पैह्रोको चपेटमा परेर दुइको मृत्यु

दार्जीलिङ, ८ जुलाई


आइतबारदेखि लगातार परेको पानीको कारण सुकेपोखरी नजिक पुटुङ फाटकमा गएको पैह्रोले पुरेर कुमार लोप्चन (६०) र बाल कुमारी लोप्चन (५५)-को मृत्यु भएको छ।

घरमाथि सोह्रिएर आएको पैह्रोको चपेटमा परी दुवैको मृत्यु भएको बताइएको छ। कुमार लोप्चन र बालकुमारी लोप्चन पति-पत्नी हुन्। पैह्रोले यी दम्पतिको घर पनि पूर्ण रूपले क्षतिग्रस्त भएको छ।

जोरबङ्ग्लो पुलिस थाना सूत्रले बताएअनुसार यो सोमबार बिहान २ देखि २:३० बजेबीच भएको हो। घटनाको खबर पाएलगत्तै जोरबङ्ग्लो थानाका पुलिसकर्मी र अग्निशमन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। तत्कालै उनीहरूले पति-पत्नीलाई दार्जीलिङ सदर अस्पताल पुऱ्याइएको थियो, जहाँ डाक्टरले दुवैलाई मृत घोषित गरे।

यसैबीच, पैह्रोको घटनाबारे थाहा पाएपछि आज बिहान गोर्खाल्याण्ड टेरिटोरियल एड्निमिस्ट्रेशन (जीटीए) –का प्रशासक अनित थापाले पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरी क्षयक्षतिको जानकारी लिए। अर्कोतिर, रिम्बिक-लोधोमाका विभिन्न ठाउँमा पनि साना-ठूला धेरै पैह्रो गएको जानकारी प्राप्त भएको छ। ती पैह्रोहरूले केही घरलाई आंशिक क्षति पुऱ्याएको बताइएको छ।-जनसंवाद

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया