बिमल गुरुङको गोर्खाल्याण्ड

यथार्थ

कवि – लेखकहरु केही लेख्न अघि आफ्नो पेट छाम्छन् – दुई चार पत्रकार वाहेक अन्य पत्रकारहरु यो पार्टी र त्यो पार्टीमा विभाजित छन् र जसले “वाई – वाई” को झोल खुवाँउछन् उसकै गुणगान गर्दै रिपोर्ट लेख्छन् – छाप्छन्। शिक्षक – शिक्षिकाहरु आफू बन्दी जस्तो बनेर स्वतन्त्रताको पाठ पढ़ाउँदैछन्। समाजिक कार्यकर्ताहरु आ – आफ्नो जातगोष्ठी – थर – गोत्र अनि धर्मको सङ्गोष्ठी गर्नुमा व्यस्त छन्। नागरिक मञ्च – जन जागरण मञ्च त कुन चराको नाम भएको छ यहाँ। मानव अधिकार र महिला अधिकारको निम्ति दिल्ली पर्खनु पर्छ – के यस्तै हो हाम्रो दार्जीलिङ?  के यस्तै हो हाम्रो पहाड़ तराई अनि डुवर्स? के यस्तै हो हामीले चाहेको गोर्खाल्याण्ड?


देव खम्बु राई।


लोकसभा चुनाव अनि विधानसभा चुनावको परिणाम हाम्रो गठबन्धनको पक्षमा भयो। हाम्रा सासंद राजु बिष्टले संसदमा राम्रै तर्कहरु पेश गरिरहेका छन्। वर्तमान सरकारले पनि हाम्रो सांसदलाई संसदमा बारम्बार बोल्ने मौका दिइरहेको छ। जो हामी गोर्खालीको निम्ति राम्रो सङ्केत मान्न सकिन्छ।

फेरि अहिले नै सांसदले गोर्खाल्याण्डको निम्ति यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्नु पनि हतार गरेको जस्तो हुन्छ कारण सरकार गठन भएको धेरै भएको छैन – राजनीतिमा हतार गर्नु भनेको असफलता निम्ताउनु हो। धैर्य राजनीतिको मूल मन्त्र मानिन्छ।

मैंले यहाँ हाम्रो विधायक निरज जिम्बासँग गोर्खाल्याण्डको कुरा जोड्न मुनासिब ठानिन कारण तिनले भर्खरै दिएको एक विज्ञप्तिमा गोर्खाल्याण्डको निम्ति तिनले पनि राजु बिष्टलाई नै जिताएको दावी गरेका छन्।

विधानसभामा गोर्खाल्याण्डको मुद्दा उठाउनु नमिल्ने मनसाय व्यक्त गरेका छन्। जे होस्, हाम्रा विधायक निरज जिम्बाले दार्जीलिङ पहाड़को जनताको निम्ति क्षेत्रीय समस्याहरु समाधान गर्लान् भन्ने आशा साँचौं।

गोर्खाल्याण्डको विषयमा कुरा गर्दा मलाई अहिले यो गोर्खाल्याण्ड केवल बिमल गुरुङको निम्ति मात्र चाहिएको गोर्खाल्याण्ड हो कि! जस्तो लागिरहेको छ। बिमल गुरुङ अहिले दार्जीलिङ पहाड़मा उपस्थित छैनन् र गोर्खाल्याण्डको मुद्दा पनि त्यहाँ न्युन छ। आज दार्जीलिङ पहाड़ तराई डुवर्सदेखि टाढ़ो रहेर पनि दार्जीलिङ पहाड़ तराई डुवर्सको निम्ति बिमल गुरुङले नै गोर्खाल्याण्डको मुद्दा बचाइराख्नुपर्ने अवस्था छ।

हामी सबै गोर्खाल्याण्डको कुरा त गर्छौं तर गोर्खाल्याण्डको निम्ति कुनै जिम्मेवारी लिन पछि सर्छौं। गोर्खाल्याण्डको निम्ति के गर्न सक्छौं?  भन्ने प्रश्नको अघि सँधै मौन बस्छौं। साँच्चै भनौं भने हामीले संवेदनहिनताको पराकाष्ठा पार गरिसकेका छौं। हाम्रा मान्छेहरु बेघर हुँदा – हाम्रो मान्छेहरुको घर कुड्की हुँदा – निर्दोष मान्छेहरु पक्राउ गरिँदा हामी केवल रमिता हेरिरहन्छौं – हेरिरहन्छौं।

कवि – लेखकहरु केही लेख्न अघि आफ्नो पेट छाम्छन् – दुई चार पत्रकार वाहेक अन्य पत्रकारहरु यो पार्टी र त्यो पार्टीमा विभाजित छन् र जसले “वाई – वाई” को झोल खुवाँउछन् उसकै गुणगान गर्दै रिपोर्ट लेख्छन् – छाप्छन्। शिक्षक – शिक्षिकाहरु आफू बन्दी जस्तो बनेर स्वतन्त्रताको पाठ पढ़ाउँदैछन्। समाजिक कार्यकर्ताहरु आ – आफ्नो जातगोष्ठी – थर – गोत्र अनि धर्मको सङ्गोष्ठी गर्नुमा व्यस्त छन्। नागरिक मञ्च – जन जागरण मञ्च त कुन चराको नाम भएको छ यहाँ। मानव अधिकार र महिला अधिकारको निम्ति दिल्ली पर्खनु पर्छ – के यस्तै हो हाम्रो दार्जीलिङ?  के यस्तै हो हाम्रो पहाड़ तराई अनि डुवर्स? के यस्तै हो हामीले चाहेको गोर्खाल्याण्ड?

अहिलेको सन्दर्भमा गोर्खाल्याण्ड त केवल बेकारी दाजु – भाई – दिदी – बहिनीहरु र समाजको निम्न वर्गीय परिवारहरुको निम्ति मात्र मागेको जस्तो भइरहेको छ। हुने खानेहरु – बोल्न सक्नेहरु दाएँको गोरु जस्तो हलीले जसो जसो भन्यो त्यसै गर्ने भएका छन्। सरकारी कर्मचारीहरुको त कुरै नगरौं – तोदे ताङ्ता जस्तो दुर्गम क्षेत्रमा स्थान्त्तर हुने डर जो छ। दुई चारजना डाक्टरहरु – वकिलहरु बाहेक अन्य डाक्टरहरु – वकिलहरु आफ्नो फिस भन्दा माथि उठ्न नै सकेनन्।

यस्तो अवस्थामा पनि बिमल गुरुङले गोर्खाल्याण्डको मुद्दा बचाइराख्ने जोखिम लिइरहेकै छन्। उनले बचाइराखेको गोर्खाल्याण्डको मुद्दा केवल उनको मात्र नभएर हामी दार्जीलिङ पहाड़ तराई डुवर्सवासी सबैको हो भन्ने भावना हामीमा जाग्नु आवश्यक छ।

गोर्खाल्याण्ड बिमल गुरुङको निम्ति मात्र होइन मेरो निम्ति पनि हो भन्न सक्नुपर्छ। बङ्गालको शासन र शोषण बिरुद्ध तृणमूल काङ्ग्रेसको उम्मेद्वारलाई चारलाख भन्दा बढ़ी मतले परास्त गरेर पनि दार्जीलिङ पहाड़ तराई अनि डुवर्समा जनताले भनेको जस्तो प्रशासनिक सुविधा पाउँदैन भने दार्जीलिङ पहाड़ तराई अनि डुवर्समा चुनाव अघिको वातावरण नै कायम रहन्छ भने त्यो दोष केवल सरकारको मात्र होइन हामी जनताको पनि हो – यो कुरा स्वीकार गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया