जीटीए अध्यक्ष अनीत थापाद्वारा जिल्ला अस्पतालको निरिक्षण: मृतक परिवारलाई नोकरी दिने आश्वासन

कालेबुङ, 6 जुलाई: कालेबुङ जिल्ला अस्पतालमा विषाक्त सुइको कारण मर्नेको सङ्ख्या बढ्न शुरू भएपछि अन्तत: जीटीएले पनि यस घटनालाई गम्भिरतासित लिन शुरू गरेको छ। विषाक्त इन्जेक्सनको कारण गत 3 जुलाईका दिन 37 वर्षिय बीरबहादुर तामाङको मृत्यु भइसकेको छ भने हिजो मात्र तक्लिङ निवासी लामा कर्म तोप्गे पनि सिलगढी नर्सिङ होममा मृत्यु भएपछि जीटीएले यस घटनालाई लिएर गम्भिरता देखाएको छ।

घटनाबारे बुझ्न जीटीएका अध्यक्ष अनीत थापा आज स्वयं कालेबुङ जिल्ला अस्पताल आएका थिए। जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तालाई पनि साथमा लिएर आएका थापाले शुरूमा अस्पताल प्रशासनसित अलग्गै बैठक गरेर घटनाबारे जानकारी लिए। यसपछि उनले पीडित अनि अस्पतालपक्षसित संयुक्त बैठक गरेर बैठकको निष्कर्ष सुनाए।

उनले ज्यान गुमाउनेहरूप्रति क्षमा माग्दै उनीहरूका परिवारलाई जीटीएद्वारा नोकरी दिने आश्वासन दिए। यसबाहेक जतिपनि उपचाराधिन विरामीहरू हुन् उनीहरूले यदि कुनै पनि नीजि नर्सिङ होममा उपचार गराउन चाहे यसको सम्पूर्ण खर्च जीटीएले नै बेहोर्ने अनि आवस्त गराए।

‘हामी ज्यान गुमाउनेहरूलाई नयाँ जीवन त दिन सक्दैनौँ तर उनाहरूसित क्षमाप्रार्थी छौँ’-थापाले भने, ‘यो घटना हुनमा अस्पतालपक्ष दायी हुनसक्छ अथवा नहुन पनि सक्छ यो टेक्निकल चिज हो। म्यानेजमेन्टले पनि कसैको ज्यान जावोस् भनेर सोचको हुँदैन।’

यद्यपि उनले अस्पतालको कतिपय कुराहरूमा कमि पाएको अनि त्यसलाई सिस्टममा ल्याउन पब्लिक रिप्रेजेन्टेटिभ बडी बनाउने आश्वस्त गराए। अस्पतालमा भएका कमि कमजोरीहरूबारे निगरानी गरेर व्यवस्थित गराउनमा पब्लिक रिप्रेजेन्टेटिभ बडीले कम गर्ने अनि यसका निम्ति चाँडै जीटीएले अधिसूचना जारी गर्ने थापाले बताए। यसका अतिरिक्त जीटीएको पहलमा नै आज पश्चिम बङ्गाल सरकारले इन्क्वाइरी टिम कालेबुङ पठाएको अनि यस टिमले चाँडै घटनाको जाँच गरेर यथार्थ रिपोर्ट सरकारलाई बुझाउने पनि थापाले बताए। यसबाहेक कालेबुङ अस्पतालको असुविधालाई ध्यानमा राख्दै जीटीएले राम्रो एम्बुलेन्स पनि प्रदान गर्ने बताए।

आजको बैठकमा जीटीए अध्यक्ष अनीत थापा, जीटीए मुख्य सचिव सुरेन्द्र गुप्त, जीटीए सदस्य सञ्चबीर सुब्बा, जिल्ला स्वास्थ्य अधिकारी निरूपम सेन एवं पीडित परिवारका सदस्यहरू उपस्थित थिए।

अर्कोतिर हिजो मृत्यु हुने कर्म तोप्गे लामा पक्षमा बोल्दै लामा लाक्पा शेर्पा अनि उनका परिवारका सदस्यहरूले पनि अस्पतालपक्षको लापार्वाहीको कारण नै  कर्म तोप्गे लामाको मृत्यु भएको आरोप लगाए। इन्जेक्सन लगाएपछि सिकिस्त बनेका लामालाई उपचारका निम्ति सिलगढी लान उनीहरूले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गरेपनि अस्पतालले मनाही गरेको उनीहरूले आरोप लगाए। यस्ता घटना बारम्बार दोहोरिन नदिन उच्च स्तरीय जाँच गराएर दोषीहरूलाई कार्यवाही हुनपर्ने उनीहरूले माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन