के तपाईंहरू हेमन्त नयनलाई बचाइराख्न चाहनुहुन्न र?

अविच्युरी

मिलन वान्तवा


संवेदनशील मनहरूलाई हल्लाइदिने सामर्थ्य बोकेका केही गीतहरू सुम्पिराखेर एउटा आकार अलप भयो। औसत दार्जीलिङे कलाकारहरूको साकार हुन नसक्ने सपनाको बेजोड़ गीत मुटु-मुटुमा छोड़िराखेर एउटा मुटु गायब भयो। भनौँ सम्पूर्ण नेपाली जनजीवनमा ईश्वरप्रदत्त मधुर धुन अर्पण गरिराखेर एउटा ईश्वरीय आवाज अन्तर्धान भयो।

एक दिन उनी गइरहेका थिए। हामीले पछिबाट हेरिरहेका थियौँ। साथमा एकजना उनीजस्तै मानिस थिए। उनीहरू कहाँ गइरहेका थिए कुन्नि! त्यो थाहा भएन। जज बजारको तल्लो बाटो भएर उतै हिमालय कलामन्दिरतर्फ गइरहेका थिए। गायिका सोनु राईले दिक्क मानेर भनी- ‘‘हेर्नु न दाजु! हाम्रा दार्जीलिङे कलाकारहरूको गति यस्तै छ। बिचराले जागिरका निम्ति कम्ती धाएन त! जागिरका निम्ति सबभन्दा बेसी दुःख गर्ने शायद ऊ नै होला। कतिवटा जुत्ता फाट्यो होला तर बिचराले काम पाएन। उनलाई काम दिइहालेको भए एउटा कलाकार बाँच्ने थियो।’’

उनको यस भनाइले मेरो मनलाई चस्स घोच्यो। मैले सोचेँ, उनी बाँचेकै त छन् नि! बरू एउटा कलाकारले जस्तो सम्मानपूर्वक बाँच्न नपाएको चाहिँ पक्कै हो। मेरो मनले यसो भन्यो। साहित्यकार सबिता सङ्कल्पले पनि उनलाई माया गरेर केही कुराहरू थपी। उनीमाथि अत्याचार भएकोमा दुःखित बनी।

कलाकारहरूलाई संरक्षण गर्नुपर्ने विचार पोखी। यतिञ्जेल उनीहरू भने हामीदेखि निकै टाढ़ा पुगिसकेका थिए। भनौँ हाम्रा आँखाबाट ओझेल भइसकेका थिए। उनलाई म बजारहुँदो देखिरहन्थेँ। एकचोटि सिङला बजारमा पनि उनलाई भेटेको थिएँ। शायद त्यहाँ उनले कुनै गीत पनि गाएका थिए। त्यो कुन गीत थियो भन्ने अहिले स्मरणबाट हराएछु।

जे होस्, उनको गायनकलादेखि म मन्त्रमुग्ध थिएँ। उनलाई म ठूलै गायक मान्थेँ। हुन पनि उनी ठूलै गायक थिए। तर मानिसहरूले बेवास्ता गरिदिएका गायक थिए। बजारको भीड़बीच उनी बेसुर र बेताल भएर हिँड़िरहेका हुन्थे। एउटा बेजोड़ गायक आफन्तहरूबीच एकलो बनेर रल्लिरहेका हुन्थे। म अलिकति अन्तर्मुखी स्वभावको छु। हत्तपत्त कसैसित बोलिहाल्न सक्दिनँ। यसैले उनलाई धेरै ठाउँहरूमा धेरैचोटि देखिरहे तापनि उनीसित बोल्न सकिनँ।

सम्पर्क बढ़ाउने त कुरै आएन। तर उनका गीतहरूसित मेरो हित मिलेको थियो। उनका गीतहरूले मेरो मनसित मीत लाएको थियो। कहीँकतै नसुन्दा पनि त्यसै कानमा गुञ्जिरहने खालका उनका गीतहरूले मलाई मोहनी लगाएको थियो। दार्जीलिङलाई माया गरेर गीतकार धीरज निशाकर राईले लेखेका गीत ‘याद आइदिन्छ मेरो प्यारो दार्जीलिङ शहरको…’ भन्ने गीत मन नपराउने कुन दार्जीलिङे मुटु होला र!

मलाई सबभन्दा दुःख लागेको कुरो के हो भने उनले ‘साकार भइदिएन…’ भन्ने गीत गाउन नपरेको भए हामीले उनीबाट धेरै मीठा-मीठा अन्य गीतहरू अवश्य सुन्न पाउने थियौँ। अझ बढ़ी दुःख लाग्छ, दार्जीलिङले कलाकारहरूलाई यसरी दुःख दिएको देख्दा। तर यी दुःखहरूबाट नै त जन्मेका हुन् नि यति मर्मस्पर्शी गीतहरू! तर यसरी मर्मस्पर्शी गीतहरू सुन्न पाइन्छ भनेर कलाकारहरूलाई यति धेर अत्याचार गर्न हुन्छ र!

यसो गरिनु कलाकारहरूमाथि सरासर अन्याय होइन र! एक दिन उनी गइरहेका थिए। हामीले पछिबाट हेरिरहेका थियौँ। साथमा एकजना उनीजस्तै मानिस थिए। उनीहरू कहाँ गइरहेका थिए कुन्नि! त्यो थाहा भएन। जज बजारको तल्लो बाटो भएर उतै हिमालय कलामन्दिरतर्फ गइरहेका थिए। उनलाई अन्तिमचोटि हामीले देखेको त्यही दिन हो।

अर्थात् 23 जून 2019। आज 28 जून 2019 अर्थात् पाँच दिनपछि उनको दुःखद निधनको खबर बोकेर आयो फेसबुकका भित्ताहरू। म निःशब्द बनेँ। उनीसित हजारौँचोटि आमनेसामने भएर पनि कहिल्यै उनीसित नबोलेकोमा मलाई चुकचुक लागिरह्यो। कमसेकम 23 जून 2019 को दिन उनीसित अन्तिमचोटि बोलिराखेको भए के खेरो जाने थियो र हगि! तर केही छैन! म उनका हृदयस्पर्शी गीतहरूसित आजन्म बोलिरहनेछु। साइनो गाँसिरहनेछु। तपाईंहरू पनि सुन्न चाहनुहुन्छ भने युट्यूबमा हेमन्त नयन टाइप गर्नुहोस्। उनका गीतहरू पाउनुहुनेछ। यसो गरे हामी हेमन्त नयनलाई बचाइराख्न सफल हुनेछौँ।

के तपाईंहरू हेमन्त नयनलाई बचाइराख्न चाहनुहुन्न र?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया