झण्डा फाइट  : भाजपा भर्सेस तृणमूल

भाजपा र तृणमूलका कार्यकर्ताहरूबीच गोली हानाहान भएको छ । पश्चिम बङ्गालमा शनिबार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रीय पार्टी तृणमूल कङ्ग्रेसका कार्यकर्ताबीच गोली हानाहान भएको हो । गोली लागेर भाजपाका तीन र तृणमूल कङ्ग्रेसका एक गरी चारजनाको मृत्यु भएको छ । हिंसामा अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ । एक महिनाअघि निर्वाचन अभियानमा भारतीय जनता पार्टी र तृणमूल कङ्ग्रेसका कार्यकर्ताबीच पश्चिम बङ्गालका विभिन्न स्थानमा झडप हुँदा दुवै पार्टीका दर्जनौँ कार्यकर्ता घाइते भएका थिए । हिंसापछि निर्वाचन आयोगले प्रचार अभियानलाई एक दिन छोट्याएको थियो ।

किन भयो झडप ?
सत्तारुढ भारतीय जनता पार्टीको झन्डा गाढ्ने र पोस्टर टाँस्ने विषयमा तृणमूल कङ्ग्रेसका कार्यकर्तासँग झडप भएको भाजपाका पश्चिम बङ्गालका महासचिव सयन्तन बसुले जानकारी दिए । ‘तृणमूल कङ्ग्रेसका कार्यकर्ताले हाम्रो पार्टीको झन्डा र पोस्टर च्यातेर फाल्न थालेपछि हामीले विरोध गर्दा हाम्रा कार्यकर्तामाथि गोली प्रहार भयो,’ बसुको भनाइ उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

आरोपप्रत्यारोप
हत्याबारे दुवै पार्टीले एक–अर्कालाई आरोप लगाएका छन् । भारतीय जनता पार्टीका स्थानीय नेता मुकुल रोयले भाजपाका तीन सक्रिय कार्यकर्ताको पश्चिम बङ्गालको सन्देशखालीमा गोली हानेर हत्या भएको बताए । हत्यामा तृणमूल कङ्ग्रेसको संलग्नता रहेको उनले आरोप लगाए । ‘मारिएका चारजनामध्ये तीनजना भाजपाका सक्रिय कार्यकर्ता हुन् भने अर्का एक तृणमूल पार्टीसमर्थक हुन्,’ एक प्रहरी अधिकारीले भने ।

हत्यापछि सन्देशखालीमा सुरक्षा सतर्कता कडा बनाइएको छ । फेरि झडप हुन सक्ने आशंकामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । तृणमूल कङ्ग्रेसका तर्फबाट पश्चिम बङ्गालका मन्त्री ज्योतिप्रियो मुलिकले भाजपा कार्यकर्ताले आफ्नो पार्टीका एक कार्यकर्तालाई झुन्ड्याएर गोली ठोकेको आरोप लगाए । मलिकले भने, ‘पार्टीको बैठकमा जाँदै गर्दा हाम्रा एक कार्यकर्तालाई भाजपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए, त्यसपछि भाग्न खोज्दा गोली प्रहार गरेर उनको हत्या भयो ।

बारम्बार हिंसा
राजनीतिक रूपमा अस्थिर मानिने पश्चिम बङ्गालमा बारम्बार हिंसा हुने गरेको छ । पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेस शक्तिशाली क्षेत्रीय पार्टी हो । पार्टीकी नेतृ ममता बनर्जीको पश्चिम बङ्गालभर दबदबा छ । भाजपाले बारम्बार अशान्ति मच्चाएको वनर्जीले आरोप लगाउँदै आएकी छिन् । गत महिना मात्र पश्चिम बङ्गालको राजधानी कोलकातामा भाजपाका एक कार्यकर्ताको गोली हानी हत्या भएको थियो । त्यस्तै, तृणमूल पार्टीका एक केन्द्रीय नेताको सवारीसाधनमाथि ढुङ्गा प्रहार भएको थियो । गत वर्ष भाजपाका एक कार्यकर्ताको हत्यापछि उनको शव रुखमा झुन्ड्याइएको थियो । हत्याको निन्दा गर्दै प्रधानमन्त्री मोदीले सो घटनालाई ‘लज्जास्पद र प्रजातन्त्रविरोधी’ बताएका थिए ।

 पश्चिम बङ्गालमा  भाजपाको सफलता
हालै सम्पन्न लोकसभा निर्वाचनमा पश्चिम बङ्गालबाट भाजपाले १८ स्थान जितेको थियो । भाजपाले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो । आफ्नो पछिल्लो सफलताबाट आत्तिएको तृणमूल कङ्ग्रेस बदला र व्यक्तिगत हमलामा उत्रिएको भाजपाले दाबी गरेको छ । पछिल्लो आमनिर्वाचनमा भाजपा एक्लै ३०३ स्थानमा विजयी
भएको छ । यसअघि सन् २०१४ को निर्वाचनमा भने २८२ स्थानमा विजयी भएको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया