गोर्खाहरूलाई देशबाट खेद्ने भाजपाको खेल शुरु भयो : विनय तामाङ

‘बुझ्नुपर्ने कुरा के छ भने जतिपनि भारतीय गोर्खाहरु छन् उनीहरु एनआरसीको चपेटमा पर्दैनन् भन्ने आजसम्म कुनैपनी ऐन बनिएको छैन,’ तामाङले भने, ‘उदाहरणको निम्ति आसाममा बसोबास गर्ने ३० लाख गोर्खा समुदाय मध्ये भर्खरै २६ जुनको दिन आएको अतिरिक्त सुचीमा लगभग १ लाख भन्दा बढी गोर्खाको एनआरसीमा नाम आएको छैन।’


 

दार्जीलिङ, 29 जुन


विनय तामाङले विज्ञप्ति जारी गरेर भारतीय जनता पार्टीले गोर्खाहरूलाई देशबाट नै खेद्ने खेल शुरु गरिसकेको आरोप लगाएका छन्। भाजपाले बारम्बार गोर्खाको चिनारी दिने भन्दै गोर्खालाई एनआरसीबाट विदेशीको लान्छना लगाएको पनि उनको दाबी छ।

गोर्खाहरुको त्याग, तपस्या अनि बलिदानको कुनै केन्द्रिय सरकारले महत्त्व नदिएको र कहिले  नेपाली अनि कहिले भारत नेपाल सन्धिलाई आधर बनाएर अप्रवासी भन्दै लान्छना लगाइरहेको तामाङले बताएका छन्।

‘आसाममा भइरहेको एनआरसीमा गोर्खाहरुप्रति भेदभाव भएको छ,’ तामाङले भनेका छन्, ‘घरि स्वतन्त्र सेनानी छविलाल उपाध्यायको परिवारलाई D Voter को नोटिस आइरहेछ,, घरि आसामदेखि विदेशी खेद्ने आन्दोलनको पहिलो महिला शहिद बैजयन्ती देवीको परिवार एनआरसीको निम्ति अयोग्य ठहराइन्छ।’

उनीअनुसार अहिले आसाममा लागू भएको एनआरसी तिनै बैजयन्ती देवीको बलिदानको फल हो। त्यसताका भारत सरकार र आन्दोनकारीका बीच भएको सम्झौताको अंश हो एनआरसी।

‘बैजयन्ती देवीको परिवारलाई एनआरसीको चपेटमा पुऱ्याउने केन्द्रिय सरकारको हामी घोर बिरोध जनाउछौं,’ तामाङले भनेका छन्।

चुनाउ प्रचार क्रममा वर्तमान केन्द्रीय गृहमन्त्री अमित शाहले चुनाउपछि भाजपाले बङ्गालमा पनि एनआरसी लागु गर्नेछ भनेको कुरा सम्झाउँदै तामाङले भनेका छन्, ‘भाजपाले आफ्नो राजनैतिक स्वार्थलाई हेरेर पनि बङ्गालमा एनआरसी लागू गर्ने निश्चित देखिन्छ तर आसाममा हाम्रा गोर्खा समुदायलाई  मार्का परे झैं हाम्रो दार्जीलिङ तराई डुवर्समा पनि यसको नराम्रो असर पर्न जान्छ।’

उनले भाजपा नेताहरूले भनिरहेको ‘गोर्खालाई एनआरसीले छुँदैन’ भन्ने वयानलाई उड्न्ते हल्ला बताएका छन्।

‘बुझ्नुपर्ने कुरा के छ भने जतिपनि भारतीय गोर्खाहरु छन् उनीहरु एनआरसीको चपेटमा पर्दैनन् भन्ने आजसम्म कुनैपनी ऐन बनिएको छैन,’ तामाङले भने, ‘उदाहरणको निम्ति आसाममा बसोबास गर्ने ३० लाख गोर्खा समुदाय मध्ये भर्खरै २६ जुनको दिन आएको अतिरिक्त सुचीमा लगभग १ लाख भन्दा बढी गोर्खाको एनआरसीमा नाम आएको छैन।’

उनले अतिरिक्त सुचीलाई एकदमै खतरनाक बताएका छन्। उनीअनुसार सुची मार्फत जतिपनि गोर्खा समुदायलाई सूचना दिइएको छ, त्यसमा कि त बंशज (Legacy) मा समस्या देखाएर या विदेशी ( Foreigner) को ट्याग लगाएर सुचना जारी गरिएको छ।

यस सुचनाबारे आउँदो ११ जुलाईसम्म उनीहरुले एनआरसीको प्रक्रिया पुराउनुपर्ने बाध्यता छ अनि यदि उनीहरु प्रक्रिया पुराउन सकेनन् भने जुलाई महिनाको ३१ तारीख जब एनआरसीको अन्तिम मस्यौदा निस्किनेछ त्यतिबेला प्रक्रिया नपुराउनेलाई सिधै विदेशी घोषित गरिनेछ। त्यसपस्यात सबैलाई निरोध शिविरमा (Detention Camp) राखिनेछ।

‘हाम्रै गोर्खे प्रतिनिधिहरूले भाजपा र भाजपा सरकारको पक्ष लिएर एनसीआरले गोर्खाहरूलाई छुँदैन वा असर पर्दैन भन्नेहरूलाई हाम्रो प्रश्न छ – आसाम भएको घटनाप्रति वहाँहरूको के टेक छ ? केन्द्र सरकारप्रति वहाँहरूले गोर्खाहरूलाई एनसीआरले असर नपर्ने के पहलहरु गर्दैछन्?,’ तामाङले भनेका छन्।

अर्कोतिर उनले पहाड, तराई डुवर्सका जनतालाई एनआरसीको विरुद्ध खडा भइदिने आह्वान गरेका छन्। ‘गोर्खालाई अल्पसंख्यक बनाउने एनआरसीको हामीले एकजुट भएर बृहत रुपमा बिरोध गर्नपर्छ। यो बिरोध मेरो व्यक्तिगत या हाम्रो पार्टीको मात्र नभएर यो विरोध गोर्खा समुदायलाई तितरबितर पार्ने एनआरसीको विरुद्ध हुनुपर्ने छ,’ उनले भनेका छन्, ‘हामीले बारम्बार एनआरसीको विरोध गरिरहेका छौँ अनि त्यसको साथसाथै यदि आगामी दिनहरुमा एनआरसी यहाँ लागू गरिन्छ भने हामी त्यसको पनि घोर बिरोध गर्नेछौं अनि आफ्नो जातिलाई बचाउनको निम्ति यदि सर्वोच्च न्यायलयमा रैथाने (Original Inhabitants) वर्गको निम्ति मुद्दा लड्नपरे हामी त्यसको निम्ति तयार छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया