मैलाको स्थायी समाधान खोज्न सक्दैन भने नगरपालिकामा बस्ने अधिकार छैन-जाप: नगरपालिका हात बाँधेर बसेको छैन, जापले खोजीदियोस् जमीन-नगराध्यक्ष रवि प्रधान

विज्ञापन

कालेबुङ, 22 जुलाई: ‘नगरपालिकाले जति नै राम्रो काम गरे पनि यदि फोहोर हटेन भने त्यसको कुनै औचित्य हुँदैन। त्यसैले नगरपालिकाले झट्टभन्दा झट्ट फोहोर उठाउने व्यवस्था गर्नुपर्छ। नगरपालिकाले मैला व्यवस्थापनको स्थायी समाधान खोज्न सक्नुपर्छ। यदि स्थायी समाधान खोज्न सक्दैन भने त्यहाँ बस्ने अधिकार पनि छैन।’

उपरोक्त कुरा जन आन्दोलन पार्टीका टाउन कमिटी प्रवक्ता आनन्द लामाले भनेका हुन्।  दुई महिना लामो समयदेखि कालेबुङ शहरमा अव्यवस्थित रूपमा रहेको मैलाको स्थायी व्यवस्था हुनुपर्ने भन्दै आज जन आन्दोलन पार्टीले पत्रकार सम्मेलन डाकेको थियो। यसै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आनन्द लामाले यदि मैलाको स्थायी समाधान गर्न सक्दैन भने नगरपालिकामा बस्ने अधिकार नरहेको बताएका हुन्।

‘नगरपालिकाको प्रमुख उद्देश्य भनेको शहरको स्वास्थ्य अनि स्वच्छता हो’-लामाले भने, ‘नगरपालिकाले त्यही काम नै गर्न सकेन भने अरू काम काम गर्नु सक्दैन।’

जन आन्दोलन पार्टीले नगरपालिकालाई सुझाउ दिँदै अझ भने,  ‘हामी विरोध मात्र गर्दैनौँ, हामी जिम्मेवार पार्टी भएकोले सहयोग पनि गर्छौ। कुनै स्थायी समाधान छ र हाम्रो सहयोग चाहिन्छ भने हामी सहयोग गर्न तयार छौँ।’

दलमान गाउँमा रहेको अहिलेको डम्पिङ ग्राउण्ड एकदमै गलत ठाउँमा रहेको अनि नगरपालिकामा मैला जम्मा गर्नको सट्टा अहिलेको निम्ति अस्थायी रूपमा 3 माइल क्षेत्रमा गर्न सकिने जापले सुझाएको छ।

अर्कोतिर नगरपालिका अध्यक्ष रवि प्रधानले जापको वयानको प्रतिक्रिया दिँदै उल्टै जापलाई स्थायी समाधानको निम्ति जमीन देखाइदिन सुझाएको छ।

‘कालेबुङ तपाईँको पनि हो, हाम्रो पनि हो’-जापलाई प्रतिक्रिया दिँदै प्रधानले भने, ‘जापले मैलाको कुरा उठाएको छ, जापले नै एउटा यस्तो ठाउँ खोजीदिनुहोस्, जुन ठाउँ सँधैको लागी स्थायी समाधान होस्। हामीलाई एउटा निर्धारित ठाउँ मिलाइदिए कालेबुङको निम्ति एउटा ठूलो समस्याको समाधान हुन्छ।’

प्रधान अनुसार नगरपालिकाको मैलाको समस्या 2007 देखिको हो। त्यसबेला ब्रिटिसकालीन फोहोर फ्याँक्ने ठाउँमा प्रतिबन्द लगाउँदा आवाज उठाइएन। नगरपालिकाले 4 महिनादेखि विभिन्न प्रणालीहरू अप्नाएर मैला व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ। मानिसहरूलाई दैनिक रूपमा सचेतना प्रदान गर्ने काम हुँदैछ, सङ्गोष्ठीहरूको आयोजना गरिरहेको छ। नगरपालिका हात बाँधेर नबसेको प्रधानको तर्क छ।

‘एकदिन नगरपालिकाले मैला नउठाउँदा शहरको कस्तो अवस्था हुन्छ त्यो सबैलाई थाहा छ’-प्रधानले जापलाई प्रश्न गर्दै भने ‘नगरपालिकाले नगरेको भए चार महिनामा कस्तो अवस्था हुन्थ्यो?’

लखनाउबाट कम्पोजिट मसिन र इन्सिलेटर ल्याउन कागजपत्र चलिरहेको अनि अहमदाबादबाट मानिसहरू आएर छुट्टाएको मैला लगेको अनि भोली पुन: 7 टन मैला गुजरात पठाइरहेको प्रधानले जानकारी गराउँदै नगरपालिकाले अहिलेको निम्ति अस्थायी राहत दिइरहेको दावी गरे।

स्मरण गराइन्छ, यसअघि भालुखोप दलमान गाउँमा मैला फ्याँक्ने काम हुँदै आएको थियो। तर क्षेत्रबासीहरूले उक्त ठाँउमा मैला फ्याक्नमा प्रतिबन्ध लगाएपनि शहरमा मैला व्यवस्थानको विषय जटिल समस्या बन्दै गएको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया