तृणमूल अझपनि पहाडमा राम्रो अवस्थामा रहेको दावी: यसपालिको गठबन्धनमा हार भएको छ-शान्ता छेत्री

मिरिक, 6 जुन: लोकसभा चुनाउ अनि दार्जीलिङ विधानसभा उपचुनाउमा भारी मतले हारको सामना गर्न परेको भएपनि तृणमूल कङ्ग्रेसले भने पहाडमा आफूहरूको सङ्गठन अझ राम्रो हुँदै गइरहेको दावी गरेको छ। चुनाउअवधि कालेबुङका प्रभारी समेत रहेकी राज्यसभा सांसद शान्ता छेत्रीले पहाडमा तृणमूल कङ्ग्रेस पहिलाको भन्दा राम्रो अवस्थामा रहेको दावी गरेकी छन्।

‘म यो चुनाउको हारलाई हार भन्दिन किनभने सांसदको चुनाउ अलग प्रकारले हुन्छ, विधानसभा, नगरपालिका आदिको चुनाउ अलग-अलग प्रकारले हुन्छ’-मिरिकमा दलको समीक्षा सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल सांसद शान्ता छेत्रीले भनिन्, ‘2012 मा पहाडमा तृणमूल कङ्ग्रेसको जन्म भएको हो। हामीले लोकसभा चुनाउ पनि लडेका हौँ, विधानसभा अनि नगरपालिका चुनाउ पनि लडेका हौँ। त्यहाँदेखि अहिलेसम्म हामीले विश्लेशण गऱ्यौँ। यो सबैलाई विश्लेषण हरेर हेर्दा पहाडमा हाम्रो अवस्था पहिलेको भन्दा धेरै राम्रो छ।’

चुनाउमा भारी व्यवधानले हारको सामना गर्न परेपछि आज मिरिकमा हिल तृणणूल कङ्ग्रेस अध्यक्ष एलबी राईको अध्यक्षतामा समीक्षा सभा सम्पन्न भएको थियो। सभामा साङ्गठनिक विषयमा छलफल गर्दै पराजयका कारणहरूबारे विमर्ष भएको थियो। यसै समीक्षा सभापछि शान्ता छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल पहिलोको भन्दा राम्रै अवस्थामा रहेको दावी गरेपनि गोजमुमोसितको गठबन्धनमा हार भएको अनि जनताको निर्णयलाई सम्मान गर्नुपर्ने बताइन्।

यसरी नै तृणमूलले सङ्गठनलाई अझ सशक्त बनाउन भङ्ग भएको जिल्ला कमिटीलाई पुर्नगठन गर्ने अनि खण्ड र बुथ स्तरीय कमिटीहरू बनाइनपर्ने कुरामा पनि चर्चा भयो।

अर्कोतिर उनले आफू राज्यसभा सासंद भएपछि उठान गरिएका मुद्दाहरू अनि भविष्यमा उठाइने मुद्दाहरूबारे पनि अवगत गराइन्। छेत्री अनुसार अहिलेसम्म उनले राज्यभरिका विषयहरूमा 65 वटाभन्दा धेर प्रश्न राज्यसभामा उठान गरिसकेकी छन्।

जसमा 11 वटा जनजातिको मुद्दा, गौ हत्याको नाममा भइरहेका यातना आदि मुद्दा उठान गरिएको साथै जलपाइगुढीमा सर्किट बेञ्च हुनुपर्ने माग पूरा भइसकेको बताइन्। आगामी दिनमा पुन: जनजातिको मुद्दा उठाइने, खरसाङको रेञ्जर कलेजको दुरावस्थाको कुरा गर्ने, हिमालय रेलवेको पूर्ण सञ्चालनको मुद्दा उठाइने साथै राष्ट्रिय राजमार्ग-10 को दुरावस्थाको मुद्दा पनि विधानसभाको उठान गर्ने मन रहेको छेत्रीले बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया