32 वर्षपछि कालेबुङ आर्ट्स एण्ड क्राफ्टलाई पुनर्जीवित गरिँदै: सोसाइटीले ब्याङ्कलाई तिर्नुपर्ने ऋण मणि ट्रस्टले दिने

विज्ञापन

कालेबुङ, 26 जुलाई: 122 वर्ष लामो इतिहास बोकेको कालेबङको ऐतिहासिक धरोधरको रूपमा स्थापित कालेबुङ आर्ट्स एण्ड क्राफ्ट 32 वर्षपछि पुर्नजीवित हुँदैछ। यहाँका मानिसहरूलाई हस्तशिल्पमाथि प्रशिक्षण दिएर स्वनिर्भर बनाउने उद्देश्यले 1897 सालमा क्याथरिन ग्राहम्सद्वारा स्थापित गरिएको कालेबुङ आर्ट्स एण्ड क्राफ्टको भवन 1987 सालको आन्दोलनअवधि जलाएर तहस नहस पारेपछि कालेबुङ आर्ट्स एण्ड क्राफ्ट सोसाइटी लगभग मरणासन्न अवस्थामा थियो।

कालेबुङको सामाजिक संस्था मणि ट्रस्टको पहलमा 32 वर्षपछि पश्चिम बङ्गाल खादी एवं ग्राम उद्योग बोर्डले कालेबुङको आर्ट्स एण्ड क्राफ्टलाई पुनर्जीवित गराउन सक्रियता देखाएको छ। यसैले आज कालेबुङ जिल्लापाल डा. विश्वनाथको निर्देशमा जिल्ला प्रशासन, मणि ट्रस्ट, दार्जीलिङ जिल्ला सहकारी ब्याङ्क, सम्बन्धित निकायहरू अनि वृद्ध अवस्थामा पुगिसकेका सोसाइटीका पुराना सदस्यहरूमाझ सभा सम्पन्न भएको थियो। सभामा लामो छलफलपछि  कालेबुङ आर्ट्स एण्ड क्राफ्ट सोसाइटीलाई पुनर्जीवित गराउने निर्णय लिएको छ। सोसाइटीलाई पुनर्जीवित गराउन सोसाइटीका पूर्व अध्यक्ष समेत रहिसकेका मङ्गल राईले एकजना सदस्यका रूपमा आगामी 7 दिनभित्र अर्को बैठक बोलाउनेछन्।

ट्रस्टका अध्यक्ष सुवास मणि सिंह अनुसार युनेस्कोमा हेरिटेज साइट भनेर मान्यता समेत पाइसकेको कालेबुङको आर्ट्स एण्ड क्राफ्टलाई पश्चिम बङ्गाल खादी अनि ग्राम उद्योग बोर्डले रुरल क्राफ्ट हब अन्तर्गत पुनर्जीवित गराउने प्रयास गरिरहेको छ। दुई वर्षदेखि बोर्डले विभिन्न ठाउँहरूमा प्रशिक्षण दिइरहेको छ अनि ठाउँ-ठाउँमा प्रोडक्सन सेन्टर पनि खोल्ने प्रावधन छ। यी सबैलाई देखरेख गर्न आर्ट्स एण्ड क्राफ्टको पुरानै ठाउँमा कमन फेसिलिटी सेन्टर बनाउने भनेर ट्रस्टले दिएको प्रस्तवलाई खादी बोर्डले मानिलिएको छ। तर उक्त ठाउँमा भवन बनाउनका निम्ति आर्ट्स एण्ड क्राफ्टले ब्याङ्कबाट लिएको ऋण बढेर 24 लाख रुपियाँ पुगिसकेको जो ब्याङ्कलाई फिर्ता गर्नुपर्ने हुन्छ। तर सरकारले जमीन सम्बन्धी राशी दिने कुनै पनि योजना छैन। यसैले जब आर्ट्स एण्ड क्राफ्ट पुनर्जीवित हुन्छ तब सोसाइटीको आफ्नै ब्याङ्क एकाउन्ट खोलिएपछि ट्रस्टले आफ्नै कोशबाट उक्त ऋण सोसाइटीलाई प्रदान गर्ने भएको छ। सोसाइटीले ट्रस्टबाट उक्त राशी पाएपछि ब्याङ्कको ऋण चुक्ता गरेमात्र भवन बनिनु सम्भव रहेको सिंहले बताएका छन्।

‘कालेबङको आर्ट्स एण्ड क्राफ्ट भनेको कालेबुङको धरोधर हो अनि यसलाई पुनर्जीवित गर्नु ट्रस्टको पनि सपना हो’-सिंहले भने, ‘यसैले ट्रस्टले यसलाई पुनर्जीवित गराउन हरसम्भव सहयोग गर्नेछ।’

यदि आर्ट्स एण्ड क्राफ्टको पुन: अस्तिवमा आएर कमन फेसिलिटी सेन्टर बनिएको खण्डमा त्यहाँ प्रशिक्षण एवं बिक्री व्यवस्थापन केन्द्र मात्र होइन आर्ट्स एण्ड क्राफ्ट म्यूजियम अनि जातीय खानपान पाउने फुटकोड बनाइनेछ। यस केन्द्रलाई पर्यटकीय केन्द्रको रूपमा पनि स्थापित गरिने मणि ट्रस्टको योजना रहेको सिंहले बताए।

आजको बैठकमा डिस्ट्रिक्ट प्लानिङ अफिसर प्रितम लिम्बु, मणि ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, आर्ट्स एण्ड क्राफ्टका पूर्व अध्यक्ष मङ्गल राई, माकपा नेता तारा सुन्दास, अधिवक्ता राजीव पराजुली एवं दार्जीलिङ सहकारी ब्याङ्कका अधिकारी एवं सम्बन्धित निकायका अधिकारीहरूको विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया