हार्नुको कारण विनय तामाङ : जिटिएमा अब तृणमूल नेतृत्व राख्नुपर्ने माग : ममता व्यानर्जीले पहाडसित मन दुखाएकी छन्-राजेन मुखिया

‘पहाडसित मुख्यमन्त्री रिसाएकी छन्। पहाडलाई धेरै पैसा दिए पनि परिणाम कहिले राम्रो नभएकोमा दुःख मानेकी छन्। जिटिएमा तृणमूल काङ्ग्रेसका नेतृत्वलाई राखिनुपर्ने माग गरेका छौं। समस्याको समाधान गर्ने जिम्मेवारी राज्यकी मुख्यमन्त्री वयानर्जीले तृणमूल काङ्ग्रेसका दार्जीलिङ हिल प्रभारी अरूप विश्‍वासलाई दिएकी छन्।’


दार्जीलिङ, 8 जून।


तृणमूल नेता शारदा राई सुब्बाले भनेको कुरा पूरा भयो। उनले भनेकी थिइन्, दार्जीलिङको स्थिति खतम बनाउने विनय तामाङहर हुन्, उनीहरूलाई जनताले भोट दिँदैनन्। विनय तामाङहरू दुवै चुनाउमा नराम्रो गरी हारे। हार्ने वित्तिकै त्यसको दोष तृणमूल काङ्ग्रेसले विनय तामाङपन्थी गोजमुमोलाई दियो।

दोषपछि फेरि पहाडको तृणमूल काङ्ग्रेसले जीटीएमा तृणमूल काङ्ग्रेसकै नेतृत्वलाई राख्नुपर्ने माग उठाएको छ। हिजो राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित भेटघाट गरेको समय नै राजेन मुखिया अनि उनको टोलीले जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-मा हिल तृणमूल काङ्ग्रेसकै नेतृत्वलाई राख्नुपर्ने माग उठाएको मुखियाले बताएका छन्।

‘लोकसभा र दार्जीलिङ विधानसभाको उपचुनाउमा दार्जीलिङ हिल तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरूले धेरै सङ्घर्ष गरे, तर चुनाउको परिणाम नकारात्मक रह्यो। यसैले मुख्यमन्त्री वा तृणमूल काङ्ग्रेस नेत्री ममता व्यानर्जीले हिल तृणमूल काङ्ग्रेसका क्याडर अनि नेतृत्वहरूलाई अधिक महत्व दिनुपर्ने हिजोको भेटमा अपील गरेका छौं,’ मुखियाले भने, ‘ताकि भावी दिनमा दार्जीलिङ पहाडमा हुने कुनै पनि चुनाउमा असल परिणाम ल्याउन सकौं।’

उनले मुख्यमन्त्रीसित लगभग 15 मिनटसम्म भएको वार्तामा जीटीएमा हिल तृणमूल काङ्ग्रेसका नेतृत्वहरूलाई राख्ने पनि कुरा गरिएको बताए। ताकि दार्जीलिङ पहाडमा तृणमूल काङ्ग्रेसको सङ्गठनलाई दह्रिलो बनाउन सकियोस्। कुनै पनि काम गर्नको लागि जीटीए सञ्चालन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाअघि नै हात फैलाउनु परिरहेकोबारे पनि मुख्यमन्त्रीलाई अवगत गराएको उनले बताए।

‘समस्याको समाधान गर्ने जिम्मेवारी राज्यकी मुख्यमन्त्री वयानर्जीले तृणमूल काङ्ग्रेसका दार्जीलिङ हिल प्रभारी अरूप विश्‍वासलाई दिने बताएको छ,’ मुखियाले भने।

‘पहाडसित मुख्यमन्त्री रिसाएकी छन्। पहाडलाई धेरै पैसा दिए पनि परिणाम कहिले राम्रो नभएकोमा दुःख मानेकी छन्,’ मुखियाले भने। यसै भेटवार्ताको समय राजेन मुखियाले दार्जीलिङ लोकसभा चुनाउमा तृणमूल काङ्ग्रेस पार्टीको हार भएको कारणबारे एक लिखित रिपोर्ट पेश गरेको पनि बताए।

मुखियाको नेतृत्वमा 6-7 जनाको एक प्रतिनिधि टोलीले मुख्यमन्त्रीसित कलकत्तामा भेट गरेको थियो। जसको एउटा मूल विषय थियो-गत लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेस उम्मेद्वारको हार।

मुखियाले अघिबाटै यो हारको दोष विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको टाउकोमा हालिदिएका छन्। ज्ञात रहोस्, गत केही दिनअघि मात्रै लोकसभा चुनाउमा भएको हार विषय लिएर दार्जीलिङ हिल तृणमूल काङ्ग्रेसले एक समीक्षा सभाको आयोजना गरेको थियो र हारको दोष सोझै विनय तामाङपन्थी गोजमुमोमाथि थोपेका थिए।

यति मात्रै होइन, राजेन मुखियाले आगामी दिनमा हुने कुनै पनि चुनाउमा विनय तामाङपन्थी गोजमुमोसित गठबन्धन नगर्ने पनि सङ्केत दिएका थिए। उनको भनाई थियो, यसपालीको चुनाउमा तृणमूल काङ्ग्रेस र विनय तामाङपन्थी गोजमुमोमाझ गठबन्धन हुँदा तृणमूल काङ्ग्रेसलाई धेरै नोक्सान भएको छ। किनभने, 2014-को लोकसभा चुनाउमा दार्जीलिङ पहाडमा विमल गुरूङको दबदबा रहँदा पनि त्यस चुनाउमा तृणमूल काङ्ग्रेसबाट खडा भएका उम्मेद्वार भाइचुङ भोटियाले दार्जीलिङ पहाडबाट मात्रै 91 हजारभन्दा बेसी भोट पाएका थिए।

यसरी नै 2016-को विधानसभा चुनाउमा पनि दार्जीलिङ विधानसभा आसनबाट तृणमूल काङ्ग्रेसकै टिकटमा उम्मेद्वार बनेकी शारदा राई सुब्बाले पनि 45 हजारभन्दा अधिक मत प्राप्त गरेकी थिइन्। तर यसपालीको विधानसभा उपचुनाउमा तृणमूल काङ्ग्रेस र विनय तामाङपन्थी गोजमुमोका साझा उम्मेद्वार विनय तामाङले केवल 41 हजार भोट पाउनुबाट के बुझ्नु? दुइवटा पार्टीका साझा उम्मेद्वारले कसरी यति कम्ति भोट पाए? यो तृणमूल काङ्ग्रेसकै लागि पनि राम्रो संकेत होइन।

यसबाट दार्जीलिङका जनताले तृणमूल काङ्ग्रेस र गोजमुमोको साझा उम्मेद्वारलाई नरूचाएको स्पष्ट भएको छ। यसैले यसपाली विनय तामाङपन्थी गोजमुमो र तृणमूल काङ्ग्रेसको गठबन्धन पूर्णरूपले विफल बनेको छ। यसबारे राज्यकी मुख्यमन्त्री वा तृणमूल काङ्ग्रेस नेत्री ममता व्यानर्जीसित पनि कुरा गर्ने उनले योजना बनाएका थिए। जुन योजनाको आधारमा नै उनले हिजो मुख्यमन्त्रीसित भेट गरेका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया