पैह्रोले थुन्यो रोङ्गोको मूल सडक:  दुई दिनदेखि 4 हजार मानिसहरू प्रभावित

कालेबुङ, 12 जुलाई: लगातारको वर्षाको कारण रोङ्गोको यातायात सम्पर्क पूर्ण रूपमा ठप्प बनेको छ। जीटीएको 45 नम्बर समष्टि अन्तर्गत पर्ने रोङ्गोदेखि विभिन्न ठाउँहरूमा जाने मूल सडकको तीनवटा ठाउँमा पैह्रो आएर सडक थुनिएको छ। सडक थुनिएको दुई दिन बितिसक्दा समेत पैह्रो खोल्ने काम भएको छैन। पैह्रोको कारण रोङ्गोका 4 हजारभन्दा धेर मानिसहरू सोझो रूपमा प्रभावित बनेका छन्।

रोङ्गो निवासी पारस खवासले दिएको जनकारी अनुसार बुधबार राती 45 अनि सङ्गम गाउँ बीचमा पैह्रो झरेपछि रोङ्गोको यातायात ठप्प बनेको थियो। उक्त पैह्रोले बाधित बनेको रोङ्गोको मूल सडकमा आज राती परेको पानीको कारण थप नयाँ दुईवटा पैह्रो गएको छ।

रोङ्गो ग्राउण्ड गाउँ र सङ्गम गाउँको बीचमा ठूलो पैह्रो झरेको छ भने रोङ्गो दोकान डाँडामा पनि पैह्रो झरेर सडक बाधित भएको छ। स्थानीय फिरोज गुरुङको घर पनि उक्त पैह्रोको चपेटमा परेको छ।

रोङ्गोको सडक बाधित बनेको कारण स्थानीयहरू, विरामीहरू, विद्यार्थीहरू साथै आम मानिसहरू प्रभावित बनेका छन्। मुख्य गरी रोङ्गोको सडक बनिएको एक वर्ष पूर्ण छैन तर सडकको अवस्था भने जीर्ण बनिसकेको छ। सडकमा आवश्यक नालाहरू नबनिएको अनि भित्तामा देवालहरू पक्का नबनाएको कारण नै लगातार पैह्रो गइरहेको स्थानीयहरूको आरोप छ।

सडक बाधित भएको 24 घण्टा बितिसक्दा समेत सडक खुलाउने दिशामा कुनै पहल भएको छैन। जीटीए 45 नम्बर समष्टिका गोजमुमो नेता सन्दिप कुलुङले चाँडै जेसीबी पठाएर सडक सुचारू गराउने आश्वश्त गराएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया