शिक्षक नियुक्तिमा कुनै धाँधली नभएको दावी: विनय तामाङले भने,  ‘मानिसहरूमा भ्रम फैलाएर जीटीएलाई बद्नाम गराउने प्रयास हुँदैछ’

कालेबुङ, 30 जुन: जीटीएले गरिरहेको शिक्षक नियुक्ति प्रक्रिया निष्पक्ष रूपमा भइरहेको अनि शिक्षक नियुक्ति प्रक्रियामा कुनै पनि धाँधली नभएको गोजमुमो अध्यक्ष विनय तामाङले दावी गरेका छन्। आज कालेबुङ आइपुगेका तामाङले पत्रकारहरूसित कुराकानी गर्दै शिक्षक नियुक्ति प्रक्रियालाई लिएर मानिसहरूमा भ्रम फैलाएर जीटीएलाई बद्नाम गराउने प्रयास भइरहेको बताए।

‘गीतडाब्लिङ हाइ स्कूलको बिनिता छेत्रीको मुद्दा पुरानो मुद्दा हो’-तामाङले भने, ‘यो मुद्दामा बिनिता छेत्री स्वयंले उच्च न्यायलयमा मुद्दा दर्ता गरेकी थिइन्। उच्च न्यायलयले प्रधानअध्यापकको पक्षमा निर्णय दिइसकेको छ।’

बिनिता छेत्रीले एउटा न्यूज पोर्टलमार्फत शिक्षक नियुक्तिलाई लिएर आफूमाथि अन्याय भएको खुलासा गरेकी थिइन्। यस सन्दर्भमा तामाङले विनिता छेत्री अर्कै स्कूलबाट डेपुटेसन शिक्षिकाको रूपमा गीतडाब्लिङमा आएको अनि उच्च न्यायलयले प्रधान अध्यापकको पक्षमा निर्णय दिइसकेकोले जीटीएले न्यायालयको निर्णय मान्ने अनि यसमा कुनै धाँधली नरहेको बताए।

अर्कोतिर गोजमुमो विमल गुरुङपक्षका प्रवक्ता बीपी बजगाईँले जुन शिक्षक नियुक्तिको सूचि निकालेर भाइरल गरे त्यो केवल ‘प्रारम्भिक सचि’-मात्र रहेको बताए।

‘बीपी बजगाईँले जारी गरेको सूचिमा न त मेरो हस्ताक्षर थियो, न त जीटीए मुख्य सचिवको न त डीआईको, न त जीटीए अध्यक्षको हस्ताक्षर थियो’-तामाङले भने, त्यो प्रिमिटोरी लिस्ट थियो। अहिले नियुक्ति-पत्र पाइसकेपछि भ्रष्टचार भएको छ कि छैन त्यो हेर्नुपर्छ।’

तामाङ अनुसार 14 वटा न्यू सेटअप स्कूलको निम्ति 59 जनाको नाम जीटीएले छोड्यो। पहिलेदेखिको 12 जना लेफ्ट आउट टिचरमा पनि पाउनैपर्ने शिक्षकहरूको नाम पसेको छ। भेरिफाइड टिचरहरूमध्ये 10 जना सिनियरहरूलाई दिइएको छ जसमध्ये कसैको उमेर 57 पुगिसकेको छ।

‘अहिले जुन शिक्षक नियुक्त गरिएको छ त्यसमा कुनै धाँधली छैन, यदि भएको छ भने भन्नुहोस्’-तामाङले भने, ‘अहिलेसम्म 11 सय 87 जना छोडिसक्यौँ त्यहाँ सबै पार्टीका मानिसहरूले पाएका छन्।’ तामाङले दोष लगाउनुभन्दा अघाडी राम्ररी छानबीन गर्न आग्रह गरे। ‘हामीले निष्पक्ष रूपमा काम गरेका छौँ’-तामाङले भने, ‘दोष लगाउनुभन्दा अघाडी तथ्यको जानकारी हुनुपर्छ। मानिसहरूमा भ्रम फैलाएर जीटीएलाई बद्नाम गराउने प्रयास हुँदैछ। /यो राजनैतिक प्रेरित हो।’

तामाङले कालेबुङ भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भने अनुसार मोर्चाको भातृ सङ्गठन हिल तराईँ-प्राइमेरी टिचर्स अर्गनाइजेसनको कालेबुङ जिल्ला समिति गठन भएको थिएन। यसैले आज यहाँका पाँचवटा सर्कलका प्रनिधिहरूसित बैठक गरेर अर्गनाइजेसनको पूर्ण जिल्ला कमिटी गठन गरिएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया