
खरसाङ, 24 जुलाई: सोनादा पुलिसद्वारा यहाँको खोङखोलाबाट आज बिहान एक मृत देह उद्दार गरिएको छ। बिहान लगभग 11 बजेतिर स्थानीय मानिसहरूले खोङखोलामा एक मृत देह तैरिरहेको देखेपछि तत्कालै सोनादा पुलिस आउटपोष्टलाई सूचना दिएका थिए। त्यसैको आधारमा सोनादा पुलिस आउटपोष्टको बड़ाबाबु सोमन विश्वासको अगुवाईमा एसआई उमेस छेत्री, एसआई फुर्बा पाख्रीन् आदिको तत्परतामा मृत देह घटनास्थलबाट उद्दार गरेका छन्।
उक्त उद्दार गरिएको मृतदेह सोनादाको रातोमाटे निवासी पदमबहादुर मुखियाका सुपुत्र गोपाल मुखिया (लगभग 24 वर्ष ) भनी चिन्हित गरिएको छ। उक्त मृत देह पोष्टमोर्टमको लागि दार्जीलिङ पठाइएको र पोष्टमोर्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्तो लाग्न सक्ने साथै मृत देह परिवार पक्षलाई सुम्पिने पनि जानकारी प्राप्त भएको छ। यस घटना विषयमा पुलिसले अझैं जाँच गरिरहेको पनि पुलिस सुत्रबाट थाहा लागेको छ।