घाँसी किनारीकृतहरूको सांस्कृतिक विम्ब हुन्- पारसमणि छेत्री

‘साहित्यले त समाजको उत्थान गर्न सिकाउँछ। साहित्यिक कार्यक्रमहरूको उद्देश्य पनि त्यही हो। भानु जयन्तीले पनि नेपाली समाजको उत्थान गऱ्यो होला तर निरन्तररूपमा अन्याय गर्न पनि सिकाएको छ,’ पारस भन्छन्। उनीअनुसार 205 वर्षदेखि हरेक जयन्तीमा भानुलाई महिमित गरियो तर घाँसीलाई भने छायामा पारियो।  ‘ठिक त्यसरी नै देशमा हामीजस्ता गोठालाहरूलाई किनारमा पारिएको छ। भाषा, साहित्य, समाज, राजनीति, संस्कृतिको गोठाला गर्नेहरू घाँसी हुन्,’उनले भने, ‘तर उनीहरूलाई नै देशले पाखा पारेको छ। पाखा पारिएकाहरूको संगठन नै गोठाला हो।’


सिलगढी, 14जुलाई


सिलगढीको मिलन मोडमा गोठाला नामकसंस्थाले घाँसी दिवस पालन गरेको छ। अघिल्लो वर्षदेखि शुरु भयो घाँसी दिवस यसपल्ट वृहतरुपमा पालन गरिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. देवी नेपाल मुख्य अतिथि रहेका थिए। नेपाललगायत साहित्यकारहरू ज्ञानेन्द्र खतिवडा, भविलाल लामिछाने र कालुसिंह रणपहेँलीलगायत विशिष्ट अतिथि रहेका थिए। उनीहरू सबैले नै भानुको जीवनमा घाँसीको महत्वबारे बोलेका थिए। मोहन ठकुरीलगायतका १० जना कविहरूले घाँसीमाथि कविता पनि सुनाए।

1998 मा जलढका उच्च विद्यालयले भानु जयन्ती मनाएको थियो। समितिले कविता प्रतियोगिता राख्यो। कविता सुनाउन एक विद्यार्थी मञ्चमा चढ्यो। कविताको शिर्षक थियो- ‘भानु तिमी नआउ, बरु घाँसीलाई पठाइदेउ।’

‘12 जुलाई 1998 को बेलुकी एक भारी घाँस काटेर, गोठमा गोबर सोरेर, दूध दुहीसकेपछि ओछ्यानमा बसेर मैले जीवनमा पहिलोपल्ट लेखेको कविता थियो त्यो,’ घाँसी दिवस मनाउँदै आइरहेका  गोठालाका सञ्चालक पारसमणि छेत्रीले भने।

कविता लेखेको 21 वर्षपछि उनै कविले सिलगडीमा आयोजना गरेका थिए- दोस्रो घाँसी स्मृति दिवस। प्रज्ञा प्रतिष्ठान काठमाडौंका सदस्य देवी नेपाल मुख्य अथिति दिन आइपुगेका थिए। ‘पहिले सुन्दा त अचम्म लाग्यो, तर जब पारसको कुरा सुने नितान्तै नौलो पहल लाग्यो। यो त नेपालले पनि पछ्याउनुपर्ने विचार रहेछ’, कार्यक्रममा बोल्दै नेपालले भने, ‘घाँसी जयन्तीको प्रस्ताव म प्रतिष्ठानसित पनि राख्नेछु।’

फरक सोचसहित भानु जयन्तीको ठिक्क अघिल्लो दिन गोठालाका सञ्चालक पारसमणि छेत्रीले अघिल्लो वर्षदेखि नै घाँसी स्मृति दिवस पालन गर्दै आइरहेका हुन्।  गोठाला एउटा संस्था हो। जहाँ, कृषक, श्रमिक, विद्यार्थी र युवाहरू सदस्य छन्। पारसमणि आफै पनि कृषक हुन्। सिलगढीमा गाई फार्म खोलेर जीविका चलाइरहेका अधिवक्ता पनि हुन्। सिलगढीकै एक न्यायालयमा आफ्नो अभ्यास पनि गर्छन् गाईगोठ पनि धाउँछन्।

‘भानुलाई त सबैले सम्झन्छन् तर भानुलाई भानु बनाउने प्रेरणा बनेका घाँसीलाई सबैले बिर्सन्छन्,’ पारसले कुरा खोले, ‘भानुभक्त त त्यतिबेला पनि उच्च वर्गकै थिए। वास्तवमा हाम्रो वर्गचाहिँ घाँसीवर्ग हो। हाम्रो वर्गको प्रतिनिधित्व भानुभक्तले होइन, घाँसीले गर्छन् । त्यसैले भानु जयन्ती मनाउनुभन्दा एकदिन अघि नै घाँसी जयन्ती मनाउन थालेका हौं।’

पारसले अघिल्लोवर्ष कोठे जयन्ती मनाएका थिए। यसपालि गाई गोठमा नै नेपालबाट अथिति बोलाएर वृहत जयन्ती मनाए।

‘नेपालमा घाँसी दिवस मनाएको थाहा छैन। सीमान्तकृत, कृषक, श्रमिक, दलितहरूको साझा वैचारिकी घाँसीले बोक्छ। यसलाई अझ व्यापक बनाइन सकिन्छ,’ यता देवी नेपालले थपे, ‘सिलगढीले ऐतिहासिक कार्यक्रम मात्र गरेन। अहिलेसम्म कहीँ देखा नपरेको साहित्यिक, सामाजिक राजनैतिक क्षेत्रमा अर्थ राख्ने घाँसी डिस्कोर्स अघि सारेको छ।’

नेपालको तर्कमा स्थानीय साहित्यकारहरूले पनि होमा हैसे थपे। ‘भानु जयन्ती त सबैले सुनेका होलान्, तर ‘घाँसी जयन्ती’ भारतीय नेपाली समाजले सुनेकै पहिलोपल्ट हो,’ ज्ञानेन्द्र खतिवडाले पनि भने। यही मेसोमा कालुसिंह रनपहेंली र भविलाल लामिछानेले पनि बोले।

पारस ठान्छन्, साहित्यिक समाजको आडम्बर बुझ्न भानु जयन्तीले पनि सहयोग गर्छ। ‘साहित्यले त समाजको उत्थान गर्न सिकाउँछ। साहित्यिक कार्यक्रमहरूको उद्देश्य पनि त्यही हो। भानु जयन्तीले पनि नेपाली समाजको उत्थान गऱ्यो होला तर निरन्तररूपमा अन्याय गर्न पनि सिकाएको छ,’ पारस भन्छन्। उनीअनुसार 205 वर्षदेखि हरेक जयन्तीमा भानुलाई महिमित गरियो तर घाँसीलाई भने छायामा पारियो।  ‘ठिक त्यसरी नै देशमा हामीजस्ता गोठालाहरूलाई किनारमा पारिएको छ। भाषा, साहित्य, समाज, राजनीति, संस्कृतिको गोठाला गर्नेहरू घाँसी हुन्,’उनले भने, ‘तर उनीहरूलाई नै देशले पाखा पारेको छ। पाखा पारिएकाहरूको संगठन नै गोठाला हो।’

पारस अनुसार घाँसी हरेक सङ्घर्षशील, परिश्रमी, कृषक, गोठालाहरूको सङ्घर्षका ‘मिथ’ हुन्। भानुभक्त जस्तै लिजेण्ड हुन्। हरेक कृषक, श्रमिक र आम मानिसलाई किनारीकृत गर्ने जुन सामाजिक संरचना छ, त्यो नितान्तै निर्दयी छ। घाँसीले भानुलाई कवि बनाए। समाज सेवा गर्नुपर्छ भन्ने विचार दिए। विचार दिने मूललाई नै समाजले अनुसरण गरेको छैन। देश विकासको जग आम मानिसहरू नै हुन् तर देशमा उनीहरूले नै असुरक्षित छन्।

‘घाँसी किनारीकृतहरूको सांस्कृतिक विम्ब हुन्,’ उनले भने, ‘भारतीय नेपाली भाषीहरूलाई एउटै मञ्चमा ल्याउनलाई गोठाला बनाइएको हो। अब दार्जीलिङभरि हरेक वर्ष घाँसी जयन्ती पालन गरिनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया