विनिता छेत्रीको आरोप तथ्यहीन: छुतेनडुप लेप्चा

‘मैले विनिता छेत्रीको आरोपमा अब भन्नु केही रहेन,’  छुतेनडुप लेप्चाले भने, ‘न्यायालय, सम्बन्धित विभाग र प्रशासनिक अधिकारीहरूसमक्ष जुन अड़ान राख्दैआएको छु त्यो सत्यताको आधारमा राख्दैआएको छु। आफ्नो अड़ानमा कायम छु।’


कालेबुङ, 29 जून


कालेबुङ जिल्लाको गीतडाब्लिङ हायर सेकेन्डेरी स्कूलमा आफूलाई शिक्षक नियुक्तिबाट वञ्चित गराई मानसिक प्रताड़ना दिइएको भन्दै उक्त स्कूलका हेडमास्टरमाथि विनिता छेत्रीले आरोप लगाएको खबर खबरम्यागजिनले सार्वजनिक गरेलगत्तै स्कूलका हेडमास्टर छुतेनडुप लेप्चाले प्रतिक्रिया जाहेर गरेका छन्।

उनले आफूमाथिका आरोपहरूलाई सोझै खारेज गर्दै विनिता छेत्रीको आरोपलाई निराधारसमेत बताएका छन्। विनिताको आरोप कलकत्ता हाई कोर्टले खारेज हुनुबाट नै निराधार रहेको पुष्टि हुने उनको मत छ।  निराधार मामिलालाई घरिघरि तुल दिने काम भइरहनु गीतडाब्लिङ स्कूलका नानीहरूका सुन्दर भविष्यसितै र स्कूलको प्रगतिको लागि दु:खपूर्णरहेको लेप्चाले बताएका छन्।

निराधार आरोपलाई हावा दिने कामले जेन्यून भोलेन्टियर टिचरहरू उल्टा प्रताड़ित हुने पनि उनको मत छ। विनिता छेत्रीलाई स्कूलले आजसम्म एपोइन्टमेन्ट नदिएको र जोइनिङ नभएको भन्दै छुतेनडुप लेप्चाले भने,  ‘मैले कसैमाथि अन्याय गरेको छुइनँ। जेन्युन भोलेन्टियर टिचरहरूलाई सदैव सहयोग गर्दै आएको छु। स्कूलको विकास र नानीहरूका भविष्यको लागिनै मैले जेन्युन भोलेन्टियर टिचरहरूसित सहकार्य गर्दैआएको हुँ। कोही कसैमाथि अन्याय गर्नु मेरो धर्म होइन। कहाँबाट,कसरी हुन्छ नानीहरूको सुन्दर भविष्य र स्कूलको प्रगति हुन्छ त्यतातिर मैले ध्यान दिँदैआएको छु।’

उनले विनिता छेत्रीको आरोपमाथि स्पष्टीकरण दिँदै भने,  ‘नानीहरूको भविष्य र स्कूलको प्रगतिलाई दाउमा राखेर कसैलाई काख र कसैले पाखा गरिने काम भएको छैन।’

विनिता छेत्रीले आफूमाथि विगत दिनमा लगाएकी भ्रष्टाचारको मामिलामाथि आफूले आफ्नो जवाफदेहिता पूरा गरिसकेको छुतेनडुप लेप्चाले बताए। विनिता छेत्रीको आरोपमा कुनै आधार नरहेकोले यसअघिनै उच्च न्यायालयमा पुगेर पनि त्यहाँ उक्त मामिला खारेज भइसकेकोले स्वत: उजागर भइसकेको बताए।

‘मैले विनिता छेत्रीको आरोपमा अब भन्नु केही रहेन,’  छुतेनडुप लेप्चाले भने, ‘न्यायालय, सम्बन्धित विभाग र प्रशासनिक अधिकारीहरूसमक्ष जुन अड़ान राख्दैआएको छु त्यो सत्यताको आधारमा राख्दैआएको छु। आफ्नो अड़ानमा कायम छु।’

आफूले विनिता छेत्रीमाथि अन्याय नगरेको भन्दै विनिता छेत्रीलाई एपोइन्टमेन्ट नदिनाको कारणमाथि प्रकाश पारे। छुतेनडुप लेप्चाले भने, ‘एमए गरेकी छु भनेर पढ़ाउन आइन्। एपोइन्टमेन्टको लागि जब मैले पेपर मागें तब तिनले दुई वर्षसम्म ढाँटेर राखिन्। एचएस पढ़ाउनको लागि आएकी उनीसित न त एमएको न त बीए अनर्सको सर्टिफिकेट थियो। सिम्पल बिकम रहिछन्। त्यही पनि 50% बिलो।’

स्कूलमा एपोइन्टमेन्ट नदिई विनिताले कसरी पाँचवर्ष पढाइन्, त्यसबारे भने उनले खुलाएनन्। आरटीआईको जवाबमा नक्कली एटेन्डेन्स रेजिस्टार बनाएको, बिनिताले स्कूलमा नपढाएको झुटो जवाब दिएकोबारे पनि खुलाएनन्।  स्कूलले उनलाई एपोइन्टमेन्ट दिन असमर्थ जनाएको पहिलो कारण विनिता छेत्रीको शैक्षिक योग्यता रहेको भने लेप्चाको अडान छ।

आफूले विनिता छेत्रीलाई प्रताड़ित गर्ने काम नगरेको भन्दै विनिताको आरोपको जवाब जीटीएको सम्बन्धित विभाग र प्रशासन समक्ष आफूले दिइसकेको लेप्चाले स्मरण गराए। आफूले हेडमास्टर भएर गर्नपर्ने सबै जिम्मेवारी इमानदारीपूर्वक पूरा गरिरहेको बताउँदै भने, ‘न्यायालय र सम्बन्धित विभागलाई जवाफ दिइसकेको छु। यति भइसक्दा पनि यस प्रकारको निराधार आरोप लगाएर मेरो छवि धमिल्याउने काम हुन्छ भने अब म पनि न्यायालय जान बाध्य हुनेछु।  यस्ता आरोपले पिसिएर जेन्यून भोलेन्टियरहरू भक्टिमाइज हुनुहुँदैन, यसमा म आफ्नो सहयोग जारी राख्नेछु।’

स्मरण रहोस् , विनिता छेत्रीको पक्षमा एक एसोसिएसनले कलकत्ता उच्च न्यायालयमा गीतडाब्लिङ हायर सेकेन्डेरी स्कूलको प्रधानाध्यापक विरुद्ध पिआईएल दर्ता गरेको थियो। एक व्यक्तिको लागि पिआईएल दर्ता गर्न नसकिने न्यायालयले बताएपछि मुद्दा ढिसमिस गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया