आप्पा-ले जन्माएका केही जिज्ञासा

फिल्म व्यावसायिक दृष्टिकोणले नै बनाइन्छ अनि त्यस तर्कमा हेर्ने हो भने अनमोल गुरूङले दयाहाङ राईलाई मुख्य भूमिकामा लिनु, कालिम्पोङमा आफिस भएको प्रोडक्सन हाउसद्वारा बनिएको फिल्मको रिलिज चाहीँ पहिले नेपालमा नै। त्यो पनि अति भव्य रेड कार्पेट प्रीमियर शो। थुप्रै कलाकारहरूलाई निम्त्याएर गर्नु युक्तिसङ्गत नै हो। ढिलै भएपनि भारतमा वा उनको आफ्नै गाउँ -ठाउँमा  ५ जुलाईदेखि प्रदर्शन शुरू गर्नु भयो। तर नेपालमा जस्तै भव्य प्रीमियर चाहीँ किन गरेनन्?


मोहन राज ठकुरी , घुम ।


मेरो कलेजको सहपाठी अनि आत्मीय साथी टीका भाइको फेसबुक टाईम-लाइनमा धेरै दिनदेखि एउटा कालिम्पोङबाट बन्दै गरेको अनि सन्दकपुमा छायाङ्कन भइरहेको फिल्मबारेका पोस्टहरू लछप्रै थिए।

दार्जीलिङे, त्यहीँमाथि कलाप्रेमी भएकोले कौतुहलवश धेरै कुरा टीकालाई सोधें।

‘म चाहिँ अभिनय गरेको छुइन साथी। हाम्रो अनमोल भाइलाई यसो सहयोग मात्र गरेको नि,’ टीकाले भने।  उसको फेसबुकबाटै त्यस फिल्मबारे थोरै भए पनि जानकारी पाउन थालें। उत्सुकता बढ्नु स्वाभाविक नै थियो अनि मेरो धेरै अघिदेखिको अपूर्ण एउटा अपेक्षा पनि।

केही दिनपछिघर छेउमा घाँइघुइँ चल्यो। घूम स्टेशनमा शुटिङ हुदैछ रे भन्ने।
कसैले सोधे, ‘हिन्दी कि बङाली?’
कुनि कसले भन्यो, ‘होइन हौ , नेपाली।’
मैले थपें, ‘आप्पा भन्ने होला नि कबड्डीको हिरो खेलेको?’
‘आम्बो, कसरी थाहा भयो हौ घरमा सुती सुती?,’ यस्तो प्रतिक्रिया आयो।

म बोलिन। मुसुक्क हाँसे मात्र । एक क्षणपछि मेरो भाइले दयाहाङ राईको शुटिङ हुँदै गरेको फोटो अनि केही विडियोहरू देखायो। मेरी दिदीले पनि तुलसी घिमिरेसित फोटो खिचेकी रहिछन्। भाइलाई ट्रान्सफर गरी मागी अनि भाइले पनि उनलाई गिज्याउदै भन्यो, ‘ए दा ! हाम्रो कमला दिदीले त कस्तो कि, तुलसी घिमिरे पनि नचिन्देको नि। फोटो खिच्नोस्न भन्दा, को हो यो मान्छे चाहीँ पो भन्छ। त्यो पनि उसकै छेउमा। पछि मैले दर्पण-छाया अनि दक्षिणा बनाउने मान्छे हो भन्दा पो अप्ठ्यारो मानी मानी माफी माग्दै खिचेको नि।’

दिदी हाँसी। म हाँसे। त्यहाँ भएको हामी सबै हाँस्यौ । भनौ न, आप्पाले हाम्रो छेउछाउमा अलिकति भएपनि प्री प्रोड्क्सन प्रोमोशन पायो।

समय बित्दै गयो। फाट्टफुट्ट बेला बेला टीकाकै टाइमलाइनमा आप्पाबारे खोज्ने गर्थें। कहिले पाउथें कहिले पाउथिनँ । प्रतीक्षा त थियो नै यथावत।
नभन्दै प्रायः एक साल हुँदो हो। टीका अनि मेरो अर्को फेसबुके आत्मीय मनोज बोगटीको टाइमलाइनमा आप्पाको पहिलो झझल्को झुल्कियो भिडियो गीत ‘साझ परेपछि नि लै लै….” को रूपमा।

मेरो उत्साह उथलपुथल भयो। मीठो गीत अनि सन्दकपु अनि सिंहलीलाको मनै हर्ने दृश्यले हुरूक्कै भएँ। घरको भएभरको सबैलाई देखाएँ। नजिक नभएकाहरूलाई व्हाट्सप अनि फेसबुक मेसेन्जरबाट भटाभट लिङ्क पठाएँ। भनौ न, मेरो आफ्नै फिल्म जस्तो उत्साहित थिएँ म ।

पछि सामाजिक सञ्जाल विशेषगरी युट्युबमार्फत रिलिज गरिएका अरू भिडियो लिङ्कहरू पनि त्यही उत्साहको साथ सेयर गरियो। हेर्दाहेर्दै आप्पाको ट्रेलर पनि आयो।

‘आह ! २०१९ को जुनमा चाहीँ हेर्न पाइने रहेछ,’ शरीर बिमारी नै भएपनि यो ज्यानको आप्पा फिल्म हेर्ने रहर पालेको मनले मनमनै भन्यो। अति उत्साहित आप्पाको ट्रेलर लिङ्क त झन् देश-विदेश सबतिर पठाइयो। उत्साह, अपेक्षा चरममा थियो नै। त्यही उत्साहमा मनोज बोगटी अनि टीका भाइलाई अनमोल भाइलाई मेरो अपेक्षा अघि सारिदिन भनी म्यासेज पनि गरेँ। सारे सारेनन् थाहा भएन। सायद त्यो म्यासेज अहिले पनि उनीहरूको म्यासेज बक्समतिरै होला। कि कुन्नी ?

तर , त्यसपछि चाहीँ खै के भयो कुन्नी? ट्रेलर रिलिजपछि चाहीँ कुनि के के नमिलेको जस्तो लाग्न थाल्यो। थाहा भएन के ? रिलिज डेट पनि बदलिएको भन्ने थाहा लाग्यो। आप्पाबारे अपडेट पाउनलाई टीकालाई नै सोधी हेरें, ‘सायद अहिले उनीहरूको पोस्ट प्रोड्क्सनको काम हुँदैहोला,’ टीकाले भन्यो । यसो सोचेंस हुन पनि होला, आखिर ठूलो स्केलको फिल्म हो आप्पा।

समय बित्यो। दशैं तिहार आयो। विन्टर लाग्यो।  हाम्रो घुम दार्जीलिङतिर त निक्कै हिउँ पनि झऱ्यो। नभन्दै २०१९ पनि पो लाग्यो। अब आप्पाको रिलिज हुन धेरै समय थिएन। नेपालको धेरै युट्युब च्यानलतिर नवोदित कलाकारद्वय अलोना अनि सिद्धार्थलाई लिएर अन्तरक्रियात्मक भिडियोहरू निक्कै नै अपलोड भएको वा हुनथालेको देखें।

कतिमा त आप्पा दयाहाङ स्वयं नै पनि थिए। ए, नेपालमा प्रमोसन शुरू भएछ भनेर बुझें । तर मनमनै एउटा प्रश्न उठ्न स्वाभाविक थियो, ‘हाम्रैले बनाएको फिल्म। हाम्रोतिर चाहीँ खै प्रोमोशन?’

ट्रेलर अनि अन्य उपलब्ध आप्पा सम्बन्धित लिङ्कहरूमा कताकता मिडिया पार्ट्नर भनेर हाम्रो सामाजिक सञ्जालमा निकै प्रचलित अङ्ग्रेजी पोर्टल “द दार्जीलिङ क्रोनिकल”को नाम देखेको थिएँ। त्यतैतिर यसो खङ्गाली हेरें। कुनै प्रोमोसनल लेख वा अन्तर्वार्ता देखिनँ। अहँ, पटक्कै देखिनँ। सायद गर्ला होला भनेर सोचें। अहँ गरेन। साच्चै भन्नू हो भने अलिक नरमाइलो लाग्न शुरू भयो यो दार्जीलिङे सेन्टिमेन्टल मनलाई । तरै पनि भावनालाई केही पर पन्साएर २८ जूनमा त हेर्न पाइन्छ नै भनेर उत्साहित चाहीँ थियो नै मन ।

केही वर्षअघि मात्र दार्जीलिङ कलाक्षेत्रका अग्रज श्री किरण ठकुरीद्वारा निर्मित फिल्म “तुवाँलो” दार्जीलिङको रिङ्क आइनोक्स हलमा निक्कै राम्रो प्रदर्शन भएको थियो। सबैले भक्कचुर माया दिएका थिए तुवाँलोलाई। अब आप्पा आउँदै थियो। त्यहीमाथि आप्पा त झन् ठूलो बजटको मेगा स्केल प्रोड्क्सन। आशा अनि अपेक्षा धेरै नै थियो भनौं न।

मेरो भाइले फिल्म रिलिज हुनको प्रायः ४/५ दिनअघि सोध्यो, ‘ए दा ! आइनक्समा त आप्पा लाग्दैन क्या हो ? किन ? चेन थिएटर भएर महङ्गो पर्छ होला नि? ”

मैले जाने अनुसार उत्तर दिएँ ,”हुन्छ हौ। किन हुँदैन। इन्डियन सेन्सर बोर्डको सर्टिफिकेशन चाहीँ हुनुपर्छ। नेपालकै प्रोड्क्सन हाउस भा चाहीँ कुन्नी। आप्पा त माउन्टेन स्टोरीज ,कालिम्पोङ (भारत) कै त हो। मल्टिप्लेक्समा हो , स्क्रीन चाहीँ कम्ती पाउनु सक्छ। ”

सलमान खानको किक 2 रिलिज भएकै समयमा प्रायः १० देखि १२ हप्ता सफलतापूर्वक हाउसफुल चलेको फिल्म तुवाँलोको उदाहरण पनि दिएँ। त्यही रात आप्पा टिमको प्रेस मिट्को भिडियो हेर्न जुऱ्यो।

निर्देशक अनि नायकको सम्बोधन क्रममा रिलिज डेट असार १३ गते वा भनौं २८ जुन नै थियो । म निर्धक्क भएँ। हेर्छु भन्ने सबैलाई ‘लु है आप्पा रिलिज हुँदैछ रिङ्क आईनोक्समा। हाम्रो आफ्नै फिल्म हेर्नुपर्छ है’ भनें। जीउ अलिक सन्चो भयो भने त म पनि जान्छु भनेर मनमनै गुने पनि, खुसुक्कै ।

नभन्दै आयो २८ जुन। आप्पा रिलिज हुने दिन। म त बिरामी नै थिएँ। तर थाहा थियो आप्पा रिङ्क आइनोक्समा लाग्छ भनेर। भाइ गएको थियो। बेलुका आएर भन्यो , ‘एच दा , आप्पा त लागेन नि। काउन्टरमा सोधपुछ गर्दा पनि ‘थाहा भएन’ पो भन्यो!”

विश्वास पटक्कै लागेन। व्यक्त गर्नु नसकिने निराशाजनक अनुभव थियो त्यो । मोबाइल डाटा अन गरेर बुक माय शो मा यसो हेरी हेरें। साच्चै नै हो त रहेछ । नभन्दै लेबोङ भेकको साथीको फोन आयो। मेसेन्जरमा मेसेज आयो। चिनेकै कतिपयको फोन आयो।  सबैको एउटा मात्र जिज्ञासा् , “दार्जीलिङमा आप्पा चाहीँ किन लागेन आज ? ”

कति त विचराहरू आप्पा लाग्छ भने्र सपरिवार नै गएको। अरू नै फिल्म हेरेर फर्किनु पऱ्यो पनि भने । मेरोमा उत्तर नै थिएन। भटाभट लिङ्क शेयर गर्ने वा भनौं न अनओफिसियल प्रोमोशन गर्ने म नै त थिएँ। अलिक त के , निक्कै नरमाइलो लागेर आयो। नरमाइलोपन एक क्षणपछि झोकमा परिवर्तित भयो। फेसबुक म्यासेन्जर खोलेर दार्जीलिङ क्रोनिकल, मनोज बोगटी सबलाई केरकार गरियो। थाहा लाग्यो, मनोजको अवस्था पनि प्रायः म जस्तै झुक्किएको। उ त झन पत्रकार, कालिम्पोङकै। त्यो पनि आप्पा बनाउने अनमोल गुरूङलाई पर्सनल्ली चिनेको मान्छे। कसरी झुक्कियो होला ?

दार्जीलिङ क्रोनिकलले पनि एक क्षणमा उत्तर दियो, “सर ! इण्डिया रिलिज चाहीँ ५ जुलाई रे।” किन कसरी त्यो बताउन असमर्थ उनीहरू पनि । मैले मेरो गुनासो राखेँ। सोही बापत भोलिपल्ट उनीहरूले आप्पाको रिलिज सम्बन्धित उनीहरूको पेजमा पोस्ट गरे अनि थाहा पनि लाग्यो।

म जस्तै अपेक्षित अनि प्रतिक्षारत अरू पनि रैछन्। अनमोल गुरूङको फ्रेन्ड लिस्टमा त छुइन , तरै पनि यसो उसको फेसबुक टाइमलाइन तिर घुमेँ। नेपाल प्रीमियरको फोटै-फोटो। नेपाल थिएटर समयावलीको विवरण साथै आप्पा सम्बन्धित थुप्रै ट्याग पोस्टहरू। अनमोल वाज अन क्लाउड नाइन।

उनकै एउटा पोस्टमा केही कमेन्ट गरेर एक सिनेप्रेमी दर्शकको रूपमा आफ्नो कुरा राख्ने कोशिश गरेँ। पढे वा पढेनन् थाहा भएन। किनभने प्रत्युत्तरमा लाइक/कमेन्ट केही पनि आएन। स्वाभाविक नै थियो झोक अझ सल्कनु। तर के नै गर्नु सक्थें। भोलिपल्टै आप्पाको समीक्षा नेपालका चर्चित मिडिया हाउसहरूका पोर्ट्लमा पढ्न पाइयो, ” दार्जीलिङको कामचलाउ कोसेली आप्पा” भनेर।

अर्को समीक्षा पनि त्यस्तै । मेरो एक सालदेखिको आप्पाप्रतिको अपेक्षा अनि उत्साह नराम्रोसित कहिले नउठ्ने गरी जमीनमा पछारेको थियो अवश्य नै।

कारण अर्को पनि थियो, तल बुझ्ने प्रयास गर्नुहोला।

एकछिन है ! धेरैले सोच्दै होलान मैले यो लेख चाहीँ किन लेखेको होला भनेर। के गर्नु खोजेको पनि भन्दै होलान्। यो लेख मैले न त आफ्नो झोक अनमोल गुरूङप्रति झार्न न त उ लगायत चलचित्र आप्पासित संलग्न अरू कसैप्रति द्वेष भावले हो , के मलाई आप्पा मन नपरेर हो? पटक्कै होइन । आप्पालाई म त्यतिकै माया गर्छु, जतिको अनमोल गुरूङले गर्छन्। तर एक कलाप्रेमी भारतीय गोर्खा भएर अनि विशेषगरी दार्जीलिङको भएर यसको नेपाल रिलिजपछि कतिपय कुराहरू चाहीँ मनमा बिझेका छन्, उब्जेका छन् । स्थानीय फिल्म भएकोले हाम्रो भेगका धेरै अघिदेखि गुमेर गएको परम्परालाई कतै अनमोलको “आप्पा”ले फर्काइल्याउँछ कि भन्ने आशा थियो मलाई। तर जुन कुराको डर थियो, त्यही भयो । कतिपय प्रश्न छन् जो सोध्न जरूरी छ , जरूरी ठान्छु म।

१. ठिकै होला , फिल्म व्यावसायिक दृष्टिकोणले नै बनाइन्छ अनि त्यस तर्कमा हेर्ने हो भने अनमोल गुरूङले दयाहाङ राईलाई मुख्य भूमिकामा लिनु, कालिम्पोङमा आफिस भएको प्रोडक्सन हाउसद्वारा बनिएको फिल्मको रिलिज चाहीँ पहिले नेपालमा नै। त्यो पनि अति भव्य रेड कार्पेट प्रीमियर शो। थुप्रै कलाकारहरूलाई निम्त्याएर गर्नु युक्तिसङ्गत नै हो। ढिलै भएपनि भारतमा वा उनको आफ्नै गाउँ -ठाउँमा  ५ जुलाईदेखि प्रदर्शन शुरू गर्नु भयो। तर नेपालमा जस्तै भव्य प्रीमियर चाहीँ किन गरेनन्?

२. ठिकै छ, भव्य त सकिएन होला तर कालिम्पोङ/ दार्जीलिङ अथवा कुनै पनि ठाँउमा भएपनि निमन्त्रणा गरेर सम्मानस्वरूप यहाँको (भारतीय गोर्खा) कला सर्जक , नाटककार , सिनेमा क्षेत्रका अग्रजहरू , सङ्गीतकारहरू अनि अरू विशिष्टगणलाई लिएर सानो कार्यक्रम वा प्रीमियर गर्ने सोचसम्म पनि अनमोल वा आप्पाका निर्माण टोलीलाई आएन?

३. पोस्ट प्रोडक्सन शुरू भएदेखि नै नेपालमा त्यत्रो सानो ठूलो सब मिडियालाई संलग्न गराएर आप्पाको गतिलै प्रमोशन गरेको देखियो। पढियो , तर यहाँका मिडियालाई पत्तो पनि दिइएन वा भनौ इग्नोर नै गरियो। किन ?

४. नेपाल अनि भारतमा एकै दिनमा रिलिज नगर्नुको कारण चाहीँ के प्राविधिक नै थियो त? जब कि आप्पा बनाउने माउन्टेन स्टोरिज त कालिम्पोङ ( भारत) कै प्रोडक्सन हाउस थियो। यहाँ रिलिज गर्न त झनै सजिलो हुन्थ्यो। विशेषगरी कालिम्पोङमा। चाहेको भए सकिन्थ्यो नि होइन र?

५. विथ अल ड्यु रेस्पेकट टु हिम एन्ड हिज ट्यालेन्ट , दयाहाङ राई नेपालको अहिलेको सबैभन्दा चर्चित कलाकार। सुपरस्टार। आप्पाको ब्राण्ड वेल्यु त ८० प्रतिशत उनकै उपस्थितले नै बढाएको छ भन्नमा कुनै अत्युक्ति नहोला । अनमोलले त्यही सोच राखेर उनलाई रोजे र उनले स्वीकारे पनि। धेरै राम्रो कुरो, तर के दार्जीलिङ/कालिम्पोङमा आप्पाको भूमिकालाई निभाउन सक्ने कलाकार थिएनन् त? के स्थानीय कलाकारले आप्पालाई सजीव पार्न सक्थेनन होला त? मात्र प्रश्न ?

प्रश्न धेरै छन्।, कुरा अनेकौ छन्। जो लेखिसाध्य छैन । हाम्रो भेगका कला क्षेत्रका समस्त अग्रजहरूलाई साथै अन्यलाई पनि स्मरणमा होला, अहिलेको आप्पा जस्तै ठूलो बजट्को मेगा स्केलमा दार्जीलिङबाट (त्यसताकको) धेरै अघि साल १९७७ मा पहिलो एतिहासिक नेपाली फिल्म निर्माण भएको थियो श्री प्रताप सुब्बाद्वारा निर्मित अनि निर्देशित “परालको आगो”।

जो थिएटरमा धेरै भव्यताको साथ चल्यो। त्यस चलचित्रले यस भेगमा फिल्म निर्माणका निम्ति बाटो खोल्ने काम गऱ्यो । त्यसैलाई निरन्तरता दिँदै अझ बढी जोशको साथ श्री प्रताप सुब्बाज्युले १९८२ मा दार्जीलिङबाट नै त्यसताकको बलिउड अनि नेपालबाट बन्ने फिल्महरूकै हाराहारीमा अर्को एतिहासिक अनि कलर नेपाली फिल्म बनाउनि भयो। जसले अपेक्षाभन्दा अपार माया बटुल्न सफल बन्यो।

मैले जानेअनुसार रेकर्ड प्रायः डेढ देखि दुई महिना चलेको थियो यो फिल्म। वरिष्ठतम् सङ्गीत सर्जक शान्ति ठटालज्युको सङ्गीतले सबैको मन हरर बरर बनाएको फिल्म थियो ” बाच्न चाहनेहरू”।

त्यसमा खेल्ने सबै कलाकार, गीतकार , सङ्गीतकार स्थानीय मात्र थिए। जो अहिले पनि स्वस्थ अनि जीवित छन्। कलाको सेवामा व्यस्त नै छन्।

प्रत्येकको नाम लेख्नुपरे सायद पाना नै कम होला)। विशेष , दार्जीलिङका एक वरिष्ठ कलाकार श्री किरण ठकुरी। एउटा हिरोको रूपमा स्थापित भएको फिल्म पनि थियो त्यो। लगत्तै १९८४ मा प्रकाश कोविदको प्रसिद्ध कृतिमाथि आधारित फिल्म बनियो त्यसताकका सक्षम युवा बङ्गाली निर्देशक अन्जन दासको निर्देशन अनि खगेन सुब्बाको निर्माणमा। फिल्म थियो “अर्को जन्म”।

यसले पनि अपेक्षाकृत दर्शकहरूको अपार माया अनि सराहना बटुल्न सफल बन्यो। शायद १९८६-८८ को राजनैतिक उथलपुथल पछि चाहीँ कुरा अलिक बिग्रेर गयो होला। दार्जीलिङ वा भनौं भारतबाट ठूलो बजेटको नेपाली फिल्म बन्न बन्द भयो। तथापि समय- संसाधनको अभावमा नै भएपनि कतिपयले लो बजेट तर उत्कृष्ट भिडियो फिल्महरू पनि बनाएर प्रदर्शन गरेको इतिहास आलै छ।

नाटकको इतिहास त झनै अति चाखलाग्दो अनि गौरवशाली छ।  नेपालको राजपरिवारको निमन्त्रणा अनि सान्निध्यमा ठूला प्रतिष्ठानमा यस भेगका कला सर्जकहरूको नाटकहरू मञ्चन हुन्थ्यो रे। यस्ता सुनेका कथा थुप्रै छन्। त्यसको चर्चा चाहीँ अरू कुनै दिन गरौंला ।

बुझ्नपर्ने कुरा चाहीँ के भने , माथि उल्लेखित सबै फिल्महरू दार्जीलिङमा नै बनिएर , दार्जीलिङको पुरानो रिङ्क सिनेमा अनि क्यापिटल थिएटरमा रिलिज अनि प्रदर्शन भएको थियो। पछि मात्र नेपालमा पनि यी सबै प्रदर्शित भएको थियो।

मेरो जानकारी अनुसार पछि गएर कालिम्पोङका सम्माननीय कला सर्जक अनि निर्देशक-निर्माता श्री तुलसी घिमिरेज्युले नेपाली सिनेमालाई अघिल्लो चरणमा लाने काम गर्नु भयो भनेर अग्रजहरू बताउछन् । तर दार्जीलिङ/ कालिम्पोङ वा लगायत क्षेत्रहरूबाटै चाहीँ पहिले जस्तो फिल्म बन्न सकेन ।

नेपाली फिल्महरू रिलिज चाहीँ अवश्य नै भए। नामै स्मरण गर्न पर्दा कुसुमे रूमाल , बाँसुरी , सम्झना, लाहुरे, सपना, दक्षिणा, देउता, दर्पण छाया आदि हेरेकको स्मृतिमा नै छन्। भारतकै सिक्किमबाट पनि डेनी डेन्जोङपा द्वारा अभिनित अनि उनैको दाज्यु श्री उगेन छोपेलद्वारा निर्मित चलचित्र ” साइनो “बारे याद नहुने त सायद विरलै होलान ।

तर उल्लेख्नीय कुरा के छ भने यी सबै फिल्म नेपालको विविध प्रोडक्सन अनि डिस्ट्रीब्युसन हाउसको मार्गदर्शनमा बनिएकोले गर्दा यी सबै फिल्म पहिले व्यावसायिक रूपले नेपालमा नै रिलिज भए अनि रिलिजको धेरै वा केही समयपछि मात्र भारत, दार्जीलिङ/ कालिम्पोङ अनि यस भेगका अरू गोर्खा बहुल ठाउँमा प्रदर्शन भए।

नेपालबाट बनेको यदाकदा फिल्म प्रदर्शन भएतापनि, म जस्तो धेरैलाई हाम्रो भेगमा परालको आगोबाट शुरू भएको स्थानीय सिनेमा संस्कार भने कतै न कतैबाट लुप्तप्राय नै बन्दै गइरहेको आभास भने अवश्य भएको थियो।

मेरो स्मृतिमा छैन, शायद गलत पनि हुन सक्छु तर हाम्रो भेगबाट कुनै वृहत स्तरीय नेपाली फिल्म शायदै बन्यो। हो, सफल नेपाली नाटकहरू चाहीँ धेरै धेरै मन्चन भए। सफल पनि भए। तर सिनेमाले चाहीँ दिशा पाउन सकेन। कारण पर्याप्त छन्।

त्यसपछि त आफ्नो पहाडी भेग, दार्जीलिङ, कालिम्पोङ, टोय ट्रेन, आफ्नो गाउँ-ठाउँ, डाँडा- काँडा आदि ठूलो पर्दामा हेर्न हामीले उहिले झैं बलिउडमा नै भर पर्नुपर्ने भयो। शाहरूख खानको राजु बन गया जेन्ट्लमेन, मै हु ना गर्दै रनबीर कपुरको बर्फीसम्म आइपुग्दा आफ्नो दार्जीलिङ भेग (समग्रमा पहाड ) यी फिल्महरूमा हेरेरै चित्त बुझायौं ।

साल २०१४ तिर हो , शायद मैले अनि म जस्ता थुप्रैले अनुभव गरेको कुरोको बोध एक वरिष्ठ कला सर्जक भएकोले होला उनलाई पनि थियो नै । र नै त आफ्नै अनुभवलाई अघि राखेर, आफ्नै आर्थिक लगानी अति धेरै मेहनत अनि आफ्नो अथक प्रयासलाई निरन्तरता दिँदै श्री किरण ठकुरीज्युले वहाँकै सुपुत्र युवा निर्देशक भवेशको निर्देशनमा अर्ग्यानिक स्थानीय ठूलो पर्दाको फिल्म “तुवाँलो”, रिङ्क आईनोक्समा भव्य प्रीमियर गर्नु भयो।

म जस्तै दार्जीलिङ वा भनौं हाम्रै भेगबाट बनेको सिनेमा ठूलो पर्दामा हेर्ने तलतलले व्याग्र भएको कला अनि सिनेमा प्रेमीहरूको तिर्खा तुवाँलोले मेटाउने काम अवश्यै गऱ्यो। एउटा नयाँ आशा , नयाँ उत्साहको सन्चार गऱ्यो । लाग्यो, श्री प्रताप सुब्बाले बाटो खोलिदिएका  तर भारतीय गोर्खा (नेपाली) ले गुमाउनु परेको सिनेमा संस्कार फर्केर आयो । तर अफसोस्, त्यसपछि भनेजस्तो प्रगति भएको जस्तो यस कलमकारलाई चाहीँ लागेन ।

प्रयास अनि प्रयोग नभएको चाहीँ होइन , दार्जीलिङ , कालिम्पोङ , मिरिक , खर्साङ्ग , बिजनबारी अनि अरू वरपरका सङ्लग्न क्षेत्रहरूबाट थुप्रै थुप्रै फिल्महरू पनि बनिए। तर ठूलो पर्दामा लागेन। केही फिल्महरू स्पेशल स्क्रिनीङ भने गरिए तर भने जस्तो रेस्पोन्स मिलेन। कारण थियो अव्यवस्थित अनि अपरिपक्व मार्केटिङ। अनुभवको कमी अनि कतिपयका व्यक्तिगत अरूचि पनि । अझै पनि धेरैजना लागिपरेका छन् भनेर सुन्ने गर्छु। नयाँ फिल्महरूको मुहुर्त भएको सामाजिक सञ्जालतिर देख्ने गर्छु। खुशी लाग्छ। तर सोचे जस्तो उपलब्धि भने खासै देख्न सकिएको छैन।

मेरो अनुमानमा गल्ती भए माफी चाहन्छु । यस्तैमा हाम्रो अनमोलको माउन्टेन स्टोरीजले बनाउन जमर्को गरेको “आप्पा”को चर्चा चल्यो। आप्पाले झलस्स बल्झाएको उथलपुथल, उत्साह अनि अपेक्षा झुक्किएको कथा-व्यथा त मैले यस लेखको प्रारम्भमा नै पोखिसकें , दोहोऱ्याउनु पर्छ जस्तो लागेन ।

आप्पालाई मैले यहाँ आफ्नो मन्थन राख्नको निम्ति मात्र एउटा सन्दर्भको रूपमा मात्र प्रयोग गरेको हुँ । आप्पा जस्तो चलचित्रको प्राविधिक, व्यवसायिक , सिनेम्याटिक अनि अरू पक्षहरूकोबारे लेख्न म कुनै सिनेमा विशेषज्ञ होइन । सुन्दैछु हाम्रो अनमोलको “आप्पा” अहिले नेपालमा राम्रो चल्दैछ रे। हाम्रो भेगमा लगायत सिक्किम अनि अरू भारतीय गोर्खा बहुल क्षेत्रहरूमा पनि गज्जब मज्जाले चल्दैछ। सायद यता त नेपालभन्दा हजारौं गुणा बढी उत्साह होला हेर्न जाने दर्शकहरूमा। स्थानीय हलमा जाँदा आप्पा निर्माण टोलीले त्यो माया अनि उत्साहको मीठो स्वाद ड्याम्मै चाखिसकेको छ। भिडियोहरू सामाजिक सञ्जालतिर गज्जब भाइरल भइरहेको छ।

यही त खोजेको यो मनले। स्वाभाविक पनि त हो। यत्रो लामो प्रतीक्षापछि हाम्रो भेगको थिएटर अनि मल्टी सिनेप्लेक्सहरूमा हाम्रो आफ्नैले बनाएको, आफ्नै कथा बोकेको, आफ्नै ठाउँमा छायाङ्कन भएको बिग बजेट लार्ज स्केल फिल्म हेर्नू , अग्रेजीमा भनु भने रियल ट्रीट अनि टेस्ट चेन्जर हो ।

अनमोल अनि उसको आप्पा निर्माण टोलीलाई यसको निम्ति बधाई दिनै पर्छ । तर आप्पापछि चाहीँ, के ?

कतै कालिम्पोङको अनमोल गुरूङले पनि कालिम्पोङकै तुलसी घिमिरकै पदचिन्ह पहिल्याउने त होइनन..कतै उनी काठमाडौमुखी त हुने होइनन् ? मेरो मनमा उठेको उपशन्का मात्र, गलत हुन सक्छ , तर यदि त्यस्तो भइहाले पनि चाहीँ फेरि चुक्चुकाउनु पर्ने नै त होला हामी, धेरै कुरा खेल्दैछ मनमा ।

जे होस, अहिलेसम्म जे लेखें प्रायःले सोच्दै होलान् मलाई नेपालबाट बनेको फिल्मसित एलर्जी छ होला भनेर। आखिर नेपाली फिल्म नै त हो, नेपाल , भारत जतासुकैबाट बनोस् न। हेर्न पाए भयो त होइन ?

त्यसो पनि भन्दै होलान् । एलर्जी पट्क्कै छैन। बरू नेपाली सिनेमासित मलाई कति माया अनि आत्मीयता छ सायद मेरो यो लेख पढ्दै जादा अलिकति भएपनि छनक त पाउनु भयो नै होला । फिल्म नेपालबाट बनोस् या भारतीय गोर्खा बहुल क्षेत्रहरूबाट कुनै समस्या छैन। बन्नुपर्छ । तर मलाई हाम्रो दार्जीलिङ कला क्षेत्रका अग्रजले व्यक्त गर्नु भएको एउटा अभिव्यक्तिले सँधै नै झकझकाइ रहन्छ। घरी घरी सोच्न अनि सुर्ताउन बाध्य बनाउछ। त्यो हो- हाम्रो दार्जीलिङको कलाकारलाई त नि , कि त कालले लान्छ कि त नेपालले !

छात्तीमा हाथ राखेर भन्नू हो भने त्यो चरितार्थ भएको देखेको पनि छु। देख्दै पनि छु । किन होला भनेर सोच्छु , बुझ्ने प्रयास गर्छु । उत्तर पाउछु “हाम्रोतिर त फस्टाउने मार्केट नै त छैन , मञ्च नै त छैन। अन्त नेपाल नगएर कहाँ जान्छन् त ? ”

तर प्रायः १९७७ मा शुरू भएर पनि अहिले २०१९ लागुञ्जेलसम्मपनि भनेजस्तो व्यवस्थापन अनि सम्बन्धित क्षेत्र प्रवर्द्धन हेतु मञ्च-मार्केट किन छैन? सिनेमा-क्षेत्र मात्रको कुरा होइन, कला,साहित्य,नाटय,साङ्गीतिक क्षेत्रमा अहिले त झन संसाधनयुक्त, बहुप्रतिभाशाली, क्षमतावान अनि समर्थ कला सर्जकहरूले भरिएको छ हाम्रो भेग । दार्जीलिङकै एक कला सर्जक सविता संकल्पले हालै निधन भएका अनि दार्जीलिङ कला जगतले राम्रो स्याहार अनि सम्मान दिन असमर्थ बनेका बहुप्रतिभामुखी गायक दाजु स्वर्गीय हेमन्त नयनमा समर्पित एक श्रद्धाञ्जली लेखमा लेख्छिन्-’स्थानीय कलाकारहरूका एउटै मञ्च, स्थानीय सर्जकहरूका एउटै परिधिभित्र एउटै मञ्च भएर एकार्काका ढाल, एकार्काका आत्मबल, एकार्काका सहयोगी भए दार्जीलिङलाई पहाडकी रानी मात्र होइन सुनकी खानी पनि बनाउन सकिन्छ। दार्जीलिङ बहुमुखी प्रतिभाले भरिएको एउटा यस्तो स्थान हो जसले कलाक्षेत्रको इतिहासमा महत्त्वपूर्ण अनि छुट्टै स्थान ओगटेको छ। गीत-सङ्गीत, साहित्य अनि कलाक्षेत्रका विविध कलाकारको साझा अनि छुट्टै मञ्च बनाएर हेरौं त , कसले छुन सक्दो रहेछ।’

हो, मैले भन्न खोजेको पनि त्यही हो।  मेरो गुनासो पनि त्यही हो। मेरो चाहना पनि त्यही हो। कलाका कुनै पनि विधासित सङ्लग्न भारतीय गोर्खा (नेपाली) सर्जकहरूको साझा मञ्च हुन जरूरी छ । राजनीतिक, व्यक्तिगत विचारमा विभेद हुन सक्ला तर स्थानीय कलाका हरेक विधा, हरेक क्षेत्रहरूको सृजन, पोषण, प्रवर्द्धन अनि प्रोत्साहनको निम्ती हाम्रो भेगका सम्पूर्ण कला सर्जक एक हुन अनि एकधारामा आउन जरूरी छ ।

त्यही एकधारामा आउन नसकेकोले पनि हामी चुक्ने गर्छौ। अरूतिर भर पर्ने गर्छौ अनि आफ्नो मुल्याङ्कन गर्न बिर्सनु थाल्छौं वा सिधै भन्नू हो भने आफ्नो कला- सृजनलाई बन्दकी राख्न पुगेको हुन्छौं ।

हुन त म पहिलेदेखि नै सोच्ने गर्थे, यस्तै गन्थन, गनगन, गुनासो, अपेक्षा आदि मैले चिनेका धेर-थोर कला सर्जकहरूसित साझा पनि गर्ने गर्थें। कतिले स्वीकार गर्थे। कतिपयले हाँसोमै टारीदिन्थे। हुन पनि मेरो कला सृजनामा खासै योगदान नभएकोले पनि होला। तर , दार्जीलिङको खाटी गोर्खे त्यहीँमाथि एक इमोशनल कलाप्रेमी म यस्तो नै छु। रहने पनि छु। त्यही इमोशनको लिखित अभिव्यक्त अनि उद्गार हो यो लेख।

मेरो यो लेखलाई कसले, कसरी लेलान् कुन्नि ? मेरो कुराको सुरा पनि बुझ्लान्-नबुझ्लान् कुन्नी? तर उहिलेदेखि नै नेपालसितै मिलेर मात्र, नेपालको व्यावसायिक बजारलाई मात्र सघाउने, काम गर्ने बानी परिसकेका हाम्रा कला-सर्जकहरूको पुरानो परम्परालाई चाहीँ अब अपडेट गर्ने बेला आएको छ ।

नेपालका कलाकार, कृति, साङ्गीतिक कोसेली, सिनेमा सबैलाई लिन पर्छ। साटासाट, साझेदारी अवश्य हुन पर्छ। तर अब हाम्रो, हाम्रै भेगमा हाम्रै निम्ति आफ्नै प्रवर्द्धन अनि व्यवस्थापनको साझा मञ्च हुन पर्छ। बजार हुन पर्छ। नत्र चाहीँ हामी आ-आफ्नो लोकल च्यानल, फेसबुक पोर्टल अनि युट्युब भिडियो च्यानलको लाइक, सबस्क्राइब अनि शेयरसम्म मात्र सिमित बनेर जान्छौं ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया