कफेरमा गोरामुमोको शहीद दिवस: निरज जिम्बाले भने, ‘जबसम्म जीटीए रहन्छ तबसम्म पहाडमा केही राम्रो हुँदैन’

कालेबुङ, 27 जुलाई‘2021 हाम्रो लागी अझ महत्त्वपूर्ण छ। किनभने कलकत्तामा अझपनि ममता ब्यानर्जीको सरकार छ।  ममता ब्यानर्जी जीटीएको डाक्टर हुन्। भेन्टिलेटरमा गएको जीटीएलाई ममता ब्यानर्जीले नै उपचार गरेर थामिराखेकी छन्। यसैले 2021 मा डाक्टर अनि जीटीए दुवै भेन्टिलेटरमा जान्छ। जबसम्म जीटीए भेन्टिलेटरबाट समसानमा जाँदैन तबसम्म पहाडमा केही राम्रो हुँदैन।’

उपरोक्त कुरा दार्जीलिङका विधायक एवं गोरामुमो नेता नीरज जिम्बाले भनेका हुन्। गोरामुमोद्वारा आज कफेरमा आयोजित शहीद दिवस समारोहमा निरज जिम्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस क्रममा उनले पहाडमा जीटीए रहेसम्म केही राम्रो नहुने बताउँदै चाँडोभन्दा चाँडो स्थायी समाधानको निम्ति दिल्लीले डायलग ओपन गर्नुपर्ने माग गरेका छन्।

गोरामुमोले आज कफेर सार्वजनिक भवनमा शहीद दिवस कार्यक्रम आयोजना गरेको थियो। स्थानीय फूर्बा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निरज जिम्बा लगायत आयोजक समितिका अध्यक्ष छिरिङ शेर्पा, भाजपा जिल्ला समितिका अध्यक्ष मनोज देवान, दागोपापको 24 नम्बर समष्टिका अध्यक्ष राजेन तामाङ, समष्टि युवा अध्यक्ष बुद्ध तामाङ, च्याँगा भोटिया, किङ्छुङ लेप्चा, विशाल राई आदिको विशेष उपस्थिति थियो। कार्यक्रममा अतिथिहरूद्वारा शहीदलाई श्रद्धाञ्जली प्रदान गरियो भने शहीद परिवारलाई स्मति चिह्न प्रदान गरियो। यसबाहेक त्यसताकका आन्दोलनकारीहरूलाई पनि कार्यक्रममा सम्मान जनाइएको थियो।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै निरज जिम्बाले जिम्बाले अब पहाडको स्थायी समाधानको निम्ति सबैतिर आवाज उठाउनुपर्ने आह्वान गरे।

‘अब सानोतिनो कुरा होइन स्थायी समाधानको निम्ति दिल्लीले चाँडोभन्दा चाँडो डायलग ओपन गर्नुपर्छ। चर्चा-परिचर्चा हुनुपर्छ, चारैपटि आवाज उठाउनुपर्छ।’

उनले भित्तामा पोष्टर टाल्दा गोर्खाल्याण्ड नहुने तर्क दिँदै यसपल्ट सासंद राजु विष्टले विगतका सासंदहरूले 10 वर्षमा गर्न नसकेको कार्य सदनको एक महिनाभित्रमा धेरैवटा मुद्दाहरू उठाएर देखाइदिएको बताए। यसपल्ट भाजपाले गोर्खाहरूको स्थायी समाधानको निम्ति सहानुभूति होइन तर प्रतिबद्धता नै व्यक्त गरेकोले भाजपासित आफूहरू आशाबादी रहेको बताए।

उनले शहीद न्याय पाउनुपर्ने बताउँदै यसपल्ट पनि चुके गोर्खाहरू धेरै पछि परेर जाने बताए।

अर्कोतिर, आयोजक समितिका अध्यक्ष एवं गोरामुमो नेता छिरिङ शेर्पाले मुख्य गरी शहीद परिवारलाई न्याय दिलाउनका निम्ति जीटीएले प्रत्येक शहीद परिवारलाई नोकरी दिन आह्वान गरे। शहीदहरूको योगदानको कारण नै पहाडमा विभिन्न व्यवस्थाहरू आएको भएपनि उनीहरूले नोकरी समेत नपाएकोमा शेर्पाले गुनासो व्यक्त गर्दै जीटीए अध्यक्ष अनीत थापालाई शहीद परिवारका निम्ति पहल गरिदिन माग गरे।

यसरी नै गोरामुमो 24 नम्बर समष्टि अध्यक्ष राजेन तामाङले प्रत्येक वर्ष गोरामुमोले शहीद वेदीस्थलमा  कार्यक्रम गर्ने गरेको भएपनि यसवर्ष अनुमति नपाएको अनि कार्यक्रम स्थल समेत हाइजेक गरेको बताए। सार्वजनिक भवनमा समेत हिजो बेलुकी मात्र कार्यक्रमको अनुमति पाएको भन्दै प्रशासनले एकपक्षीय नीति अप्नाइरहेको आरोप लगाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया