जर्नलिस्ट एसोसिएसनले मनायो 11 औँ स्थापना दिवस: राजेन गुरुङ स्व. ललित थापा स्मृति पुरस्कारले सम्मानित

कालेबुङ, 30 जुन: जर्नलिस्ट एसोसिएसन अफ् कालेबुङले आज एउटा भव्य समारोहमाझ एसोसिएसनको 11 औँ स्थापना दिवस पालन गऱ्यो। यहाँको टाउनहलमा आयोजित कार्यक्रममा नाटककार सीके श्रेष्ठ मुख्य अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा प्रेस क्लब अफ् सिक्किमका सचिव पूरण तामाङ, जर्नलिस्ट युनियन अफ् सिक्किमका अध्यक्ष भीम रावत, नगरपालिका अध्यक्ष रवि प्रधान, गोजमुमो विमल गुरुङपक्षका कार्यकारी अध्यक्ष लोप्साङ लामा, विनय तामाङपक्षका गोजमुमो जिल्ला समिति प्रवक्ता भुवन. पी. खनाल, पूर्व सभासद् कल्पना तामाङ, नगराध्यक्ष रवि प्रधान, स्व. ललित थापाका दाजु केशर थापा, मणि ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, रिम्बोचोला पेम्बा, ज्योति कार्की आदि उपस्थित थिए।

विभिन्न सांस्कृतिक कार्यक्रमहरूसितै सम्पन्न समारोहमा एसोसिएनले वर्षैपछि प्रदान गर्दै आइरहेको स्व. ललित थापा स्मृति पुरस्कार यसवर्ष लोक सांस्कृतिक सस्थानका संस्थापक राजेन गुरुङलाई प्रदान गरियो। कालेबुङमा संस्थान स्थापना गरेर लोक संस्कृतिको जगेरा गर्नमा गुरुङले पुऱ्याएको सामाजिक योगदानको कदर गर्दै एसोसिएसनले पुरस्कृत गरेको हो।

यसका अतिरिक्त नशामुक्त समाज निर्माणको दिशामा काम गर्दै आइरहेको सामाजिक सस्था हेण्डस् अनि राष्ट्रिय राजमार्ग-10 मा दुर्घटनामा परेकाहरूको उद्दार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह हर्दै आइरहेको हिमालयन हाइवे डिजास्टर म्यानेजमेन्टलाई पनि एसोसिएसनले सम्मान जनाएको थियो।

कार्यक्रममा केटीभीका निर्देशक नरेन्द्र तामाङले पत्रकारितामाथि विचार राख्दै पत्रकारहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी एवं उनीहरूले भोग्दै आएका समस्याहरू उठान गरेका थिए। अर्कोतिर मुख्य अतिथिका रूपमा उपस्थित नाटककार सीके श्रेष्ठले यसै मञ्चबाट तृणमूल अनि भाजपालाई प्रश्न गर्दै यी दलहरूले उठान गरेको जातीय चिह्नारीको सन्दर्भमा पत्रकारहरूले पनि प्रश्न गर्नुपर्न सुझाउ राखेका थिए। पत्रकार डीबी मंगरले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता जिलास गजतराजले गरेका थिए भने एसोसिएनका अध्यक्ष सुवास श्रेष्ठ, सचिव यौवन मोथे लगायत सदस्यहरूको विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया