जातिलाई सङ्कट परेको बेला कालेबुङ मोर्चाले गऱ्यो रमाइलोः स्थानीय कलाकारहरूलाई पाखा पारेर बम्बइया कलाकारहरूलाई लाखौँ खर्चिने मानसिकताको कलाकारहरूद्वारा नै विरोध

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 23 मई 2017


आज बङ्गाल सरकारले बङ्गला भाषालाई अनिवार्य विषयको रूपमा कक्षा दशसम्म पढाउनपर्ने निर्णय फिर्ता गर्नुपर्छ भन्दै दार्जीलिङमा जुलुस निस्कँदा कालेबुङ  गोर्खा जनमुक्ति मोर्चा भने इण्डियन आइडलका कलाकार अङ्किता र सचिनलाई मञ्चमा उभ्याउन आतुर थियो। कालेबुङ मोर्चाको फेसबुक पेजमा अपिल नै थियो, ‘कालेबुङको बिजय जुलुसको बादमा ४ बजे इण्डियन आइडलका अङ्किता अनि सचिन मुम्बईबाट कालेबुङका गोर्खाल्यान्ड प्रेमीहरूलाई मनोरञ्जन गराउने छ। समस्त गोर्खाल्याण्ड प्रेमीहरूलाई आमन्त्रित गर्दछौं।’

बङ्गाल सरकारले बङ्गला भाषा थोपरेको विरुद्धमा दार्जीलिङमा ऱ्याली निस्किरहेको अनि पुलिस प्रशासनले प्रदर्शनकारीहरूलाई हातापाई गर्न खोज्दा तनाउपूर्ण स्थिति बनिरहेको बेला कालेबुङ गोर्खा जनमुक्ति मोर्चा  र समर्थकहरूलाई चाँहि मुम्बइया कलाकारहरूको गीतमा नाच्नु किन हतार?

यही प्रश्न आज कालेबुङ नगरमा दिनभरि सुनियो।

नगरपालिकामा भोट माग्दा ‘गोर्खाल्याण्डको लागि’ भन्ने जितेपछि रमाइलो गर्ने? सचेतहरूको यस्तो प्रश्न पनि थपिएको थियो। गोर्खाल्याण्डको निम्ति आन्दोलनको खाका तयार पार्नु त परको कुरा, बङ्गाल सरकारको  भाषिक अतिक्रमण विरुद्ध आवाज उठाउनु त परको कुरा, नगरपालिकामा जित्ने पार्षद्हरू अनि कालेबुङका मोर्चा नेताहरूलई मेला ग्राउण्ड झरेर नाच्नु पनि बाहिरको कलाकार चाहिने?

यो प्रश्न झन् दिनभरि बजार र सोसल मिडियामा छाइरह्यो।

जातिलाई सङ्कट परेको बेला नाच्नु यसै पनि मरौँमा मादल बजाउनु सरह नै हो, कालेबुङ गोर्खा जनमुक्ति मोर्चाले यही गरेको कुरा सचेत वृत्तमा आज दिनभरि नै चलिबस्यो।

कतिले मोर्चाको घरायसी मामला भनेर यो घटनालाई उति महत्त्व नदिए पनि कलाकारवृत्तमा भने अङ्किता र सचिन काण्डले ताण्डव मच्चाई सकेको थियो।

दार्जीलिङकी चर्चित गायिका अनुपमा प्रधानले त भनिन् पनि, ‘आन्दोलन हुँदा गोर्खाल्याण्डको गीत गाउने के अङ्किता र सचिनहरू थिए? गोर्खाल्याण्डको गीत गाउनुपर्दा, आन्दोलनलाई बल पुऱ्याउनुपर्दा चाँहि यहाँको कलाकार, कन्सर्ट गर्दा चाँही बाहिरको कलाकार?’

पक्कै पनि मुम्बईबाट अङ्किता र सचिनहरू ल्याएर कार्यक्रम गरेकोमा अनुपमाको रिस् होइन, स्थानीय कलाकारहरू नै बढ्ता क्षमतावान् हुँदाहुँदै उनीहरूको संरक्षण र सम्वर्धनको निम्ति कार्यक्रमहरू नगरेर बाहिरको कलाकारलाई नै पश्रय दिने मनोभावनाप्रतिको विरोध हो।

अनुपमाले त अझ भनिन्, ‘जाति र पार्टीको नाममा चौरस्तामा हुने कार्यक्रमतिर हामीलाई प्रयोग मात्र गरिन्छ, धेरै पैसा तिरेर चाँहि बाहिर कै कलाकार ल्याइन्छ, हामीले पारिश्रमिक माग्दा त उल्टै रिसाउँछन् पो, स्थानीय कलाकारहरूलाई दलेर बाहिरको कलाकार पोष्याउने मानसिकता कस्तो हो?’

अनेकौँ सङ्घर्ष गरेर स्थापित बनेका स्थानीय कलाकारहरूको क्षमतालाई सधैँ किनारीकृत गर्ने अनि रियलिटी सोले बनाएका कलाकारहरूलाई चाँहि पैसा खर्च गर्ने सबैको ‘माइन्टसेट’-माथि प्रहार गर्दै अनुपमा भन्छिन्, ‘कोही नेपाली सङ्गीतलाई समृद्ध गर्न सङ्घर्ष गरिरहेका छन्, कोही चाँहि बङ्गालको भाषिक अतिक्रमण भूलेर हिन्दी गीतमा नाच्ने?’

अनुपमाको यो प्रतिरोधले सङ्कटमा नाच्नेहरूलाई केही त भनिरहेकै होलान्। अर्कोतिर सेन्तेरेम गीतले चर्चा कमाएका गायक प्रणेश राईलाई पनि कालेबुङ मोर्चाको अचाँहिदो स्वाङ मन परेन। उनले फेसबुकमा नै लेखे, ‘मुम्बईको कलाकार त गोर्खाल्याण्डमा आएर हिन्दी गीत गाएर भए पनि आफ्नो संस्कृति, सङ्गीतको जगेरा गर्छन्। अब हामी गोर्खे कलाकार चाँहि कहाँ गएर आफ्नो सङ्गीत, संस्कृति बँचाउने?’

प्रणेशले त अझ भनेका छन्, ‘एकातिर चिनारी, अर्कोतिर बेरोजगार र भोकमरी, एकातिर भाषामाथि अतिक्रमण, अर्कोतिर आफ्नैहरूको दमन, अब कसले गर्ने  जाति/भाषा/सङ्गीत/संस्कृतिको संरक्षण?’

प्रणेशलाई पनि लाग्छ, आफ्नै ठाउँमा कलाकारहरूलाई अपमान गर्ने र नजर अन्दाज गर्ने काम भइरहेको छ। यसो त आयोजकले जो कुनै कलाकार ल्याए पनि भयो, तर आन्दोलनसित जोडिएको सबै सवालमा अनि नेपाली सङ्गीत, कलाकारहरूक संरक्षण सम्वर्धनको सवालमा आफ्नै कलाकारहरू मिचेर बाहिरको कलाकारमा लाखौँ खर्च गर्नु चाहिँ कुनै पनि कलाकारलाई पचिरहेको देखिएन।

यता आजका पुस्ताका चर्चित गायक पुष्पण प्रधानले लामै पोष्ट हालेका छन्, उनले लेखेका छन्,-

‘गीतै गाउन नपाएको त होइनौ तर यस्तो गर्दा अलि उकुसमुकुस चाँहि हुन्छ। हुन त हामीहरूले नै कलाकारको परिभाषा बिगारेका छौँ। हाम्रो लागि आजकल मौलिक गीत सङ्गीत गर्ने र खाई नखाई आफ्ना सृजनाहरू नेपाली सङ्गीत संसारलाई सुम्पने मानिसहरूलाई त खान नपाएर रहर पूरा गर्ने मात्र सम्झन्छन्। रियलिटी-सोमा गएर आउँने मानिसहरू मात्रै कलाकार सम्झन्छन् हाम्राहरू। यसैले बद्लेको हो गीत सङ्गीतमा सङ्घर्ष गर्ने मानिसहरूको मनःस्थिति र परिभाषा।
लु रियलिटी सो कै कलाकार चाहिए पनि हाम्रै नेपालीहरू पनि छन् नि। कि यिनीहरूले चिन्दैनन् Remanti Rai  Karmaa Sherpa ,Apurva TamangBanika Pradhan , Prakash Sundas Sakib,Parasmani Rai वैशाली बहिनी, प्रशान्त तामाङ, रोहित सुनार, अभिषेक गुरूङ, Nikita Cintury, स्नेहा श्री बहिनी, Anamika Mukhia Nirmal भाई..यस्तै गरी आलै छन् प्रिय साईमन,  Mahesh Sewa ।
यी कलाकारहरूको गीत कसले सुन्ने? हामी गोर्खे नेपाली कलाकारहरूलाई चाँहि कोठे मिटिङ र धन्यवाद कार्यक्रममा मात्रै? यतिबेला भोटमा पार्टीको गीत गाउने कलाकारहरूको भनाई के छ?’

स्पष्ट छ, दार्जीलिङका कलाकारहरूले अङ्किता र सचिनहरूको विरोध गरेका होइनन्, तर सचिन र अङ्किताभन्दा पनि राम्रा कलाकारहरू आफ्नोमा हुँदा हुँदै पनि उनीहरूलाई अनदेखा गरेकामा यी कलाकारहरूको गुनासो हो।

उनीहरूका फेसबुक पोष्टमा अनेकौँ लाइक र प्रतिक्रियाहरू आएका छन्, धेरैले नै कालेबुङ मोर्चाको रवैयाको आलोचना गरेका छन्।

एक त जातिलाई नै सङ्कट परिरहेको बेला कालेबुङ मोर्चाले गरेको नाचगान सचेतहरूको आलोचनाको कारण बनेको छ, अर्कोतिर स्थानीय सक्षम कलाकारहरूलाई पाखा गरेर बम्बइया कलाकारहरूलाई जनताको पैसा खर्चिने कालेबुङ मोर्चाको बुद्धिको आलोचना भइरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन