एनआरसीलाई लिएर फेरिपनि गोजमुमोको चिन्ता: विनय तामाङले भने, एनआरसी लागु भए  गोर्खाल्याण्ड  भएपनि आफ्नो हुँदैन

कालेबुङ, 25 जुलाई: एनआरसीलाई लिएर फेरिपनि गोर्खा जनमुक्ति मोर्चाले चिन्ता व्यक्त गरेको छ। भारतीय जनता पार्टीको केन्द्रको सरकारले पश्चिम बङ्गालमा एनआरसी लागु गर्नसक्ने पहल गरेदखि यता राज्यको सत्तारूढ दल तृणमूल कङ्ग्रेस लगायत पहाडको विनय तामाङ नेतृत्वमा रहेको गोजमुमोले बारम्बार एनआरसीलाई लिएर चिन्ता व्यक्त गरिरहेको छ।

‘अहिले हामीले गोर्खाल्याण्ड भन्दा पनि पहिला एनआरसीबारे बुझ्नुपर्छ’-आज कालेबुङ आइपुगेका गोजमुमो अध्यक्ष विनय तामाङले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘यदि एनआरसी लागु भयो भने गोर्खाल्याण्ड नै भएर पनि त्यो गोर्खाल्याण्ड अरूकै निम्ति बनाएको जस्तो मात्र हुन्छ।’

लोकसभा चुनाउपछि पहिलोपल्ट आज विनय तामाङ कालेबुङ आइपुगेका थिए। सङ्गठनलाई सशक्त बनाउने उद्देश्यले कालेबुङ आएका तामाङले यहाँको मल्लीरोडमा अवस्थित दलीय कार्यकर्ताहरूसित बैठक गरे। कालेबुङ जिल्ला अन्तर्गत 13 वटै समष्टिका प्रतिनिधिहरू अनि जिल्ला समितिका प्रतिनिधिहरूको उपस्थिति सम्पन्न सभामा साङ्गठनिक गतिविधिमाथि चर्चा-परिचर्चापछि तामाङले पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

यसैअवधि गोर्खाल्याण्ड सम्बन्धी प्रसङ्गमा बोल्दै उनले एनआरसीमाथि चिन्ता व्यक्त गरेका हुन्। आफ्नो ठाउँ अनि आफ्नो जमीनको कागपत्र ठिक बनाउने दिशामा काम गर्नु आजको अनिवार्यता रहेको उनले बुझाए। आगामी अगस्त देखि यस मुद्दामाथि पार्टीले ठोस् पद्क्षेप लिएर काम गर्ने पनि तामाङले बताएका छन्।

दुईदिनसम्म कालेबुङ बसेर 27 जुलाईका दिन 10 माईलको शहीद पार्कको कार्यक्रममा सहभागी बन्न आएका तामाङले शहीदलाई लिएर राजनीति नगर्न आह्वान गरे। विशेष गरी गोजमुमो कालेबुङ जिल्लाका युवा संयोजक तोप्देन भोटियाले आफूहरू मात्र साँचो गोर्खाल्याण्डप्रेमी रहेको भन्दै विनय तामङहरूले गर्ने शहीद दिवस कार्यक्रमलाई झुटो शहीद दिवस भनेर व्याख्या गरेकोमा तामाङले प्रतिक्रिया दिए।

‘शहीदको न जात हुन्छ न धर्म हुन्छ सहीदको सही सम्मान गर्नुपर्छ’-तामाङले कलकत्ताको शहीद दिवसमा पनि आफूले यही कुरा भनेको बताउँदै भने, ‘शहीदको प्रति श्रद्धाञ्जली जसले पनि जुनै पनि रूपमा गर्नुसक्छ। उनीहरूले अन्यले गरेको डुप्लिकेट आफूहरेल गरेको अरिनिजल भन्दैछन्। शहीदलाई सम्मान प्रत्येक घर, सङ्घ-संस्थाले गर्नुपर्छ। उनीहरूले हाम्रै भविष्यको लागी प्राणको आहुती दिएको थियो, शहीदलाई लिएर राजनीति गर्नु उचित होइन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन