जीटीएले 12 सय 47 शहीद परिवारलाई नोकरी दिने, विनय तामाङले भने, ‘ ‘शहीद भनेको राजनैतिक दलभन्दा पनि माथि हुन्छ’

कालेबुङ, 27 जुलाई: जीटीएले 1986 को गोर्खाल्याण्ड आन्दोलनदेखि, मार्गेट्स होप चियाबारीका शहीद अनि भाषा आन्दोलनका शहीद हुँदै 2017 सम्मका सबै शहीद परिवारलाई सरकारी नोकरी दिने घोषणा गरेको छ। कालेबुङको 11 माईलमा अवस्थित शहीद दिवस कार्यक्रममा प्रमुख रूपमा उपस्थिति दिन आएका गोजमुमो अध्यक्ष विनय तामाङले शहीद परिवारका निम्ति नोकरीको घोषणा गरेका हुन्।

‘सब् अर्डिनेट सेलेक्सन बोर्डमा ग्रुप बी, सी अनि डी मा नियुक्त गर्ने क्षमता छ’-नोकरीको घोषणा गर्दै तामङले भने, ‘अन्य विभागहरूमा पनि धेरैवटा रिक्त स्थान छ। दार्जीलिङ हिल युनिभर्सिटीमा मात्र 3 देखि 4 हजारले रोजगारको अवसर पाउनेछन्। यत्रो पद हुँदाहुँदै हामीसित 1247 जना शहीद परिवार छन् जसले योग्यता अनुसार आवेदन गर्नुहोस्। हुन त शहीदको बलिदानको निम्ति नोकरी पर्याप्त नहोला तरैपनि शहीदहरूको सही सम्मानको निम्ति गोजमुमो अनि जीटीएले नोकरी दिने तुच्छ अटोट गरेको छ।’

सब् अर्डेनिट सेलेक्सन बोर्ड गठन गर्न अर्डर समेत आइसकेको कारण नोकरी दिनमा ढिलाइ नहुने तामाङले आश्वस्त गराएका छन्।

विशेष गरी आज गोजमुमोले शहीद दिवस कार्यक्रम आयोजना गरेको थियो। यस क्रममा गोजमुमो अध्यक्ष विनय तामाङ लगायत नगरपालिका अध्यक्ष रवि प्रधान, मोर्चा जिल्ला समितिका महासचिव गायत्री मुखिया, नारी मोर्चा जिल्ला अध्यक्ष कल्पना तामाङ लगायत पार्टी प्रतिनिधिहरू, विभिन्न सामाजिक संस्थाहरू एवं शहीद परिवारद्वारा शहीदलाई श्रद्धाञ्जली अर्पण गरियो। यस क्रममा एनसीसी क्याडेटद्वारा सलामीसितै विभिन्न धर्म गुरुहरूद्वारा प्रार्थना सभाको पनि आयोजना गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा प्रमुख रूपमा उपस्थित विनय तामाङले शहीद दिवस छुट्टाछुट्टै नभएर सबै राजनैतिक दलहरूले एकैठाउँमा गर्न आह्वान गरे।

‘शहीदको न त जात हुन्छ, न त धर्म हुन्छ’-तामाङले भने, ‘शहीद राजनैतिक दलभन्दा पनि माथि हुन्छ। यसैले शहीदलाई राजनैतिक रङ्ग दलेर अलग-अलग भएर नगरौँ, एक भएर पालन गरौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया