जय क्याक्टसलाई भाइचन्द पुरस्कार अनि निरज थापा पूर्ण राई स्मृति पुरस्कारले सम्मानित

कालेबुङ, 13 जुलाई: नेपाली साहित्य अध्ययन समितिद्वारा आज 205 औँ भानुजयन्ती पालन गरियो। यस अवसरमा कवि जय क्याक्टसलाई भाइचन्द पुरस्कार अनि कथाकार निरज थापालाई पूर्ण राई स्मृति पुरस्कार प्रदान गरियो।

समितिद्वारा यहाँको सप्तश्री ज्ञानपीठ प्रेक्षागृहमा आयोजित समारोहमाझ आदिकवि भानुभक्त आचार्यको 205 औँ जन्मजयन्ती पालन गरियो। कार्यक्रममा मुख्य आकर्षण रहेको यसवर्षको 15 औँ भाइचन्द स्मृति पुरस्कार रोङ्गो सिन्कोना बगानका कवि जय क्याक्टसलाई प्रदान गरियो। रोङ्गोमा रहेर लामो समयदेखि नेपाली साहित्य सृजना गरिरहेका जय क्याक्टस नेपाली साहित्यमा कवि अनि समालोचका रूपमा स्थापित नाम हुन्। उनलाई कतिवा सङ्ग्रह ‘शब्दयात्रा’-का निम्ति अध्ययन समितिद्वारा भाइचन्द पुरस्कारले सम्मानित गरिएको हो।

यस अवसरमा कार्यक्रममा विशेष अतिथि फानोस सादा, भाइचन्द प्रदान परिवारपक्षबाट सञ्चय प्रदान एवं समितिका अध्यक्ष ज्ञान सुतारको बाहुलीबाट नगद राशी, प्रशस्ती-पत्र स्मृति चिह्न एवं दोसल्ला ओडाएर सम्मान जनाइएको थियो। यसरी नै नेपाली साहित्य अध्ययन समितिद्वारा प्रकाशित साहित्य सङ्केत पत्रिकामा प्रकाशित कथा सङ्ग्रह ‘बीएमडब्ल्यू’-का निम्ति निरज थापालाई यसवर्षको पूर्ण राई स्मृति पुरस्कारले सम्मानित गरियो।युवा पुस्ताका चर्चित कथाकारमध्येका एक निरज थापाको कथासङ्ग्रह ‘कथायाम प्रकाशित छ। उनलाई समितिका अध्यक्ष ज्ञान सुतारको बाहुलीबाट दोसल्ला ओढाएपछि अतिथि जोग चामलिङद्वारा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा भाइचन्द पुरस्कार प्रापक जय क्याक्टले सम्बोधन गर्दै आफ्नो निम्ति आज धेरै खुशीको दिन रहेको भन्दै समितिप्रति आभार प्रकट गरे।

कार्यक्रममा कवि टिका भाइद्वारा कवि भानुभक्तामाथि वार्ता प्रस्तुत गरिएको थियो भने विभिन्न स्कूलका विद्यार्थीहरूमाझ रामायण पाठ र लोकगीत प्रतिगोतिमा समप्न्न भएको थियो। समितिका सचिव बलभद्र शर्माद्वारा स्वागत सम्बोधन राखिएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम एवं आईसीएई र आईएससी परीक्षामा नेपाली विषयम सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान पनि जनाइएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया