काठमाण्डौको पलेँटीमा दार्जीलिङ र सिक्किमे गायिका

गान्तोक, 12 जून। विश्वकै संगीत जगतमा नेपाली आधुनिक संगीतको आफ्नो छुट्टै पहिचान रहेको छ । नेपाली आधुनिक अथवा सुगम संगीतलाई विस्तार गर्दै लोकप्रिय बनाउन नेपाल र दार्जिलिङका कलाकारले गरेको योगदान उल्लेखनीय छ । नेपाली आधुनिक संगीतलाई स्वर्णयुगमा पुर्‍याउन यी दुबै भूभागले असाधारण योगदान गरेका छन् । नेपाली संगीतको आँगन फैलने क्रममा भारतका अन्य भूभाग पनि यो सांगितिक अभियानमा जोडिँदै आएका छन् ।नेपालीभाषी कलाकारहरूको त्यही योगदानलाई समेट्ने क्रममा गत मई महिनाको पलेँटीमा सिक्किमका कलाकारले आफ्नो गायन प्रस्तुत गरेका थिए । जसमा लामो समयदेखि सिक्किममा रहेर संगीत क्षेत्रमा सक्रिय बनेकी बिमला सेन्चुरी प्रधानको प्रमुख भूमिका रहेको थियो ।

‘पलेँटी शृंखला’ नेपालय नामको संस्थाले २००५ देखि सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम हो । पलेँटी पुराना कलाकार र उनीहरूका सृजनालाई जीवन्त राख्ने उद्देश्यले संचालन हुँदै आएको छ । यस कार्यक्रममा दार्जिलिङ र अन्य प्रान्तका नेपाली कलाकार प्रस्तुत भइसकेका छन् ।

यो कार्यक्रममा सिक्किमका कलाकार भने पहिलोचोटी सहभागी भएका हुन् । कार्यक्रममा धेरै जसो गीत गायिका बिमला सेञ्चुरी प्रधानले सुनाएकी थिइन् साथमा सिक्किमकी अर्की गायिका अञ्जली प्रधानले पनि केही गितहरू प्रस्तुत गरेकी थिइन् ।

बिमला सेञ्चुरी नेपाली संगीतमा परिचित नाम हो । संगीतकार शान्ति ठटालले संगीत भरेको चलचित्र ‘बाँच्न चाहनेहरू’का गीतबाट बिमला नेपालका श्रोताहरू बीच पनि लोकप्रिय नाम हो । कार्यक्रममा बिमलाले चलचित्रका तिनै लोकप्रिय गीत- ‘नयाँ नयाँ घामको किरण’ ‘मिठो मिठो’ लगायत नयाँ पुराना गीत सुनाएकी थिइन् । संगीतकार शान्ति ठटालका संगीतका गीत प्रस्तुत गरिएको पलेँटीमा अर्की गायिका अञ्जलीले पनि बिमलासँग दोयट र केही सोलो गीत प्रस्तुत गरेकी थिइन् ।

पलेँटीमा पहिलोचोटी सिक्किमको प्रतिनिधित्व गर्न पाएकोमा गायिका बिमला सेञ्चुरी प्रधान र अञ्जली प्रधानले आफूहरू अत्यन्त खुशी भएको भाव प्रकट गरेका छन् । यसै क्रममा बिमलाले भनिन्- ‘यस्तो प्रतिष्ठित मञ्चमा गीत गाउन पाउनु अहोभाग्य हो । श्रोता, दर्शक सामु गाउन नपाएको लामो समयपछि पलेँटीमा गाउन पाएँ खुशी छु । हाम्रो सहभागितालाई रुचाउनु हुने सबै दर्शक, श्रोतालाई धन्यवाद भन्न चाहन्छु ।‘ अर्की गायिका अञ्जली भन्दै थिइन्- ‘यो त जीवनकै अमूल्य क्षण हो ! यस्तो अमूल्य क्षणको मौका जुराइदिनु हुने शान्ति आन्टी र पलेँटी दुबैलाई धन्यवाद ।‘

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा शान्ति ठटालले धुन भरेका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् ।

 

कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संचालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालति फूलसँग तुलना गर्दै ठटाललाई ‘संगीत-मल्लिका’को विशेषणले सम्वोधन गरेका थिए ।

कार्यक्रमको थालनी भजनबाट भएको थियो । श्याम प्रधानको शब्द रचनाबाट कार्यक्रम थाल्दै गर्दा आभासले भने- ‘शान्ति ठटालसँग मैले आध्यात्मिक वार्ता पनि गरेको छु । उहाँमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ । भजनको माध्यमले मानिसमा नैतिक सोच निर्माण गर्ने प्रयत्न गर्नु प्रगतिशील चिन्तन हो ।‘

भजनपछि नेपाली आधुनिक गीत लेखनका प्रणेता रत्न शमशेर थापाद्वारा रचित तीनवटा गीत प्रस्तुत भएका थिए । गायिका बिमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन् । अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन् ।

कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाण्डौ भित्रिएर सृजना गरेको सबैभन्दा कान्छो संगीत पनि प्रस्तुत भएको थियो । गजल शैलीको नयाँ गीतका बारेमा आभास भन्दै थिए- ‘शान्ति ठटाल दिदीसँगको सांगीतिक सहकार्यको लोभले हो मैले दुई हप्ता पहिले उहाँले बजाउँदै गरेको हार्मोनियम माथि केही गीतका शब्द छोडेर हिंडेको थिएँ । उहाँले भोलिपल्टै त्यसमा भरेको संगीत सुनाउनु भयो । उहाँको क्षमता साँच्चै अद्भूत छ । शान्ति दिदीले यति छिटै यति स्तरिय धुन भरेकोमा म चकित भएको छु ।‘ आभासले प्रतिक्रिया जनाएको त्यो नयाँ सृजनालाई बिमलाले स्वर दिएकी थिइन्- ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’

शान्ति ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोज्दा खोज्दै पनि प्रसंशकहरूको हार्दिक अनुरोधका कारण उनले गीत नगाइ धर पाइनन् । उनले भनिन्- ‘हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ ! गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ‘ आठ दशक पार गरिसकेकी ठटाल भन्दै थिइन् । ‘ल एउटा मात्र सुनाउँछु है त ।‘ उनले ध्यान मग्न हुँदै सुनाइन्- ‘नझार आँखाबाट कसैका प्रीतहरू’ । उनको स्वर सुनेसँगै ‘आर’शाला तालीले गुञ्जियो । त्यो गीतको समापनसँगै श्रोताको उत्साह झन् चुलियो र फर्माइस् भयो- ‘खै त तपाईंको ‘एन्थम’ अर्थात् ‘सम्हालेर राख’? ‘आज त एउटा मात्र पो गाउँ भनेको’ भन्दै गरेकी शान्तिले फेरि हार्मोनियममा औंला चाल्दै उनको पहिचान बोकेको गीत ‘सम्हालेर राख’को उठान गरिन् । ‘आर’शाला फेरि तालिले गुन्जायमान भयो । गायन सक्नासाथ शान्ति ठटालको मुहारमा झल्किएको हाँसोले पलेँटीको मञ्च झन् खुलेको देखिन्थ्यो ।

गायिका अञ्जली प्रधानले सुनाएको गीत ‘कसैलाई सम्झिदिन्छु फूल देखे बनभरि’ गीतकार ईश्वर बल्लभले गुरुप्रसाद मैनालीको कथा ‘बिदा’मा आधारित चलचित्रका निम्ति लेखेका रहेछन् । शान्ति ठटालले भनिन्- ‘चलचित्रका निम्ति कवि ईश्वर बल्लभले लेख्नुभएको एउटा गीत र भजनमा धुन भरेकी थिएँ । त्यहीताका म जागिरे भएर सिक्किमतिर लागेँ र त्यस चलचित्रमा पछि दिब्य खालिङले संगीत भरे ।‘ त्यसपछि गायिका बिमला सेञ्चुरीले चलचित्र ‘बाँच्न चाहने’हरूका गीत ‘नयाँ नयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ प्रस्तुत गरिन् । नोर्देन रुम्बाका यी गीतपछि कार्यक्रमको अन्त्यतिर भने ताल प्रधान रमाइला गीतहरू प्रस्तुतभएका थिए । बिमला र अञ्जलीले युगल गीत गाउँदा दर्शकहरू तालमा ताल मिलाइरहेका देखिन्थे । कार्यक्रमको अन्तमा शशी ठटालले लेख्नु भएको लोकप्रिय गीत ‘मायालुले सम्झे कि कसो’ प्रस्तुत गर्दा ‘आर’शालामा उपस्थित धेरै दर्शक, श्रोताका थपडी र ओठहरू पनि सँगसँगै चलमलाएका थिए ।

आगामी पलेँटीमा शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुने जानकारी पनि गराइएको थियो । त्यसका निम्ति संगीतकार शान्ति ठटाल र गायका बिमला सेञ्चुरी प्रधान काठमाण्डौमै रहेर सृजनाकर्ममा जुटिरेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया