6 वटा दलले संयुक्त रूपमा  मनायो शहीद दिवस

कालेबुङ, 27 जुलाई: गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ समुह, क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, भारतीय जनता पार्टी, अखिल भरतीय गोर्खालिग, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा अनि गैरराजनैतिक दल कालेबुङ कृषक कल्याण सङ्गठनले आज संयुक्त रूपमा शहीद दिवस पालन गऱ्यो।

शहीदहरूलाई स्मरण गर्दै यहाँको टाउनहलमा सम्पन्न कार्यक्रममा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो जसमा गोर्खा जनमुक्ति मोर्चा विमल समूहका कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा, कालेबुङ जिल्ला संयोजक डा. आर. बी. भुजेल, भुतपूर्व सैनिक अर्द्ध सैनिक मोर्चाका अध्यक्ष अ.प्रा. कर्नेल रमेश आले, नगरपार्षद् शुभ प्रधान, भूतपूर्व सभासद्हरूमा कल्याण देवान, गोपाल रूचाल, सी.पी.पौड्याल, क्रामाकपा कालेबुङ आञ्चलिक समिति अध्यक्ष किशोर प्रधान, विक्रम छेत्री, गोरामुमो कालेबुङ जिल्ला समितिबाट लोपसाङ तामाङ, भारतीय जनता पार्टीबाट शिशिरकुमार पराजुली, सुरज अग्रवाल, सुमन बस्नेत, गोर्खालिगबाट प्रताप खाती, गोरानिमो अध्यक्ष दावा पाख्रिन, कलेबुङ कृषक कल्याण सङ्गठन मूलसचिव विष्णु छेत्री आदिका साथ शहीद परिवारका सदस्यहरू आदि उपस्थित रहेका थिए।

कालेबुङ विधायिका सरिता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद दिवस समारोह समिति अध्यक्ष ननिता गौतम अनि सचिव तोप्देन भोटियाले कार्यक्रम सञ्चालन गरेका थिए भने गोर्खाल्यान्ड आन्दोलनमा शहीद बन्ने वीर वीररङ्गनाहरूको वेदी अनि तस्वीर अघि खदा-माला चढाई श्रद्धाञ्जली अर्पण साथै यसबिच विभिन्न धर्मावलम्बीहरूबाट उपस्थित धर्मगुरूहरूले शहीदहरूको चिर आत्मशान्तिको कामना गर्दै मन्त्रोचरण गरे। शहीदहरूलाई स्मरण गर्दै दुई मिनटको मौन धारण पनि गरियो जहाँ क्रामाकपा कार्यकर्ता बिक्रम छेत्रीले शोक प्रस्ताव पठन गरे। कार्यक्रमबिच आयोजक समितिले 60 जना शहीद परिवारलाई सम्मान पनि जनाए भने यसरी विभिन्न राजनैतिक दलको गठबन्धनमा आयोजित शहीद दिवस सफल भएको आयोजक समिति सचिव तोप्देन भोटियाले दावी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया