डा. शोभाकान्ति थेगिम पुरस्कार दार्जीलिङकी कथाकार रिता ठकुरीलाई

गान्तोक, 6 जुलाई।


सिक्किमको डा. शोभाकान्ति थेगिम स्मृति ट्रस्टले सालुन्ने प्रदान गर्ने डॉ. शोभाकान्ति थेगिम स्मृति  पुरस्कार 2019 दार्जीलिङकी कथाकार श्रीमती रिता ठकुरीलाई प्रदान गरियो।  पुरस्कारको निम्ति उनको कृति ’कोलाहलभित्रको स्पन्दन’-लाई छानिएको थियो। राजधानी गान्तोकस्थित टाशी नाम्ग्याल सरकारी उच्चतर माध्यमिक स्कूलको प्रेक्षालयमा आयोजित कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए भने उनकै बाहुलीबाट उक्त पुरस्कार प्रदान गरिएको हो।

डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति संस्थान सिक्किम, गान्तोकद्वारा आयोजित यस कार्यक्रममा सिक्किमबाट साङ्गितिक क्षेत्रमा योगदान पुर्‍याउने 12 जना वरिष्ठ गायक तथा संगीतकारहरूलाई ’सङ्गीत सम्मान 2019’-ले सम्मानित गरिएको थियो। पुरस्कार अलङ्करण समारोहपछि आफ्नो वक्तब्यमा मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले यस्ता कार्यक्रमहरूले सिक्किमेली साहित्य र नेपाली भाषाको उत्थानमा योगदान पुर्‍याउने बताए। सिक्किम भारतमा विलय पछिका मुख्यमन्त्रीहरू स्व. एलडी काजी, स्व. नरबहादूर भण्डारी, सञ्चमान लिम्बू, बीबी गुरुङ अनि सिक्किमलाई सबैभन्दा लामो समयसम्म सञ्चालन गर्ने पूर्व मुख्यमन्त्री पवन चामलिङको कार्यलाई सम्झँदै उनले भने, पूर्व मुख्यमन्त्रीहरूले सिक्किमलाई यहाँसम्म ल्याउन पुर्‍याएको योगदानको सराहना गर्छौं।

मुख्यमन्त्रीले सिक्किमका भाषाविद् र साहित्यकारहरूलाई सरकारको एकै परिवार भएर काम गर्ने अपील गर्दै सबै मिलेर सिक्किमको हितमा काम गर्नुपर्छ भने। साहित्यिक सांस्कृतिक आदि कामहरूमा कुनै राजनीतिक हस्तक्षेप नगर्न र सरकारबाट पनि कुनै संघ संस्थामाथि राजनीतिक दबाउ नहुने आश्वासन दिँदै साहित्यिक संस्थानहरू स्वतन्त्र रहेर काम गर्नसक्ने बताए। उनले भने, साहित्य र अन्य संस्थानहरू स्वतन्त्र मञ्च हुन् त्यसैले यसमा कसैलाई बोलाउँदा पनि कुनै आपत्ति छैन।

अर्कोतिर मुख्यमन्त्री गोलेले आफूले साहित्यिक अनि सरकारी कार्यक्रमहरुमा कुनै राजनीतिक भाषणहरू नदिने जानकारी गराउँदै भने, साहित्यिक संस्थानहरू राज्यका खाँबो र मार्गदर्शक भएको कारण स्वतन्त्रसँग काम गर्नसक्ने पनि बताए।

यसरी नै पुरस्कार अलङ्करण समारोहपछि पत्रकारहरूसँग कुराकानी गर्दै यस वर्षको पुरस्कार प्रापक रिता ठकुरीले आफूलाई पुरस्कार प्रदान गरेकोमा डा. शोभाकान्ति थेगिम (लेप्चा)-स्मृति ट्रष्टप्रति आभार प्रकट गरेकी छन्। उनले आफूले यस पुस्तकले कुनै प्रकारको पुरस्कार पाउँछ भऩ्ने आशा नराखेको बताइन्। उनी आफू विभिन्न रोगले ग्रसित भएपनि आफूलाई लेखन क्षेत्रमा रूची बडेको कारण आफूले रोगी भनेर बस्न नसकेको पनि बताएकी छन्। उनले आफू रहरमा साहित्यमा पसेपनि अब पाठकहरूको प्रतिकृयाले आफूालई अझ लेख्न प्रोत्साहित गरेको अनि अब साहित्यलाई अघि बडाउन कहर लागेको पनि बताइन्।

जानकारी गराइन्छ, डा. शोभाकान्ति थेगिम (लेप्चा) सिक्किमबाट पहिलो विद्यावारिधी उतिर्ण गर्ने महिला हुन्। उनले नेपाली साहित्य र सङ्गीतमा धेरै योगदान पुर्‍याएकी छन्। उनको स्मृतिमा उनका छोराले आमा नामक गीति एल्वम पनि निकालिसकेका छन्। उक्त एल्वम पनि आज मुख्य अतिथिको बाहुलिबाट विमोचन गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया