क्षेत्रीय दल असुरक्षित कि असक्षम?

सम्पादकीय

विमल गुरुङले बारम्बार भनिरहेका छन्, कुनै पनि वार्तामा अब सबै दलको नेतृत्व हुनुपर्छ। बारम्बार भनिरहेका छन्, सबै दलहरूबीच एकता बनिरहनुपर्छ। विमल गुरुङले जे भनिरहेका छन्, त्यो क्रामाकपाको आरबी राईले किन भनिरहेका छैनन्? त्यो गोरामुमोको मन घिसिङले किन भनिरहेका छैनन्? त्यो जापको हर्कबहादुरले किन भनिरहेका छैनन्? त्यो गोर्खालिगको प्रताप खातीले किन भनिरहेका छैनन्? किन भनिरहेका छैनन् क्षेत्रीय दलहरूले? किन पहाडका क्षेत्रीय दलहरू गणतन्त्र फिर्ती र जनसपनालाई सम्बोधन गर्न एकिकृत बनिरहेका छैनन्? किन उनीहरू नगरपालिकातिर फर्किरहेका छन्? किन विमल खेमाका समर्थकहरूलाई पक्राउ गर्दा सडक निस्किरहेका छैनन्? किन? सबै मिलेर किन लिगल सेलहरू तयार पारिरहेका छैनन्। किन पहाडमा भित्रभित्र भइरहेको हिंसाको विरुद्धमा सङ्गठित बनिरहेका छैनन्। किन पुलिसी दवाबको विरुद्ध पुलिस अधिकारीहरूलाई प्रश्न उठाइरहेका छैनन्? किन जिटिए कार्यालय घेराउ गरिरहेका छैनन्? के गणतन्त्रको निम्ति लड्न जनता सडकमा उत्रनु अगणतान्त्रिक काम हो? जनता सडक उत्रँदा पहाडको शान्तिमा खलल पुऱ्याउँछ?


दार्जीलिङका 17 पार्षद भाजपामा सामेल हुँदा धेरैले प्रश्न उठाए। उनीहरूको प्रश्न थियो, ‘के अब क्षेत्रीय दलहरूको औचित्य पहाडमा नरहने हो त?’ विमल गुरुङ खेमा मोर्चाका प्रवक्ता बीपी बजगाईँ पक्रा परेको धेरै दिन बितिसकेको छ। बजगाईँको पक्राउदेखि यता निरन्तर मोर्चा खेमा नेताहरूलाई पुलिसले तारो बनाइरहेको छ। धेरैलाई पक्राउसमेत गरिसकेको छ। पक्राउ गर्ने क्रम अझसम्म जारी छ। आजै पनि 17 पार्षदहरूको घरघर पुगेर पुलिसले खानतलासी गऱ्यो। तर कसैले ध्यान दिएका छैनन्, किन विमल खेमा मोर्चाका नेताहरूलाई मात्र पक्राउ?

स्पष्ट छ, जिटिए र बङ्गाल सरकार विमल गुरुङको पछिल्तिर दिलो ज्यानले लागिपरेको छ। जिटिएका प्रमुख अनित थापा भन्छन्, ‘म पहाडमा अशान्तिको पक्षमा छैन।’ तर पहाडमा विमल खेमा मोर्चाका नेताहरूमा पुलिसले जुन आतङ्क मच्याइरहेको छ, जुन पक्राउ र खानतलासी जारी राखेको छ, के यसप्रकारको घटनाले पहाड शान्त बनिरहेको छ त?

शुरुमा नै अनित थापा रित्तै टाउको बोकेर हिँडिरहेका छन्, उनका युवा समर्थकहरूले के सिक्ला त? यस्तै दिमागले काम गर्दै जाँदा भोलि उनका युवा समर्थकहरू फ्रस्टेसनमा आयो भने? फ्रस्टेसनमा आएर बन्दुक हात हतियार बोकेर अनित थापालाई खोज्दै हिँड्यो भने?

17 पार्षदहरू भाजपामा जाँदा प्रश्न गर्नेहरू बजगाईँदेखि यता धेरै मोर्चा नेताहरूको पक्राउबारे मौन छन्। पक्कै हो, भाजपामा नगरपालिकाका पार्षदहरूसमेत लाग्ने हो भने क्षेत्रीय दलहरूको अस्तित्वमा सङ्कट नआउँला त? पक्कै आउँला।

तर 17 पार्षदहरू भाजपामा नलाग्नको लागि क्षेत्रीय दलहरूले उनीहरूको मर्मलाई केन्द्रमा राखेर उनीहरू अनुकूल परिस्थिति बनाइराख्नमा कुनै भूमिका निर्वाह गरिरहेका छन् त?

2017 मा आन्दोलन गर्नेहरू कति भूमिगत छन्। कतिलाई मुद्दा लागेको छ, त्यो बेग्लै कुरा होला। उनीहरूले पाइरहेको यन्त्रणाबारे यसै पनि क्षेत्रीय कुनै दललाई सुर्ता छैन किन भने उनीहरू विमल गुरुङको दलका समर्थकहरू हुन्। पहाडका क्षेत्रीय दलहरू किन भनिरहेका छन्, ‘भाड मे जाए विमल समर्थक..’

के यो अगणतान्त्रिक परिस्थितिको शिकार भोली उनीहरू हुने छैनन र?

अहिले भटाभट जेल परिरहेका विमल समर्थकहरूको मुक्तिको निम्ति कुनै पनि क्षेत्रीय दलको लिगलसेलले अहिलेसम्म गरेको प्रभावकारी काम के हो त?  किन क्षेत्रीय दलहरू गणतन्त्र बहालीको निम्ति एकै मञ्चमा आएर आवाज उठाइरहेका छैनन्। यो काम राजु विष्ट र निरज जिम्बाले मात्र गर्ने हो त?

हो, बजगाईँको रिहाइको निम्ति राजु विष्ट र निरज जिम्बाले कुनै न कुनै कदम चाल्नैपर्छ। तर न्यायपालिका र कानूनको मर्यादाभित्र बसेर। 14 जुनपछि पनि उनीहरूले पक्राउ र खानतलासीबारे कुनै दह्रिलो पहल नचालेमा उनीहरूलाई जनताले विश्वास गर्न छोड्नेछन्। विश्वास गुमाउनु सबैभन्दा ठूलो हानी हो भन्ने कुरा राजु र निरज जान्दछन्।

ठिकै छ, राजु विष्ट र निरज जिम्बाले केही गरेनन् रे तर पहाडका क्षेत्रीय दलहरूले चाँही गरेको खै त?

चुनाउमा उम्मेदवार बन्ने लोभले क्रामाकपाका इमान्दार नेता आरबी राईले गणतन्त्र फिर्तीको लागी बनाएको साझा मञ्च चुनाउ सक्दानसक्दै किन बिलायो? राईको कुटनीति के सांसद बन्नसम्म सिमित थियो?

वास्तवमा आरबी राईजस्ता दिग्गज र इमान्दार नेतामा अलिकति पनि बौद्धिकता र अलिकति पनि इमान्दारिता हुनु हो भने चुनाउपछि गणतन्त्र फिर्ती अभियानको लागि दलहरूलाई सङ्गठित गर्ने थिए। यसै पनि लाजमर्दो हारको कारण दलहरू शोकमा छन्,( राई आफै पो शोकमा छन् कि?) उनीहरूले सक्रिय बन्ने मुद्दा पाउँथे। तर चुनाउ सकिए लगत्तै पहाडमा इमान्दार नेताहरू मौन छन्।

सबैलाई थाहा छ, पुलिसले जसलाई तारो बनाइरहेको छ, उनीहरू केवल विमल गुरुङका समर्थक हुन्। किन भने चुनाउपछि पनि सरकार र जिटिए चलाइरहेकाहरूले थाहा पाए, विमल गुरुङको पकड बाहिर नदेखिए पनि भित्रभित्र बलियो छ। चुनाउपछि उत्साहित विमल समर्थक नेताहरूलाई लागेको थियो, दुवै चुनाउ जितेपछि पहाडमा उनीहरूकोलागि राजनीति गर्ने गणतान्त्रिक माहौल बन्यो। तर वास्तवमा त्यो उनीहरूको निम्ति भ्रम मात्र थियो।

बजगाईँको पक्राउ लगत्तै गोरामुमोका विभिन्न सङ्गठनका तल्लोदर्जाका नेताहरूले विमल खेमामाथि जुन आक्रमण शुरु गरे अनि बजगाईँको पक्राउमा पहाडमा सबै दलले जुन मौनता साँधेर रमिता हेरे, पुलिस उनीहरूको नारी छाम्न सक्षम बन्यो। फलस्वरुप बजगाईँको पक्राउपछिको मौनतालाई पुलिसले यति छिटो प्रयोग गऱ्यो कि धडपकडलाई अचानक तीब्रता दिइयो।

सबै क्षेत्रीय दलहरू पक्राउको खेललाई विमल खेमा दलको समस्या मानेर मौन बसे। कतै न कतै विमल गुरुङको उपस्थिति पहाडका दलहरूलाई रुचेको छैन। तर बाहिर व्यक्त पनि गर्न सकेको छैन। तर विमल दलको समस्या भनेर जुन मौनता उनीहरूले साँधे त्यसको फाइदा बङ्गाल प्रशासनलाई भयो। बङ्गाल प्रशासनले जुन पक्राउ शुरु गरेको छ, त्यसको शिकार सबै दलका समर्थकहरू हुँदैनन् भन्ने के ग्यारेन्टी छ?

वास्तवमा चुनाउले सबै दलको छतिपति  खोलिसकेको छ। हर्कबहादुर छेत्रीले आफ्नो अवस्थान थाहा पाए। क्रामाकपाले जनताको चाहना बुझ्यो। गोरामुमोले आफ्नो सपना पूरा गर्ने स्पेस भेट्यो।  विनयहरुले पुलिसी आतङ्कलाई प्रोत्साहित गऱ्यो।

अचम्म त त्यतिखेर भयो जब पुलिसलाई पछिपछि राखेर बन्दुक र अरू हातहतियार बोकेर 17 पार्षदहरूलाई घरघरमा खोज्न दिउँसै गुण्डाहरू निस्किए उनीहरूको पक्षमा ‘हाम्रो केटाहरू फ्रस्टेसनमा आएर त्यसो गरेको होला’ भन्ने अनित थापाले सार्वजनिक वयान दिए।

बन्दुर बोकेर, हातहतियार बोकेर मुख ढाकेर घरघर पस्नेहरूलाई ‘फ्रस्टेसन’-मा आएर गरेको घटना भन्दै सामान्यकृत गर्ने अनित थापाले जिटिएमार्फत कुन प्रकारको संस्कार स्थापित गरिरहेका छन्? अनित थापाले त उनीहरूलाई पक्राउ गराउनु पर्ने हो। तर किन अपराधीहरूलाई संरक्षण दिइरहेको छ? किन कुनै पनि क्षेत्रीय दलले प्रश्न उठाएन?

के पहाडमा क्षेत्रीय दलहरू यति निष्ठुर छ, जसलाई पहाडको गणतन्त्रका हत्या हुँदा पनि दुख्दैन?

नगरपालिकामा अघिबाटै विमल गुरुङकै वर्चस्व थियो। पार्षदहरू उनीहरू कै हुन्। आन्दोलन सम्झौता गरेर जिटिएमा हात मिलाएपछि उनीहरू विनय खेमा मोर्चासित बाध्यताले बसेका थिए, उनीहरू फेरि विमल खेमामा खुलेर आउँदा किन पहाडका गोरामुमो, क्रामाकपा, जाप, गोर्खालिग तथा क्षेत्रीय दलहरूलाई समस्या भइरहेको हो?

नगरपालिकामा न गोरामुमोको वर्चस्व थियो र अरू कुनै दलको। नगरपालिका, जिटिएमा जो पनि छन् मोर्चाकै छन्। विमल गुरुङ खेमा छोडेर विनय तामाङहरूले आन्दोलनमा सम्झौता गर्दासमेत आवाज नउठाउनेहरूले नरपालिकाका 17 जना पार्षदहरू विमल गुरुङकोमा फर्किँदा आत्तिनुपर्ने त्यस्तो के थियो?

अचम्म छ, पहाडका जनताले जनमत दिइसकेका छन्, जनमुद्दाको लागि काम गर्न। जितेका होस् वा हारेका, जनताले दिएको जनमत सबै दललाई हो। जनता चाहन्छ, जसले पनि जनताको सपना पूरागर्ने काम गर्छ, उनीहरू उसैको साथमा छन्। स्पष्टै छ, यसपालिको भोट न विमल गुरुङ, न त मन घिसिङ, न त भाजपा, न त आरबी राई, न हर्कबहादुर, कसैलाई दिएका होइनन्। भोट विनय तामाङहरूजस्ता खराब नेतृत्वको अस्तित्व मेटाउनको लागि दिइएको हो।

यसै पनि जनताको लागि भाजपाले मेनिफेस्टोमा दुइवटा बलियो बाटो खनिदिएको छ। चुनाउपछि त सबै दलहरू त्यसैको लागि केन्द्रिकृत हुनुपर्ने हो। धेरैवर्षको अनुभव पहाडलाई छ, केवल सांसद पठाउँदैमा भाजपाले केही गर्दैन, यसको लागि निरन्तर दवाब बनाइराख्न अनिवार्य छ।

गोरामुमो होस् कि क्रामाकपा, गोर्खालिग होस् कि जाप, भाजपा होस् कि गोरानिमो, जिएसएसएस होस् कि एनजीसी सबैको काम एकता बनाएर भाजपालाई काम गर्न दवाब दिनु हो। फुट्नु होइन।

यसै पनि विमल गुरुङले बारम्बार भनिरहेका छन्, कुनै पनि वार्तामा अब सबै दलको नेतृत्व हुनुपर्छ। बारम्बार भनिरहेका छन्, सबै दलहरूबीच एकता बनिरहनुपर्छ। विमल गुरुङले जे भनिरहेका छन्, त्यो क्रामाकपाको आरबी राईले किन भनिरहेका छैनन्? त्यो गोरामुमोको मन घिसिङले किन भनिरहेका छैनन्? त्यो जापको हर्कबहादुरले किन भनिरहेका छैनन्? त्यो गोर्खालिगको प्रताप खातीले किन भनिरहेका छैनन्? किन भनिरहेका छैनन् क्षेत्रीय दलहरूले?

के यो उत्सव मनाइरहने बेला हो त?

किन पहाडका क्षेत्रीय दलहरू गणतन्त्र फिर्ती र जनसपनालाई सम्बोधन गर्न एकिकृत बनिरहेका छैनन्? किन उनीहरू नगरपालिकातिर फर्किरहेका छन्? किन विमल खेमाका समर्थकहरूलाई पक्राउ गर्दा सडक निस्किरहेका छैनन्? किन? सबै मिलेर किन लिगल सेलहरू तयार पारिरहेका छैनन्।

किन पहाडमा भित्रभित्र भइरहेको हिंसाको विरुद्धमा सङ्गठित बनिरहेका छैनन्। किन पुलिसी दवाबको विरुद्ध पुलिस अधिकारीहरूलाई प्रश्न उठाइरहेका छैनन्? किन जिटिए कार्यालय घेराउ गरिरहेका छैनन्? के गणतन्त्रको निम्ति लड्न जनता सडकमा उत्रनु अगणतान्त्रिक काम हो? जनता सडक उत्रँदा पहाडको शान्तिमा खलल पुऱ्याउँछ?

जब क्षेत्रीय दलहरू आफै हरेक परिस्थितिमा यसरी आफ्नो असक्षमता प्रकट गर्दै मौन बस्छ, तब के 17 जना पार्षदहरू भाजपामा लाग्नु अपराध हो त?

बौद्धिक, राजनैतिक दल र सचेत युवाहरूले यसबारे बहस नगर्ने त?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया