भूमिगत आन्दोलनकारीमाथि प्रशासनको अत्याचार र प्रताडना हुनु नै आन्दोलनको जीवित रूप हो

भूमिगतको वयान

भोलिको दिन लाखौंको भीड लिएर दार्जीलिङ प्रवेश गर्नेछौं। हामी भूमिगत हुनु र हामीमाथि प्रशासनको अत्याचार र प्रताडना हुनु नै आन्दोलनको जीवित रूप हो। जुन आन्दोलनसँग बङ्गाल सरकार अनि विनय र अनित जस्ता दलालहरू भयभित छन्।


नरेन्द्र काम्बाङ


बङ्गाल सरकारले गोर्खाल्याण्ड आन्दोलनलाई जरैबाट उखेल्ने हरसम्भाव असफल कोसिस गरिरहेको छ। बिमल गुरूङ लगायत हाम्रो सम्पत्ति कुड्की गरी अनि अहिले आएर निराधार र अप्रमाणित मुद्दाहरूमा पक्राउ गर्ने सुचना प्रचार गर्नु भनेको गोर्खाल्याण्ड र हाम्रा समर्थकहरूका मनोबल कमजोर बनाउने कोसिस मात्र हो।

बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले जुन तानाशाही र हैकमवाद विरूद्ध आवाज उठाएर राजनीतिक सत्ता पाए तर उनी नै अझ हिंस्रक र अराजक राजनेत्रीको रूपमा प्रस्तुत भइरहेकी छन्।

बङ्गाल सरकारको कुनै पनि कुटनीतिक चाल र हतकण्डा सफल हुने छैन। जनताको मन, आत्मा अनि दिमागमा गाडिएको मुद्दालाई छल र कुटनैतिक चालले कदाचित समाप्त गर्न सक्दैन।

हामी भूमिगत रहेपनि सदैव जनतासँग आन्दोलित रूपमा जोडिरहेकै छौं। सबै इमान्दार जनता बिकाउ छैनन्। न त उनीहरूलाई बगालसँग किन्ने औकात नै छ। यसको प्रमाण विगतको लोकसभा चुनाव अनि विधानसभा उपचुनावमा दार्जीलिङका जनताले तृणमूल सरकारलाई हराएर दिइसकेको छ।

दुई चार जना विनय र अनित जस्ता दलाल र कायरहरूलाई किनेर सम्पूर्ण गोर्खा जातिको स्वाभिमान र गरिमालाई बन्दकी सम्झनु ममता सरकारको ठूलो गलत बुझाई हो। हामी आन्दोलनकारीलाई कानुनी प्रशासनिक प्रताडना गरेर आन्दोलन समाप्त गर्छु भन्नू ममता सरकारको राजनैतिक असक्षमताको उदाहरण हो।

मुख्यगरी बिमल गुरूङ अनि हामी सम्पूर्ण भूमिगत आन्दोलनकारीहरू दार्जीलिङ आउन कसैले रोक्ने साहस गर्ने छैनन्। यसको पनि समय आउँछ।  न त त्यो बङ्गाल सरकार न प्रशासन, न दुई चार दलालहरू। कसैले रोक्न सक्ने छैनन्।  हामीले मात्र न्यायपालिकामाथि धैर्यतासाथ विश्वास गरेका छौं। न्यायापालिकालाई सम्मान गरेका छौं।  दीर्धकालिन राजनैतिक सामाधानको अवस्थालाई पर्खेका छौं।  हामीसँग लाखौं जनता र कार्यकर्ताहरूको साथ छ। उनीहरू पनि पर्खाइमा छन्।

भोलिको दिन लाखौंको भीड लिएर दार्जीलिङ प्रवेश गर्नेछौं। हामी भूमिगत हुनु र हामीमाथि प्रशासनको अत्याचार र प्रताडना हुनु नै आन्दोलनको जीवित रूप हो। जुन आन्दोलनसँग बङ्गाल सरकार अनि विनय र अनित जस्ता दलालहरू भयभित छन्।

गोर्खाल्याण्ड र बिमल गुरूङ समर्थकहरू, हाम्रा शुभचिन्तकहरूलाई जानकारी दिँदछौं न त बंङ्गाल, न त प्रशासन, न त दलालहरू कसैले पनि हामीलाई दार्जीलिङ पस्न रोक्न सक्ने छैनन्।

उनीहरूले मात्र सोझासाझा जनतालाई भयभित र कन्फुज बनाउने कोसिस गरिरहेका छन्। म जनतालाई उनीहरूको लोलोपोतोमा नलागिदिने अनि धैर्य राखिदिने अनुरोध गर्दछु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया