ नि बाहिर रूमाले भित्र गुन्द्रुक उमाले। हाम्रो जातिका निम्ति यो उखान एकदमै सही ठहर्छ। हाम्रो जातिको यस्तै अवस्थालाई बुझाउन उपन्यासकारले यसरी लेख्नुभएको छ-

‘‘कुनचैँ कन्ट्राक्टरले फेरि कता पढ़्न पठाउँछु भनेर बिहा गरेको हरे, भरै त कहाँ त्यो कन्ट्राक्टर पनि हो रहेछ त! बैदार पो हरे।’’ आमाले एकै सासमा भनिपठाइन्।

‘‘बैदार पनि मान्छे नै हो, तर मान्छेजस्तो छैन मान्छे आजकल। हाम्रो केटीहरू पनि त आँखै चिम्म गरेर जता पायो त्यतै हाम फाल्छ।’’

‘‘कहाँ केटा पनि राम्रै पो देखेको मैले त, सूटेट बूटेट, सँधै बाइकमा आउँथ्यो/जान्थ्यो तुङसुङ तेर्सोबाट।’’

हामी दार्जीलिङेहरूको कथ्यभाषा साह्रै अशुद्ध छ। हामी बोल्दाखेरि नाम, सर्वनाम अनि क्रियामा प्रायः लिङ्गभेद प्रयोग गर्दैनौँ। हाम्रो बोलीमा वचन प्रयोग पनि उत्तिकै दोषपूर्ण देखिन्छ। लेखकले समाजलाई ध्यानमा राखेर नै हुनपर्छ यस्ता दोषहरूलाई त्यतिकै छोड़िदिनुभएको छ। केही उदाहरणहरू यस्ता छन्-

१.    ‘‘हो, बुहारी दुई जीउको भएछ।’’

२.    तर अब जयन्ती मेरी स्वास्नी भइसकेको छ।

३.    ‘‘अरे! भाइ त सानै देखिन्छ, नानीहरू त ठूल्ठूलो रहेछ त।’’

हुन त संवादमा यसरी त्रुटिपूर्ण वाक्यहरू लेख्न लेखकहरूलाई छुट छ। किनभने एकजना अशिक्षित मानिसलाई उपन्यासमा शुद्ध भाषा बोल्न लगाइए त्यहाँ कृत्रिमता देखा पर्छ। यस विषयमा उपन्यासकार नन्द हाङ्खिम पनि धेरै सचेत रहनुभएको देखिन्छ। कतिपय पुस्तकहरूमा लेखिएका संवादहरूमा त कुनै पनि शब्दकोशमा नपाइने शब्दहरू प्रयोग गरेका हुन्छन्। धेरै लोकप्रिय पुस्तकहरूमा पनि यस्ता प्रयोगहरू पाउन सक्छौँ। यहाँ केही दृष्टान्त हेरौँ-

आमा! उन्लाई किन तेति धेरै माया अर्नुभको तपैँहर्ले? किन भगमान्लाई झैँ पूजा अर्नुभको? किन ढोउनुभको…? (अमर न्यौपाने, सेतो धरती)

यो चोला लाम्दा त झुन् सायालाई दुरूस्तै कान्छी देख्छु। (राजन मुकारूङ, हेत्छाकुप्पा)

पोहोर धनवीरको छोराको चोरको सोरमा गा’को दवाईपानी। तीन घण्टाजति टङ्राको छ बाइरै। (सन्जय विष्ट, ‘पुल’, अस्ताचलतिर)

संवादहरूमा यस्ता त्रुटिपूर्ण वाक्यहरू प्रयोग गर्नाले जीवन्तता प्रदान गर्नमा ठूलो सहयोग गर्छ। यद्यपि, भाषाका कारिगर मानिने राजनारायण प्रधानले चिन्ता व्यक्त गरेजस्तो कालान्तरमा हाम्रो भाषा लाटाको धोतीजस्तो हुन बेर छैन भन्ने चिन्ता मलाई पनि नलागेको भने होइन।

यसो हुँदाहुँदै पनि उपन्यासकारले प्रांजल तथा सुललित भाषाशैलीको प्रयोगमा पनि उत्तिकै ध्यान पुराउनुभएको छ। हाम्रो भाषामा प्रांजलता ल्याउनुहुने पहिलो लेखक शायद रूपनारायण सिंह नै हुनुहुन्छ कि! उपन्यासकार नन्द हाङ्खिमले उहाँकै हाराहारीमा कतिपय वाक्यहरूलाई सजाउनुभएको छ यसरी-

अब साँझोत्तरको घामको प्रकाशले कञ्चनजङ्घा पनि पहेंलिँदै क्लान्त, काञ्चन, कामिनी कन्याझैँ मनमोहनी भई सूर्यदेवलाई बिदाको वेदनामूलक र रक्तिम दृष्टिले निहारिरहेको जस्तो लाग्दै थियो।

दार्जीलिङमा धेरै परिवारका छोराहरूले फौजी जीवन बिताउँछन्। फौजीहरूको भाषा अनौठो हुन्छ। नेपाली अनि हिन्दी मिश्रण गरी बोलिने उनीहरूको भाषाको छुट्टै विशेषता छ। त्यसरी नै यहाँ भारतका अन्य प्रान्तबाट विभिन्न पेशा अपनाई आउने हिन्दी अनि बंगाली भाषीहरूको बोली सुन्दा हामीलाई उत्तिकै रमाइलो लाग्छ।

तिब्बतबाट शरणार्थी भई आउने तिब्बतीहरूले बोल्ने नेपाली बोलीमा पनि दार्जीलिङको सुगन्ध महसूस गर्न सकिन्छ। यस्ता सबै प्रकारका बोलीहरूलाई उपन्यासमा राखिएका छन् अनि यी बोलीहरूले उपन्यास खुलेको छ। नेपाली उपन्यास भए तापनि पात्रहरूलाई सही ढङ्गले प्रतिनिधित्व गराउन प्रशस्त मात्रामा हिन्दी अनि अङ्ग्रेजी भाषाको प्रयोग पनि उपन्यासमा पाइन्छ। यसलाई पनि सकारात्मक रूपमै लिन सकिएला।

विशेष गरी एच॰आई॰भी॰ जस्ता घातक रोगलाई उपन्यासको केन्द्रविन्दु बनाई लेखिएको यस उपन्यासमा स्थानीय समस्याहरूलाई पनि बड़ो सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। नेपाली साहित्यमा विरलै उठान गरिएको विषय ट्रान्सजेण्डरलाई पनि उपन्यासकारले छुनुभएको छ। हुन त कथाकार सतीश रसाइलीले आफ्नो उत्कृष्ट कथाहरू ढुङ्गा, ऐनाको मेघ, बन्द लिफा आदिमा सत्तरकै दशकमा खूबै रोचक ढङ्गले यस विषयलाई लेख्नुभएको हो। केही वर्षअघि नेपालबाट सलिजो नामक सिङ्गो उपन्यास नै यस विषयमा लेखिसकिएको छ। विश्व साहित्यमा त यस विषयलाई लिएर रचना गर्नेहरूको होड़ नै चलेको छ।

बाटोमा सागसब्जी बेच्ने, अफिसमा पिउन काम गर्ने, फौजी जीवन बिताउने, गाईपालन गरेर जीवन धान्ने आदिजस्ता निम्नवर्गीय पात्रहरूलाई लिएर लेखिएको प्रस्तुत उपन्यास विडम्बना सुधी पाठकहरूको हात-हातमा आइपुगेको छ। यहाँहरूले उपन्यास आद्योपान्त पठन गर्नुहुनेछ भनी अपेक्षा राख्दै उपन्यासकारलाई शुभकामना भन्छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया