खरसाङ महाविद्यालयमा भानुको स्मृतिमा वृक्षारोपण

खरसाङ, 25 जुलाई:  बुधबार खरसाङ महाविद्यालय परिसरमा एनएसएस, एनसीसी र भूतपूर्व विद्यार्थी सङ्गठनको तत्वधानमा भानु स्मृति वृक्षारोपण कार्यक्रम सम्पन्न भयो। जुलाई महिना प्राय: नेपाली भाषी स्थानहरूमा भानुजयन्ती हर्सोल्लासका साथ मनाइन्छ भने यसपाली खरसाङ महाविद्यालयले वृक्षारोपण गर्दै भानुलाई स्मरण गऱ्यो। कार्यक्रमको उद्देश्यबारे विद्यार्थीहरूका समूहलाई सम्बोधन गर्दै एनएसएस प्रोग्राम अफिसर प्रा.योगेश खातीले भने, भानुभक्त नेपाली भाषी जनमानसका निम्ति बलियो जरा हुन् अनि त्यही जरामा हाम्रो समाज, भाषा, साहित्य साथै विचार विमर्श दह्रो भएर गाडिएको छ। उनलाई स्मरण गर्दै आज यी पौधाहरूका जरा माटोमा रोप्नु आफैआफमा प्रतीकात्मक एवम् सान्दर्भिक कुरा हो।

यसरी नै महाविद्यालयका प्राचार्य डा.समीर बलले आफ्नो सम्बोधनको क्रममा विद्यार्थीहरूलाई व्यक्तिगत आचरण एवम् सामूहिक जिम्मेवारीमाथि ध्यान दिनुपर्ने कुरा बताए। सामूहिक जिम्मेवारी समाज, राष्ट्र एवम् विश्वकै निम्ति खुबै आवश्यक कुरा रहेको उनले बताउँदै आज वृक्षारोपण कार्यक्रम आदि कवि भानुभक्त आचार्यलाई स्मरण गर्दै गर्नु पनि एउटा सामूहिक जिम्मेवारी रहेको बताए। यस कार्यक्रमपछि सबै मिलेर बिरूवाहरूको देखरेख खरसाङ महाविद्यालयका विभिन्न क्लबहरूले जिम्मा लिनुपर्ने पनि उनले बताए। उनले कार्यक्रम सफल एवम् अर्थपूर्ण बनाएकोमा सम्पूर्ण विद्यार्थीहरू लगायत शिक्षक समूहलाई धन्यबाद दिँदै प्रत्येक वर्षझैँ यसपाली पनि बिरुवाहरू प्रदान गराइदिने स्थानीय फरेष्ट अधिकारी एडीएफओ  ग्याछो योल्मोलाई पनि विशेष धन्यबाद प्रकट गरे। कार्यक्रममा नयाँ सेमिस्टरका विद्यार्थीहरू, एनसीसी, एनएसएसका विद्यार्थीहरू लगायत यस महाविद्यालय पक्षबाट एनएसएस अधिकारी प्रा. सृजना राई, नेपाली स्नातकोत्तर विभागकी अध्यक्षा प्रा. तारा लोहार, इतिहास विभागकी अध्यक्ष डा. शेरा पण्डी मलोमु लगायत अन्य शिक्षण तथा भूतपूर्व विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू पनि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया