पैसाको आडमा सीएम गोले हटाउन चामलिङ दिल्लीमा छ, सक्दैनः जेकब खालिङ

गान्तोक , 06 जून l सिक्किममा एकातिर विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले मुख्यमन्त्री पीएस गोलेलाई मुख्यमन्त्रीको पदबाट हटाउने दिशामा पहल शुरू गरिसकेको छ भने अर्कातिर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई कथित भ्रष्टाचारको सजाय दिलाएर छोड्ने प्रतिबद्धता व्यक्त गरेको छ। एसकेएम प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले विहीबार राजधानीस्थित पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा यस आसयको जानकारी दिएका हुन्।

प्रवक्ता खालिङले मुख्यमन्त्री पीएस गोलेलाई मुख्यमन्त्री पदबाट हटाउन भनी पूर्व मुख्यमन्त्री पवन चामलिङ दिल्ली गएको कुरा प्रकाशमा आएको बताए। एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्रीले ठूला—ठूला फार्मा कम्पनीहरू र जल विद्युत परियोजनाहरूको पैसाको आड़मा मुख्यमन्त्री गोलेलाई हटाउन खोजिरहेको आरोप लगाउॅंदै यसो गर्नु सिक्किम विरोधी काम रहेको उनले ठहर गरे। उनले पीएस गोलेलाई मुख्यमन्त्री पदबाट हटाएर देखाउने चुनौती दिॅंदै एसकेएमले पनि भ्रष्टाचारको फाइल खोजेर पवन चामलिङलाई जेल पठाएर छोड्ने बताए। उनले सिक्किममा यो युद्ध अब शुरू भइसकेको बताउॅंदै पूर्व मुख्यमन्त्री चामलिङलाई शुभकामना पनि दिए। उनले पीएस गोले मुख्यमन्त्री पदबाट हट्नेछ अथवा को जेल जानेछ यसको साक्षी अब सिक्किमे जनता बन्नेछ भने।

उनले राज्यपालले सबै कानूनी पक्षहरूलाई ध्यानमा राखेर पीएस गोलेलाई मुख्यमन्त्री बन्ने अनुमति प्रदान गरेको बताए। पूर्व मुख्यमन्त्रीले प्रजातान्त्रिक व्यवस्थाको विरोध गरेर संविधानकै खिल्ली पनि उड़ाएको उनले आरोप लगाए।

अर्कातिर, जबसम्म पीएस गोले मुख्यमन्त्री पदमा रहनेछन् तबसम्म एसडीएफ विधायक दलले सिक्किम विधानसभा वहिष्कार गर्ने निर्णय लिएर एसडीएफले 15 समष्टिका जनताको अपमान गरेको प्रवक्ता खालिङले आरोप लगाए। उनले जुन समष्टिहरूमा एसडीएफ पार्टी विजयी बनेका छन् ती समष्टिका जनताले आफ्ना कुराहरू विधानसभामा राख्नको निम्ति जनमत दिएको बताए। उनले पीएस गोले मुख्यमन्त्री बने विधानसभा वहिष्कार गर्नु भनेर जनमत नदिएको बताउॅंदै उक्त15 समष्टिका जनताले अब विद्रोह गर्नुपर्छ भने। एसडीएफ विधायकहरू अनुपस्थित रहे तापनि मुख्यमन्त्री गोले स्वयंले ती क्षेत्रको जनताका समस्याहरूलाई विधानसभामा उठाउने उनले दाबी गरे।

यसैगरि, हालैमा सम्पन्न निर्वाचित विधायकहरूको शपथ ग्रहण समारोहमा घटेको घटनाको उल्लेख गर्दै पूर्व मुख्यमन्त्रीले त्यस दिन अचाहिॅंदो कुरा राखेको प्रवक्ता खालिङले आरोप लगाए। उनले त्यस दिनको कार्यक्रम केवल शपथ ग्रहण अनि विधानसभा अध्यक्ष र उपाध्यक्षको चयन गर्नु मात्र थियो भन्दै विधायक चामलिङले अमर्यादित, कानून विरोधी र परम्परा विपरित काम गरेको पनि उनले आरोप लगाए। विधायक चामलिङले आफु बोल्नुअघि विधानसभा अध्यक्षको अनुमति समेत नलिएको उनले दाबी गरे। यसरी नै एसडीएफ विधायकहरूले प्रो—टेम स्पिकरलाई खादासम्म नलगाइदिएर उनको अपमान गरेको तथा शिष्टाचार देखाउन चुकेको उनले बताए।

यसैगरि, एसकेएम सामाजिक सञ्जाल महासचिव नवराज गुरूङले एक परिवार एक नोकरीबारे बोल्दै असलमा यो योजना एसकेएम पार्टीको रहेको दाबी गर्दै एसकेएम सरकारले अब आफुले सोचे जसरी यो योजना लागू गर्ने बताए। एसकेएमले कामबाट हटाउॅंछ भन्ने विपक्षीले गलत सन्देश दिइरहेको बताउॅंदै एसकेएम सरकारले कसैलाई पनि कामबाट हटाउने छैन, तर समीक्षा गरेर अझ योग्य लाभार्थीहरूलाई यस योजना अन्तर्गत काममा राख्ने उनले जानकारी दिए। पत्रकार सम्मेलनमा पूर्व सांसद एनडी राई र एसकेएम विद्यार्थी शाखाकी नेतृ जामयाङ भोटियाले पनि मनतव्य राखेकी थिइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया