संसदमा मल्ललाई दिइने श्रद्धाञ्जली : गोर्खाल्याण्ड भएपछि मात्र सहिदको कदर हुन्छ-विमल गुरुङ

कालेबुङ, 1 जुलाई


आज संसदमा मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली दिइनेछ। यसको निम्ति लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय मन्त्री किरण रिजिजुलगायत अन्य मन्त्रीहरूको उपस्थिति हुनेछ। श्रद्धाञ्जली कार्यक्रममा केन्द्रियमन्त्री डा. रमेश पोखरियाललगायत देहरादुनका सांसद माला राज्यलक्ष्मी देवी शाह पनि आउनेछन्। अल इण्डिया गोर्खा एक्स सोल्जर वेलफेयर एसोसिएसनले श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको एसोसिएसनका संरक्षक एवं पूर्व सांसद तरुण विजयले बताएका छन्।

संसदमा प्रधानमन्त्री कार्यालय अघि मल्लको प्रतिमा राखिएको छ। १ जुलाई १९१३ मा उत्तराखण्डको डोहिवाला देहरादुनमा जन्मिएका गोर्खा शहीद मेजर दुर्गा मल्लले देशलाई स्वतन्त्रता प्रदान गर्न दिएको योगदान आज स्वाधीन भारतको इतिहासमा स्वर्णाक्षरमा लेखिएको छ।

उनलाई तत्कालिन ब्रिटिश सरकारले २५ अगस्त १९४४ को दिन मात्र ३१ वर्षको युवा उमेरमा फाँसी दिएको थियो।  यता गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले यसै बारे बताउँदै भनेका छन्, ‘भारतको स्वाधीनता आन्दोलनको पहिलो गोर्खा शहीद मेजर मल्ल केवल पुज्यनीय मात्र नभएर हामीलाई राष्ट्र अनि राष्ट्र हीतको निम्ति समर्पित गराउने महान प्रेरणा स्रोत पनि हुन्।आज उनको जन्म तिथिमा म, देशको स्वाधिनताको निम्ति शहिद बनेका तमाम गोर्खा शहीदहरूलाई पनि स्मरण गर्न चाहन्छु।  भारतको एकता, अखण्डता अनि सम्प्रभुताको निम्ति गोर्खा जातिको त्याग बलिदान अनि राष्ट्रप्रेम हिजो पनि प्रगाड थियो, आज पनि छ अनि भोलि पनि रहिरहने छ।’

गुरुङले इतिहासदेखि आजसम्म गोर्खाले देशलाई दिँदै आएको अनि अब देशले गोर्खालाई गोर्खा समर्पणको कदर गरेर दिने पालो आएको जनाएका छन्।

‘ जुन दिन देशले गोर्खाको निम्ति देशभित्रै आफ्नै चारकुने आँगन गोर्खाल्याण्ड प्रदान गर्छ, हाम्रो राजनैतिक समस्याको स्थायी समाधान गर्छ, त्यस दिन मात्र देश हीतमा प्राण न्यौछावर गर्ने महान शहीदहरूको साँचो कदर हुनेछ,’ गुरुङले भनेका छन्, ‘आज मेजर मल्लको जन्म तिथिमा म देशभरि छरिएर बसेका सम्पूर्ण गोर्खा समाजलाई देश हितलाई सर्वोपरी ठानेर शहीदको सम्मान गरिदिने अपील गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया