त्रिस्तरीय पञ्चायत चुनाउको माग: केकेएसले सासंदलाई दिने ज्ञापन

कालेबुङ, 12 जुनलोकसभा चुनाउपछि अब दार्जीलिङ पहाडमा पुन: त्रिस्तरीय पञ्चायत चुनाउको माग उठ्न शुरू भएको छ। कालेबुङको एउटा सामाजिक सस्था कालेबुङ कृषक कल्याण सङ्गठनले दार्जीलिङ अनि कालेबुङ दुवै जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्ने माग दोहोऱ्याएको छ।

यस मागमा सङ्गठनले भोली कालेबुङ भ्रमणअवधि सांसद राजु विष्टलाई ज्ञापन-पत्र पनि दिने भएको छ। सङ्गठनले विष्टमार्फत राज्य सरकार अनि केन्द्रिय गृह मन्त्रालयमा पनि ज्ञापन-पत्र पठाउने भएको छ।

सङ्गठनका महसचिव विष्णु छेत्री अनुसार आज सङ्गठनको प्रतिनिधि सभा सम्पन्न भयो। सभामा त्रिस्तरीय पञ्चायत चुनाउ गराउनुपर्छ भन्ने प्रस्तावना पारित गरियो।

छेत्री अनुसार त्रिस्तरीय पञ्चायत चुनाउको निम्ति भारत सरकारको पिटिसन कमिटीले यस दिशामा निर्णय लिन अघिबाट पश्चिम बङ्गाल सरकार अनि केन्द्रको गृह मन्त्रालयलाई सूचना दिइसकेको छ। जीटीएको कानुन अनुसार अब पहाडमा जीटीए चुनाउको सम्भावना छैन। भाजपाले दीर्घमियादी राजनैतिक समाधान भनिरहेको अवस्थामा कानुन अनुसार पहाडमा त्रिस्तरीय चुनाउ मात्र सम्भव रहेको छेत्रीको दावी छ।

अर्कोतिर पहाडमा जिल्ला परिषद सम्भव हुँदाहुँदै पनि जीटीएले पञ्चायत अनि पञ्चायत समितिको रिक्त पदहरूमा मात्र नियुक्त गर्ने निर्णय गरेकोले जीटीए अध्यक्ष अनीत थापाको इमान्दारितामाथि पनि शङ्का हुने छेत्रीले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया