होशियार! फ्री भीसाले झुक्याउँला

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 23 मई 2017


» अवैध ढङ्गमा विदेश पठाउने एजेन्सीहरु धेरै छन्, ती एजेन्सीहरुको विस्तृत जानकारी लिएर उक्त एजेन्सीबाट कुनै धोका हुँदैन भन्ने पक्कापक्की भएपछि विदेश उड़्ने कार्य गर्नुपर्छ, नत्र म जस्तै आगामी दिनमा पश्‍चताप गर्न सिवाय कुनै विकल्प रहनेछैन «


होशयार! फ्री भिसाले झुक्याउँला। यस्तै फ्री भीसाको चक्करमा परेर दुबई जाने भनेर घरबाट निस्किएकी दार्जीलिङकी एक चेली ओमन पुग्न परेकी थिइन् अनि त्यहाँ दुइ महीनासम्म नर्क सरह जीवन बिताएर बलैले घर फर्किन सफल बनेकी छन्। निशा (काल्पनिक नाम)-ले ओमनमा कठोर समस्याको सामना गरेकी छन् अनि उनी गत महिना मात्रै ओमनको भारतीय दूतावासको सहयोगमा आफ्नो घर आउन सफल बनेकी छन्।

निशा भाग्यमानी थिइन्, यसैले उनी सुरक्षित आफ्नो घर फर्किइन्, तर सबैको भाग्य निशा जस्तो कदापि हुँदैन। यसैले फ्री भीसा र फ्री एयर टिकटको लोभमा पर्नअघि यसबारे विस्तृत जानकारी लिएर अनि स्थानीय थाना वा पुलिसमा खबर गरेर मात्रै विदेश गएको उचित हुने निशाले विदेश जान लागेका अन्यहरुलाई सुझाउ दिँदै सतर्क गराएकी छन्।

उनले आफूलाई गान्तोक निवासी विदेश पठाउने एजेन्ट युवराज छेत्रीले दिल्लीबाटै झुक्याएको बताउँदै भनिन्-युवराज छेत्री नामक एजेन्ट दिल्लीमा घर लिएर बसेका छन्। मेरी एकजना साथीको माध्यमबाट युवराजसित सम्पर्क भएको थियो, म दुबई गएर केही पैसा कमाउन चाहन्थें। यसैबीच, युवराजले दुबई जानको लागि फ्री भीसा र फ्री एयर टिकट छ भन्ने बताएका थिए अनि मैले पनि तत्कालै दुबई जाने तर्खर गरें। यसपछि मलाई दिल्लीमा लगभग 15-16 दिन राखियो, त्यसपछि दुबई जान भनेर मलाई एउटा बन्द लिफाफामा एयर टिकट र भीसा दिइयो।

त्यस समय युवराजले मलाई उक्त बन्द लिफाफा त्यसै स्थानमा नखोल्ने सुझाउ दिए। उक्त लिफाफा मेरो हातमा थमाएपछि युवराज त्यहाँबाट पलायन भए। यसको केही समयपछि नै मलाई युवराजले फोन गरेर भने-तपाईको दुबईको टिकट हाल्न भुलिएछु, ओमनको परेछ, ठीकै छ, तपाई ओमन भएर दुबई जानुहोस्।

यसपछि म असमन्जसमा परेँ अनि दिल्लीबाट घर फर्किने विचार गरेँँ। तर युवराजले घरिघरि फोन गरेर ओमन भएर दुबई जाँदा कुनै समस्या हुनेछैन भन्दै ओमननै जाने सुझाउ दिए, यसपछि निशा ओमनको लागि उड़िन्। तर ओमन पुगेपछि दुबई जाने कुनै अवसरनै थिएन, ओमनको एउटा अफिसबाटै मलाई एकजना मालिक आएर उनको घरमा लगे। जुन घरमा मैले धेरै यातना सहेँ, 40-45 डिग्री सेल्सियसको गर्मीमा लुगामा आइरन गर्न लगाउँथ्यो, तर पङ्खा चलाउन दिँदैन थिए। बिहान 4.30 बजी शुरू भएको काम रातको 11.30 बजीसम्म पनि सकिँदैन थियो। यसपछि मैले एजेन्ट युवराजलाई धेरैपल्ट फोनमा सम्पर्क गर्ने प्रयास गरें, तर उनले फोननै उठाउँदैन थिए, यसपछि ओमनकै एकजना साथीको सहयोगमा भारतीय दूतावाससित सम्पर्क भयो। यसपछि 24 अप्रेलको दिन कसैले गरेर दूतावासका अधिकारीहरुले मलाई त्यो नर्कबाट छुटाएर दूतावासमा ल्याए।

यसैबीच, निशाको अवस्थाबारे मार्गले पनि थाहा पायो र मार्गले पनि उनलाई आफ्नो घर ल्याउने पहल गरेको थियो। यसैले निशाले विदेश जान चाहनेहरुलाई पनि सुझाउ दिँदै भनिन्-अवैध ढङ्गमा विदेश पठाउने एजेन्सीहरु धेरै छन्, ती एजेन्सीहरुको विस्तृत जानकारी लिएर उक्त एजेन्सीबाट कुनै धोका हुँदैन भन्ने पक्कापक्की भएपछि विदेश उड़्ने कार्य गर्नुपर्छ, नत्र म जस्तै आगामी दिनमा पश्‍चताप गर्न सिवाय कुनै विकल्प रहनेछैन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन