चामलिङले दिल्लीबाट जनतालाई भने अन्तिम साससम्म रक्षक भएर बस्नेछु

गान्तोक, 12 जूनः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)  पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले दिल्लीबाट सिक्किमे जनताको नाममा पुनः एउटा सन्देश लेख्दै आफू सिक्किमे जनताका निम्ति अन्तिम साससम्म ‘रक्षक’ भएर बस्ने प्रतिबद्धता जाहेर गरेका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, “तपाईंहरू सबैलाई थाहा छ, हामी जब सत्तामा थियौं, त्यस बखत् सिक्किमको विकास तथा सिक्किमे जनताको उत्थान नै हाम्रो प्राथमिकता थियो। हाम्रा नीति र योजनाहरू विशेष गरेर स्वास्थ्य, शिक्षा तथा सामाजिक कल्याणमा केन्द्रित थिए। जनताको जीवनस्तरलाई बढ़ाउनु तथा जनताको मर्यादा तथा आत्मस्वाभिमानलाई सुरक्षा गर्नु नै हाम्रो विकासको केन्द्रबिन्दु थियो। हाम्रा योजनाहरूले प्रजातन्त्रलाई संस्थागत गर्न सहयोग पुर्‍याएका थिए। जनताको आधारभूत आवश्यकता पूरा गरेर ससाना नानीहरूको सपनालाई हामीले विपनामा फेर्‍यौं अनि परिवारका सदस्यहरूलाई पनि आत्मस्वाभिमानसँग बाँच्ने बनायौं। यसको सबैभन्दा ठूलो उदाहरण हाम्रो योजनाअन्तर्गत गरीब विद्यार्थीहरूका निम्ति रहेको मेधावी छात्रवृत्ति योजना हो।”
उनले अझ लेखेका छन्, “जनताको मतले हामी अहिले विपक्षमा छौं। सत्तामा हुँदा म जसरी कर्मशील, धैर्य र उत्साहका साथ काम गर्थें, उसरी नै काम गर्नेछु। मेरा निम्ति सिक्किम र सिक्किमे जनता नै सबैथोक हुन्। त्यसैले म अन्तिम साससम्म सिक्किमे जनताको रक्षक बनेर रहनेछु। म सधैं सिक्किमे जनताको पक्षमा छु र सदैव रहनेछ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया