चौरास्ताबाट फुटपाथे पसलहरू हटाइने

दार्जीलिङ, 1 जुलाई


चौरास्ता दार्जीलिङको एक मनोरम अनि पर्यटकीय स्थल हो जसलाई शान्त एवं आरामदायी स्थलको रूपमा चिनिने गरिएको छ। तर हालमा चौरास्ता परिसर वरिपरि विभिन्न फुटपाथे पसलहरू बिछ्याइने गरेकोले उक्त परिसर पनि चोकबजारजस्तो भीड़भाड़ अनि होहल्लापूर्ण स्थल बनिँदै गइरहेको जिटिए प्रमुख अनित थापाले बताएका छन्।

‘चौरास्ता परिसरको सुन्दरता अनि गरिमालाई ध्यानमा राखेर उक्त परिसरमा कुनै प्रकारको फुटपाथे पसलहरू नबिछ्याइदिने पनि हामी आह्वान गर्न चाहन्छौं,’ थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त परिसरलाई सुन्दर अनि शान्त बनाइराख्न हामी सबैको जिम्मेवारी हो। यसर्थ यस परिसलाई शान्त अनि मनोरम बनाइराख्न अथवा यसको गरिमा बचाई राख्न चाड़ै दार्जीलिङ नगरपालिका कर्तृपक्षसित पनि हामी बैठक बस्नेछौं र यस विषयमा आवश्यक पदक्षेप पनि लिनेछौं।’

थापाले भनेअनुसार सुन्दर, शान्त अनि सुसज्जित चौरास्ता जिटिएको लक्ष्य हो। यसको निम्ति जिटिएले कार्य पनि शुरू गरिसकेको छ। ‘यसको सरक्षंण अनि सम्वर्द्धनको निम्ति जनसाधारणले पनि जिम्मेवारी बुझेर हामीलाई सहयोग गरिदिनुहुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भनेका छन्, ‘चौरास्तालाई चोकबजार बन्न नदिन सबै एकजुट भएर पहल गरौं भन्ने म सबैलाई आह्वान गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया