सिक्किममा हुने एफपीएआई को इण्डियन फुटबल अवार्ड

गान्तोक, 6 जुलाई।


हिमाली राज्य सिक्किमको राजधानी गान्तोकमा देशका राष्ट्रिय अनि अन्तरराष्ट्रिय फूटबल खेलाडी र मान्यता प्राप्त प्रतिष्ठित प्रशिक्षकहरूको निम्ति इण्डियन फूटबल अवार्ड २०१९-को आयोजन हुने भएको छ। सिक्किमको नामी संस्थान फूटबल प्लेयर्स एसोसिएसन (एफपीएएस) र फूटबल प्लेयर्स एसोसिएसन अफ इण्डियाको संयुक्त पहलमा आयोजन हुने उक्त अवार्ड कार्यक्रम सिक्किममा पहिलोपल्ट भइरहेको छ। आगामी २१ जुलाईको दिन राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजन हुने यस कार्यक्रममा अन्तरराष्ट्रियस्तरका अनि आईएसएल खेलाडीहरू र देशका नामी अनि प्रतिष्ठित प्रशिक्षकहरू उपस्थित रहनेछन्। यसै विषयलाई लिएर आज प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै एफपीएएस-का अध्यक्ष तथा भारतीय राष्ट्रियस्तरका फूटबल खेलाडी निर्मल छेत्रीले यो कार्यक्रम सिक्किममा पहिलोपल्ट आयोजन हुन गइरहेको बताए। वार्षिकरूपमा आयोजन हुँदै आइरहेको उक्त अन्तरराष्ट्रिय कार्यक्रममा सिक्किमलगायत भारतका नामी खेलाडीहरूले सहभागिता जनाउने र यो कार्यक्रम आयोजन गर्न पाउनु सिक्किमको निम्ति गर्वको विषय रहेको पनि बताए।

अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ विदेशी फूटबल खेलाडी, सर्वश्रेष्ठ प्रशिक्षक, सर्वश्रेष्ठ भारतीय उन्मिदा खेलाडी, सर्वश्रेष्ठ भारतीय खेलाडी अनि फ्यान प्लेयर्स अफ दि इयर २०१९-छानिनेछन्। उक्त पाँच वर्गमा प्रदान गरिने अवार्ड कार्यक्रममा भीरतीय फूटबल टिमका कप्तान सुनिल छेत्रीलगायत अन्य राष्ट्रिय अनि अन्तरराष्ट्रिय फूटबल खेलाडीहरू उपस्थित रहनेछन्। अर्कोतिर सिक्किमे फूटबल प्रेमीहरूको निम्ति कार्यक्रम आयोजक समितिले स्टार्स अफ सिक्किम र फूटबल प्लेयर्स एसोसिएसन अफ इण्डियाबीट प्रदर्शनी फूटबल म्याच पनि आयोजन गरिने अध्यक्ष छेत्रीको भनाइ छ। प्रदर्शनी खेलमा भारतीय फूटबलका पूर्व कप्तान भाइचुङ भोटिया पनि राष्ट्रिय अनि अन्तरराष्ट्रिय खेलाडीहरूसँग मैदानमा उत्रिने सम्भावना रहेको छ भने फूटबल प्लेयर्स एसोसिएसन अफ इण्डियाको पक्षबाट भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्रीलगायत टीम रहनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया