खरसाङमा गोजमुमोद्वारा शहीद दिवस समारोह सम्पन्न

खरसाङ, 27 जुलाई: गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रदाञ्जली अर्पण गर्दै खरसाङमा शहीद दिवस पालन गरिएको छ। गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा सम्पन्न शहीद दिवस समारोहको पहिलो चरणमा यहाँको दुर्बीन डाँड़ामा रहेको शहीद वेदीमा शहीदहरूलाई श्रदाञ्जली अर्पण गरियो । उक्त समारोह गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रणय थापाको प्रमुख आतिथ्य र गोजमुमो खरसाङ महकुमा समितिको सभापति किशोर थापाको अध्यक्षतामा सम्पन्न भयो। शहीद वेदीमा उपस्थित अतिथिहरूको बाहुलीबाट धुप द्वीप प्रज्वलन र खदार्पण गरी शहीदहरूलाई श्रदाञ्जली अर्पण गरिएको थियो। यस अवसरमा भूतपूर्व सैनिक संगठनद्वारा शहीदहरूलाई श्रदाञ्जली अर्पण गर्दै सलामी दिइएको थियो। उत्तरार्धको कार्यक्रम नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भयो ।

यस अवसरमा विभिन्न समष्टीबाट आएका शहीदका परिवारहरूलाई सम्मान गरिएको थियो। शहीद दिवस कार्यक्रममा नै युवा मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा रक्तदान शिविर पनि आयोजना गरिएको थियो जसमा 25-30 जनाले रक्त दान गरेका थिए। कार्यक्रमको सञ्चालन देवकी प्रधान,  सुवास प्रधान, मैया ठकुरी,  भक्तिमान तामाङ अादिले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रणय थापाले आफ्नो वक्तव्यमा शहीदहरूलाई सही श्रध्दाञ्जली अर्पण गर्न पर्ने बताउँदै यसको लागि शहीदको परिवारहरूको अवस्था कस्तो छ त्यो विचार गर्नु पर्ने साथै शहीदहरूको नाममा बाटोहरूको नाम राख्नु पर्ने सुझाउ पनि दिएका छन्। उनले शहीदहरूको सपना भनेको गोर्खाल्याण्ड नै हो र गोर्खाल्याण्डको लागि हामी सबैजना एकजुट हुनपर्ने आवश्यकता रहेको पनि बताए। खरसाङमा भएको शहीद दिवस कार्यक्रममा डीटीडीपीएलयु केन्द्रीय सभापति करूणा गुरुङ, गोजमुमो केन्द्रीय सांगठनिक सचिव रतन थापा,  खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु, पूर्व सभासद महेन्द्र प्रधान,  जीटीए बीओए सदस्या जैतुन निशा लगायत खरसाङ महकुमा समितिको पदाधिकारीहरू र विभिन्न समष्टीबाट आएका प्रतिनिधिहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया