आप्पा  : समय र मुड हुँदा हेर्ने फिल्म

आप्पाबाट निर्देशक गुरुङको वाहवाही गर्न सकिन्न तर आशा राख्न सकिने ठाउँचाहिँ छोडेका छन् । यसपटक उनलाई पटकथाले धोका दियो । बरु गीत लेखन र कम्पोजमा उम्दा लाग्छन्। समय र मुड हुँदा हेर्ने फिल्म हो, आप्पा । दयाहाङ राईका फ्यानलाई पनि प्रिय लाग्नसक्छ तर कथा र प्रस्तुतिमा विशेष अपेक्षा राख्नेचाहिँ निराश हुनुपर्छ । भनूँन, कामचलाउ मात्र  छ आप्पा । आफ्नै प्रस्तुतिसँग विश्वास नभएर हुनुपर्छ, निर्देशकले अन्तिमतिर हरेक पात्रलाई त्यही कुरा दोहोर्‍याउन लगाउँछन्, संवादबाट । यसले आप्पाको वजन घटाएको छ । फादरको चरित्र सुरुदेखि अन्त्यसम्म नियाल्दा क्रिस्चियन धर्म प्रचारको नियत पो हो कि भन्ने शंका पैदा हुन्छ ।


गोकर्ण गौतम


सिक्किम–दार्जीलिङले नेपाली फिल्मलाई अनेक कोसेली दिएको छ । तुलसी घिमिरे, निरुता सिंह, उत्तम प्रधान, शम्भु प्रधानजस्ता उताका फिल्मकर्मीको योगदान कहाँ भुल्न सकिन्छ र ? भाषा र रहनसहनले हामीलाई जोडेको छ । नयाँ फिल्म आप्पा त्यसकै निरन्तरता हो । फिल्म शतप्रतिशत दार्जीलिङ वरपर खिचिएको छ । निर्देशक अनमोल गुरुङले बजारको बिकाउ मानसिकताबाट माथि उठेर बाबु–छोराको प्रेमलाई इमानदार ढङ्गले पस्कने प्रयास गरेका छन् । तर सम्बन्धको भावनात्मक पाटोको गहिराइसम्म पुग्न सकेनन्, सपाट पटकथाका कारण । यसले आप्पालाई अब्बल हुनबाट रोकेको छ । शीर्ष भूमिकामा दयाहाङ राई छन् । कमजोर कन्टेन्टका बाबजुद प्राविधिक पक्षमा फिल्मले मान राखेको छ ।

पर्यटकलाई गाडीमा घुमाउने काम गर्छन्, बिर्खे (दयाहाङ) । सोझा र मायालु छन् तर हरपल रक्सी घुट्काउँछन् । एक दिन अचानक उनको गाडी दुर्घटना हुन्छ । बिर्खे र एउटा बालक सिद्धार्थ (सिद्धान्तराज तामाङ) बाँच्छन् । सिद्धार्थका सबै आफन्त मर्छन् । एक्लो बिर्खेले बालकलाई सँगै राख्न खोज्छन् तर पढाइले गर्दा छुट्टिनु पर्छ । लामो समयपछि सिद्धार्थसँग भेट हुन्छ । तर सिद्धार्थले बिर्खेलाई बाबुको रुपमा अपनाउलान् ? यही सम्बन्धको उतारचढावमा केन्द्रित छ, फिल्म।

रगतभन्दा भावनाको नाता गहिरो हुन्छ भन्ने मान्यतालाई निर्देशक गुरुङले पर्दामा उतार्ने प्रयत्न गरेका छन् । बिर्खे त्यसका लागि उपयुक्त पात्र हो । सुरुआती एकाध दृश्यबाटै बिर्खेलाई स्थापित गरिएको छ । तर यही अनुपातमा बिर्खे र सिद्धार्थको प्रेम अनुभूत गर्न पाइन्न । छुट्टिनुपर्ने र भेट्न नपाउने कारण पनि उतिविघ्न विश्वासिलो लाग्दैन । पात्र र घटनासँग दर्शकलाई आत्मीय बनाउने मामलामा पटकथा चुकेको छ । फादर (तुलसी घिमिरे) को बारम्बारको उपस्थिति सार्थक छैन ।

दार्जीलिङका मनोरम दृश्य, पात्रहरुको बोलीचाली, झर्रो पार्श्व सङ्गीतले भने राहत दिन्छ । दार्जीलिङ/कालेबुङ क्षेत्रको खाँटी स्वाद चखाइएको छ । झारो टार्ने नियत निर्देशकमा देखिन्न तर समस्या उही–मूलकथाप्रति उनको कमान्ड खुकुलो छ । मध्यान्तरपछि अझ खस्कँदै जान्छ । तन्नेरी सिद्धार्थको प्रवेश,उनी र काव्या (अलोना कबो लेप्चा) को प्रेमको बीजारोपण, उनीहरुका साथीहरुको व्यवहार, काव्याकी आमाको रैवया आदि ‘क्लिसे’ लाग्छ । लामो समयपछि भएको बिर्खे र सिद्धार्थको भेट पनि फिस्स लाग्छ । यसो हुनुमा सिद्धान्तको अपरिपक्व अभिनयको पनि भूमिका छ । बाबु–छोराभन्दा सिद्धार्थ–काव्याको प्रेममा बढी फोकस हुनथालेपछि त फिल्मको लय पूरै बिथोलिन्छ । ‘ट्वीस्ट’ले मात्र त्यसको पुर्ताल गर्दैन ।

भनिहालियो, फिल्मको मूलमर्म नै बाबुछोराको प्रेम हो । तर आफ्नै प्रस्तुतिसँग विश्वास नभएर हुनुपर्छ, निर्देशकले अन्तिमतिर हरेक पात्रलाई त्यही कुरा दोहोर्‍याउन लगाउँछन्, संवादबाट । यसले आप्पाको वजन घटाएको छ । फादरको चरित्र सुरुदेखि अन्त्यसम्म नियाल्दा क्रिस्चियन धर्म प्रचारको नियत पो हो कि भन्ने शंका पैदा हुन्छ । तर बिर्खेलाईचाहिँ हलबाहिर निस्केपछि पनि भुल्न सकिन्न । खासमा दयाहाङ राई बिर्खेको ‘पर्फेक्ट कास्टिङ’ हुन् । हुलिया, आनीबानी, लवजसँगै मनोविज्ञानबाट पात्रलाई जीवन्तता दिएका छन् । अरुणा कार्की सदाझैँ आफ्नो भूमिकामा निपुण छिन् । डेब्यु हिरो सिद्धान्तले चाहिँ अभिनयलाई करिअर बनाउन औधी मिहिनेत गर्नुपर्छ । तुलनात्मकरुपमा अलोनाले चरित्रलाई आत्मसात गरेकी छन् ।

हामीकहाँ बन्ने अधिकांश फिल्ममा गीत आएपछि कथा ‘जर्क’ हुन्छ तर आप्पामा गीतलाई कथावाचनकै सहायकको रुपमा प्रयोग गरिएको छ । उत्तिकै श्रुतिमधुर छन् । हरेक गीतअर्थपूर्ण र मार्मिक छन् । पार्श्व सङ्गीत हाम्रो सन्दर्भमा नवीन र ताजा लाग्छ । दृश्यको भावअनुकूल क्यामरा चलाएर शैलेन्द्र डी कार्की तारिफको हकदार बनेका छन् । आप्पाबाट निर्देशक गुरुङको वाहवाही गर्न सकिन्न तर आशा राख्न सकिने ठाउँचाहिँ छोडेका छन् । यसपटक उनलाई पटकथाले धोका दियो । बरु गीत लेखन र कम्पोजमा उम्दा लाग्छन्।

समय र मुड हुँदा हेर्ने फिल्म हो, आप्पा । दयाहाङ राईका फ्यानलाई पनि प्रिय लाग्नसक्छ तर कथा र प्रस्तुतिमा विशेष अपेक्षा राख्नेचाहिँ निराश हुनुपर्छ । भनूँन, कामचलाउ मात्र  छ आप्पा ।-नेपाल साप्ताहिकबाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया