विशाल नाल्बो-का तीन कविता

विशाल नाल्बो मसिना कुराहरूबाट संसार र जीवनका ठूला शास्त्र केलाउने कवि हुन्। प्रेमका कविता होस् वा समाज सरोकारका, उनको आफ्नै वाग्धारा छ। युवा पुस्तामा आफ्नै अभिव्यक्ति शैली निर्माण गर्दै पहिचान बनाएका विशालको कविता क्षेत्र निक्कै अर्गानिक छ। यहाँ उनका तीनवटा कविता राखेका छौं। तीन कविताबाट नै विशालको कविताशक्ति हेर्न सकिन्छ।


 

फाली

जुन दिन अलैंचीको भाउले घोचेर मारिदियो

एक डालो सपना

हो, त्यो दिन डोको बोकेर

बजार हिँडेका बाउ

घर फर्केनन्।

 

त्यसपछि

आमालाई समाजले

विधवा घोषित गऱ्यो।

 

म स्कूलेबाट हली भएँ।

 

एक दिन आमाले नाङ्लोमा

कनिका निफन्दै थिइन्

मैले कल्पना गरें

ढोकोभरि चामल बोकेर बाउ

बजारदेखि घर फर्किरहेका होलान्।

 

हाउ ठुल्दाजु तपाईं देश बचाउँन

सिमानामा उभ्नु भो

मैले पनि देशै बचाउँन

जोतिरहें खेतबारीमा हलो

 

तर पनि किन मिल्दैमिल्दैन हँ

तपाईंको सपना बोक्ने शुटकेशको रङ

र मेरो सपना बोक्ने थुन्चेको रङ?

 

कोदालोले जीवनको अर्थ

खोस्रिँदाखोस्रिँदै चुँडियो

डल्लै जीवन हाँक्ने हल्लुँड

हेर्नु त अहिले कसरी उन्निएर मऱ्यो

हलोको फालीमा किसानहरूको

अनेक अनेक इच्छा।

 

नरेन्द्र मोदीहरूको इरिटेड भाषणले

हेर्दाहेर्दै हेर्दाहेर्दै ओइलायो

उमेरै नपुगी करेला

र इन्फेक्सन भयो ममता व्यानर्जीहरूको

पोलिटिक्स् पेनकिलरले

जनताको मूल्य बोक्ने फर्सीको बोटलाई।

 

मलाई लाग्छ

बरू यो देशमा

नरेन्द्र मोदीहरू नभएको भए

अथवा ममता व्यानर्जीहरू नभएको भए

जनताले फेर्ने थिए

एक फुङ्लो भए पनि शान्तिको सास।

 

थाहा छैन

कति बेला भाँचिन्छ जीवन थाम्ने सोइला

र कति बेला निकाल्छ

भातको भाँडाहरूले अभावको जुलूस।

 

मलाई लाग्छ

यदि प्रधान मन्त्रीको घरमा

अनिकाल पस्यो भने

के खाएर बचाउँछ सत्ता?

 

कोदोको बालाले बाँच्नु सिकाएको दिन

तोरीको सागले मलाई सङघर्ष चिनायो।

 

अहिले निर्माण भएको छ

किसानहरूको

फ्युचर फलाउने अदुवाबारीमा

प्रधानमन्त्री ग्रामीण सडक परियोजनाको

आधा कल्चो बाटो।

 

हेर्नु त दिदी

मार्केट नपाएर कस्तरी गुम्सिएर मऱ्यो

राजनीतिको गोदाममा

किसानहरूको भाग्य बोक्ने अदुवाको भाउ।

 


तिमी आएको बेला

तिमी आएको बेला

परिरहेको होस् पानी

रिसाइरहेको होस् चट्याङ

 

आँधीबेहरीले पनि यति धैरै

डर देखावोस् मलाई

कि म डराइ डराइ डराइ लुकी रहुँ

तिम्रो छातीको कटेरोमा।

 

हो तिमी आएको बेला

रिसाइरहेको होस् बतास

चम्किरहेको होस् बिजुली

सकेसम्म जावोस् भुइँचालो

कि म डराइ डराइ डराइ लुकी रहुँ

तिम्रो अङ्गालोको याक्सामा।

 

मेरो प्रिय मान्छे

म त तिमीलाई त्यति धेरै स्वार्थी माया पो गर्छु त

कि जहिले सोचिबस्छु

तिम्रो पलेटीलाई सिरानी बनाएर

गरिरहुँ जीवनको कल्पना।

 

तिमी आएको बेला

नबगोस् खोला

नगावोस् चराहरूले गीत

एक छिनलाई भए पनि

सुनसान होस् पृथ्वी

म सुनाइरहुँ तिमीलाई तिम्रो नाउँ ओकली बस्ने

मेरो छातीभित्रको ढुकढुकी।

 

मेरो प्रिय मान्छे

म त तिमीलाई त्यति धेरै झुटो माया पो गर्छु त

कि जहिले सोचिबस्छु

तिमीलाई पाएँ भने बिर्सिदिउँ दुनियाँ।

 

तिमी आएको बेला

तर

नझुकोस् तिमीलाई देख्ने बित्तिकै मेरा आँखा

दह्रोसित उभेर भन्न सकूँ

यो जीवनको दस्तावेजमा

तिम्रो हस्ताक्षर चाहियो..

 

हो, तिमी आएको बेला।

 


हरदम बिर्सने याद

मैले बिर्सिपठाएँछु

जो कहिले बिर्सिन नहुने थियो

यत्ति कुरा चाहीँ

मज्जाले याद आइबस्छ।

 

रातैभरि गाउँ घुमेर होमवर्क गर्न बिर्सिपठाएँ

टिचरको नमिठो सिर्कुना बिर्सिपठाएँ

भुटेको मकै गोजीमा हालेर

हतारसित स्कूल कुदेको बिहानी

मिसको मायालु बोली

र स्कूलको आँगनमा साथीहरूसित खेलेको अम्बलडम्बल

यत्ति कुरा चाहीँ

मज्जाले याद आइबस्छ।

 

प्रेमित

म स्कूल छँदा

कति बदमास थिएँ, हगी?

 

जहिले तेरो खातामा

नराम्रो शब्द लेखिराखेर भाग्थें

तर पनि तँ मलाई

दिइरहन्थिस् पटक पटक माफी।

 

मैले बिर्सिपठाएँछु

जो कहिले बिर्सिन नहुने थियो

यत्ति कुरा चाहीँ

मज्जाले याद आइबस्छ।

 

आमाले छाता किनिदिन नसकेर

बोरा ओढेर स्कूल गएको चिप्लो बाटो

पानीले भिजेरभिजेर नचिनिने भएको किताबका अक्षर

फाटेको जुत्ता

प्वाल परेर वारपार देखिने स्कूल हाप्पेन

फेल हुँदा खाएको

बिर्सिनसक्ने बाउको थप्पड।

 

तुम्बेहाङ

म स्कूल छँदा

कति बदमास थिएँ, हगी?

जहिले तेरो पेन्सिल चोरेर भाग्थें

तर पनि तँ मलाई

बदनाम हुनुबाट बचाइरहन्थिस् पटक पटक।

 

मैले बिर्सिपठाएँछु

जो कहिले बिर्सिन नहुने थियो

यत्ति कुरा चाहीँ

मज्जाले याद आइबस्छ।

 

मैले अक्षर चिनेको पहिलो दिन

आफ्नु नाम लेख्न जानेर मनाएको पहिलो मुस्काने उत्सव

अक्षर फट्कार्न नसके पछि

कान समाएर घुडा टेक्न बनाइएको स्कूलको चाउर

क्लासबाट भागेर

दुवाली फर्काउँदै माछा मारेको पातलो खोला।

फूलमीत

म स्कूल छँदा

कति अट्टेरी थिएँ, हगी?

जहिले तँ मलाई किताबको बीचमा हालेर

पठाइ रहन्थिस् चिट्ठी

घरि घरि गरिरहन्थे म तेरो प्रेम

अस्वीकार।

 

मैले बिर्सिपठाएँछु

जो कहिले बिर्सिन नहुने थियो

यत्ति कुरा चाहीँ

मज्जाले याद आइबस्छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया