भाजपाले गोर्खाहरूलाई फेरि पनि लट्याइरहेको आरोप: अनीत थापाले भने, ‘ कसै न कसैले जनतालाई सत्य कुरा बुझाउन निस्किनैपर्छ’

कालेबुङ, 17 जुलाई: ‘यहाँबाट गोर्खाल्याण्ड भनेर जितेर गए अनि जानेबित्तिकै उनीहरूले रङ्ग बल्दिन थाले। भर्खरै भाजापा राज्य अध्यक्षले पनि खुलेआम  गोर्खाल्याण्ड हाम्रो मुद्दा होइन भनेर भने। त्यसको अर्थ गोर्खाहरूलाई लट्याउने काम भएको हो। यसैले कसै न कसैले व्यवहारिक चिज के हो भनेर सत्य कुरा जनतालाई बुझाउन निस्किनैपर्छ।’

उपरोक्त कुरा गोजमुमो महासचिव एवं जीटीए अध्यक्ष अनीत थापाले भनेका हुन्। आज उनी साङ्गठनिक कार्यक्रम लिएर पार्टी कार्यकर्ताहरूसित बैठक गर्न कालेबुङ आएका थिए। उनले यहाँको ग्राह्म्स होम्सस्थित सार्वजनिक भवनमा कालेबुङ जिल्लाका 13 वटै समष्टिका पार्टी प्रतिनिधिहरूसित बैठक गरे। लोकसभा चुनाउमा हारपछि कार्यकर्ताहरूलाई निराशा उत्पन्न हुन नदिन उनले दोस्रोचोटी कालेबुङ आएर जिल्लाभरिका कार्यकर्तासित बैठक गरेका हुन्। बैठकमा उनले सङ्गठनलाई मजबुत बनाउन कार्यकर्ताहरूको भूमिकाबारे अवगत गराउँदै पार्टीमा शिक्षितहरूलाई स्थान दिनुपर्ने सुझाए।

‘पार्टीमा विस्तारै हामी फेरबदल ल्याउँदैछौँ’-बैठकपछि थापाले भने, ‘जे-जस्तै भएपनि समाजलाई शिक्षितहरूको खाँचो हुन्छ। म आफै पनि काम गर्दा शिक्षित व्यक्तिहरूलाई अघि राखेर काम गर्ने गर्छु। यदि हाम्रो समाजलाई राम्ररी दोहोऱ्याउन हो भने शिक्षितहरूलाई अनुरोध गरेर भएपनि उनीहरूलाई अघि ल्याउनु जरूरी छ।’

उनले राजनीति गर्नु मात्र महत्त्वपूर्ण होइन तर पहाडलाई राम्रो बनाउने सोच राख्नुपर्ने आह्वान गरे।

यस क्रममा उनले 2 वर्षमा 1 लाख 2 हजार भोट बट्लुनु भनेको धेरै ठूलो कुरा रहेको अनि मोर्चाले नयाँ अध्याय शुरू गरेको बताए। उनले यदि  सरकारसित मिलेर काम गरेन भने पहाडको निम्ति केही गर्न नसक्ने कुरा दोहोऱ्याए।

‘मैले व्यवहारिक राजनीति गर्छु भन्ने सोच राखेर नै अघि आएको हुँ’-थापाले भने, ‘यो सोचमा म कहीँ फेल भएको जस्तो लाग्दैन।’

उनले यतिबेला चुनाउ जित्ने भाजपाका नेताहरू होइन तर आफूहरू नै अघि आएर कार्य गरिरहेको बताए।

‘पहाडमा धेरै ठाउँमा भल-पैह्रो गयो, टिस्टामा पर्यटकहरू ढुबेर त्यत्रो ठूलो काण्ड भयो, तपाईँहरूले भोट जितेर गएको नेतालाई पाउनुभयो कि सरकारले मनोनित नगरेको नेता पाउनुभयो?’-थापाले भने, ‘मानिसहरूले यत्रो दुःख पाइरहेका छन्, राजु विष्टले यति धेरै भोट पाएर जितेर गए तर हामी नै जनतासम्म पुग्यौँ अनि टिस्टामा पनि हामीले सरकारलाई चिट्ठी लेखेकै कारण सेना उतारियो।’

उनले भाजपाले चुनाउ जितेर गएपछि रङ्ग बल्दिन शुरू गरेको भन्दै आफूहरूले सत्यता बुझाउँदै 2 वर्षमा 1 लाख 2 लाख भोट पाएको अनि यो सङ्ख्या बढेर जाने दावी गरे। उनले भाजपाले धोका दिँदैगरेको बुझेर नै गोरामुमोका शीर्ष नेता जेबी तामाङ समेत विनय-अनीतकै सिद्धान्त मन पराएर गोजमुमोमा सामेल भएको थापाले दावी गरे।  आजको साङ्गठनिक बैठकअवधि गोजमुमो कालेबुङ जिल्ला समितिका संयोजक सञ्चबीर सुब्बा, नगरपालिका अध्यक्ष रवि प्रधान, गोजमुमो केन्द्रिय समिति सदस्य रुदेन सादा, प्रवीण रहपाल, नारी प्रमुख प्रमुख कल्पना तामाङ, युवा मोर्चा सचिव अमीर बस्नेत लगायत विभिन्न भातृ सङ्गठनका प्रतिनिधिहरू एवं समष्टि कमिटीका प्रतिनिधिहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया