सिक्किम गइरहेको बाहन झऱ्यो बाघपुलमा: चालकसितै दुई पर्यटक निखोज

कालेबङ, 10 जुलाई: पर्यटक लिएर सिक्किम गइरहेको इनोभा क्रिस्टा गाडी बागपुल नजिक दुर्घटना भएर टिस्टा नदीमा झर्दा चालक लगायत दुईजना पर्यटक निखोज बनेका छन्। खरसाङ महकुमा अन्तर्गत राष्ट्रिय राजमार्ग-10 को सेभोक पुलिस पोष्टको अधिनस्थ पर्ने बागपुल नजिक डब्ल्यूबी 73-2940 नम्बर भएको इनोभा क्रिस्टा गाडी एउटा गोलाईमा अनियन्त्रित भएर करीब 150 फिट तल नदीमा झरेपछि गाडीसितै चालक अनि दुई पर्यटक नदीमा लापत्ता बनेका छन्।

मुख्य गरी बागपुल क्षेत्रमा केही दिनदेखि लगातार पैह्रो आइरहेको छ। जसले गर्दा सडकमा थुप्रिएको माटोमा चिप्लिएर बाहन अनियन्त्रित हुँदा टिस्टा नदीमा झरेको हुनसक्ने चालकहरूले बताएका छन्।

उक्त गाडी हिमालयन ट्राभलको रहेको बताइएको छ जो राजस्थानको दम्पती पर्यटक लिए सिक्किमतर्फ गइरहेको थियो। घटनाको समय दुवै तर्फबाट आउन-जाने बाहनहरूको लामो ताँती थियो।

पुलिसले सूचना पाएपछि एनडीआरएफ एवं कालेबुङबाट राफ्टिङ टोली घटनास्थलमा पुगेर राहत एवं बचाउ कार्यमा जुटेको छ। घटनालाई केन्द्र गरेर खरसाङ पुलिसका एसडीपीओ पिङ्की दत्ता एवं करीब 40 बचाउ कर्म घटनास्थलमा पुगेका थिए। घटनास्थलबाट चालकको आधार कार्ड एवं भोट कार्ड प्राप्त भएको छ। गाडीका चालक सिलिगुढीका भानु नगर निवासी राकेश राईको रूपमा चिह्नित भएको छ। समाचार लेखुञ्जेलसम्म एनडीआरएफ एवं राफ्टिङका बचाउ कर्मी नदीमा गाडी खोज्नमा जुटेका छन्। यद्यपि जलस्तर धेरै भएको कारण सम्भवत: चालक लगायत दुई पर्यटकको बाँच्ने आशा भने कम रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया