जनताले धैर्यधारण गरेर बसिदिनुहोला, म तपाईंहरूसँग छु र सदैव रहनेछुः पवन चामलिङ

गान्तोक, 9 जूनः नयाँ दिल्लीबाट राज्य फर्किएपछि सिक्किमका सबै निर्वाचन क्षेत्रमा गएर बैठक गर्ने तथा जनतासँग सोझो संवाद गर्ने एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। नयाँ दिल्लीबाट सिक्किमे जनताको नाममा एउटा सन्देश जारी गर्दै उनले भनेका छन्, “अहिले म दिल्लीमा छु। यहाँ मैले प्रधानमन्त्री र गृहमन्त्रीसित भेट गरिसकेको छु। सिक्किमको वर्तमान अवस्थाबारे अवगत गराएको छु। प्रधानमन्त्री र गृहमन्त्रीसितको बैठक सकारात्मक भएको कुरा म हर्षका साथ भन्न सक्दछु। म केही दिन दिल्लीमा रहनेछु। अन्य राजनीतिक पार्टीका नेताहरूसँग पनि भेट गर्नेछु। त्यस समयसम्म जनताले धैर्यधारण गरेर बसिदिनुहोला। म तपाईंहरूसँग छु र सदैव रहनेछु।”

जनताको नाममा जारी गरेको सन्देशमा चामलिङले लेखेका छन्, “हाम्रो राज्य अहिले सङ्क्रमणकालबाट गुज्रिरहेको छ। हामी गौरव महसुस गर्ने हाम्रो शान्ति र सुरक्षा अहिले सङ्कटमा परेको छ। 25 वर्षसम्म सिक्किमे जनताले पाएको शान्ति र सुरक्षामाथि ठूलो सङ्कट  आइपरेको छ। जनताले यस घड़ीमा संयम बनाएर राख्नुपर्छ अनि हामी सबै मिलेर लड्नुपर्छ।” उनले अझ भनेका छन्, “मेरा अति प्यारा सिक्किमे जनता, तपाईंहरूले आफ्नो अधिकारका लागि लड्नुपर्छ। तपाईंहरू लड्नु भएन भने हामीले सिक्किमको सुरक्षा र सिक्किमेको रूपमा रहेको हाम्रो गौरव गुमाउनेछौं।”

“हामीले तपाईंहरूको घर, तपाईंहरूका छोरी, तपाईंहरूका श्रीमान र छोराको पूर्ण सुरक्षा गरेको कुरा म विश्वस्त भएर भन्न सक्छु। यो कुरामा हाम्रा आमा र दिदी-बहिनीहरू सहमत हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। तपाईंहरूले कुनै पनि झड़पमा परेर वा हिंसाको घटनामा परेर कसैलाई गुमाउनु परेको थिएन। हामीले कानूनको राज कायम गरेका थियौं, तर अहिले सिक्किममा कानूनको राज छैन। हाम्रा चेलीबेटीहरूले असुरक्षा महसुस गर्दैछन्। यस्तो घड़ीमा सबै आमा-चेली अघि आउनुपर्छ अनि सिक्किमेको हितमा लड्न र सिक्किमेको मर्यादालाई कायम राख्न लड़ाइँ लड्नुपर्छ”-चामलिङले अन्तमा भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया