पेदोङस्थित कार्पेट उत्पादन केन्द्रमा अतिरिक्त जिल्लापाल अनि खण्ड विकास अधिकारीले गरे निरिक्षण

कालेबुङ, 30 जुन: कालेबुङका अतिरिक्त जिल्लापाल अब्दुल रबिक सेख अनि कालेबुङ खण्ड-2 का खण्ड विकास अधिकारी सुवर्ण मजुमदारले पेदोङमा अवस्थित कार्पेट उत्पादन केन्द्रको निरिक्षण गरे। कालेबुङको सामाजिक संस्था मणि ट्रस्टको पहल अनि पश्चिम बङ्गाल खादी एवं ग्राम उद्योग बोर्डको सहयोगमा पेदोङमा गत एक वर्षदेखि कार्पेट उत्पादन भइरहेको छ। हातेतानमाथि तीन महिने प्रशिक्षण लिएपछि स्थानीय महिलाहरूले कार्पेट उत्पादन गरेर केही हदसम्म भएपनि आर्थिक आय आर्जन गरिरहेकामा निरिक्षण गर्न गएका अधिकारीहरूले खुशी व्यक्त गरे।

अधिकारीहरूले केन्द्रको निरिक्षण गर्दै महिलाहरूको समस्या एवं केन्द्र सञ्चालन सम्बन्धी भइरहेका असुविधाहरूबारे ट्रस्टका अध्यक्ष सुवास मणि सिंहबाट जानकारी लिए।

सिंहले भने अनुसार तीन महिने प्रशिक्षणपछि खादी बोर्डलाई जमीन प्रदान गरेको खण्डमा खादी बोर्डले प्रोडक्सन सेन्टर बनाउने प्रावधान छ। तर जमीनको अभावको कारण पेदोङमा पनि ट्रस्टले भाडाको घरमा केन्द्र चलाउन बाध्य बनिरहेको छ। यसैले विभागीय पक्षबाट खादी बोर्डलाई जमीन प्रदान गर्नमा सहयोग गर्न सिंहले आह्वान गरेका छन्।

यसरी नै ट्रस्ट अन्तर्गत रहेका 2 हजार महिलाहरूलाई आर्टिजन कार्ड प्रदान गर्न पनि सिंहले माग गरेका छन्। यदि आर्टिजन कार्ट प्राप्त गर्नसके कार्पेट उत्पादनमा लाग्ने खर्च धेरै कम भएर जाने अनि लाभार्थीहरूले धेरैवटा लाभ प्राप्त गर्नसक्ने सिंहले बताए।

उनले भने, ‘अहिले कार्पेट बुन्ने धागो हामीले भुटानबाट ल्याउन परिरहेको कारण खर्च धेरै हुनेगर्छ। हामीले नेसनल हेण्डलुम डेभ्लोप्मेन्ट कोर्पेरेसनमा यान डिपोर्टको निम्ति निवेदन गरेका छौँ। यदि यान डिपोर्ट भयो भने महिलाहरूले जति धागो प्रयोग गर्छन् त्यसको 10 प्रतिशत पैसा भारत सरकारले महिलाहरूलाई नै फिर्ता दिनेगर्छ अनि धागोको खर्च पनि घटेर जान्छ। तर यान डिपोर्ट हुनका निम्ति शिल्पकारहरूसित आर्टिजन कार्ड हुनु जरूरी छ।’ निरिक्षण अवधि अतिरिक्त जिल्लापाल अब्दुल रबिक सेखले आर्टिजन क्राफ्टको निम्ति सम्बन्धित विभागहरूमा पहल गरिदिने आश्वस्त गराएको सिंहले बताएका छन्।

अतिरिक्त जिल्लापाल अब्दुल रबिक सेखले महिलाहरू स्वनिर्भर बन्नु भनेको साँचो अर्थमा परिवारको आर्थिक विकास हुनु रहेको भन्दै खादी बोर्डलाई जमीन उपलब्ध गराउदेखि लिएर विभागबाट हुनसक्ने हरसम्भव सहयोग प्रदान गर्न आश्वस्त गराएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया