
खरसाङ, 28 जुलाई: खस हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिद्वारा आज सोनादामा सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रम यहाँको सोनादा डिग्री कलेजको प्रेक्षागृहमा पण्डित बलराम भण्डारीको अध्यक्षतामा र खस हितकारी सम्मेलन केन्द्रिय समितिका सभापति मदन मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा एसपी शर्मा, मेघनाथ कटवाल, प्रताप छेत्री, अदिप छेत्री, खस बोर्डका अध्यक्ष अन्ते सन्यासी उपस्थित थिए। नरेश कटुवालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर समाजको उन्नतिको लागि कार्य गरिरहेका युवाहरूलाई सम्बर्द्धना जनाइयो। जसमा आरजे समीर छेत्री, निपेन छेत्री, रसिक छेत्री, अभिमन्यु छेत्री, समीर शर्मा आदिलाई खस युवा सम्मानद्वारा सम्मानित गरियो।
खस युवा सम्मानको अवसरमा पाँचैजना युवाहरूलाई स्मृति चिन्ह, प्रशस्ति-पत्र र नेपाली टोपी लगाएर सम्बर्द्धना गरियो। त्यसरी नै 14 जना वृध्द-वृध्दाहरूलाई पनि अङ्गवस्त्र ओढाएर, स्मृति चिन्ह र लौरो प्रदान गरी सम्मान गरियो। यसै कार्यक्रममा सोनादा क्षेत्रका माध्यमिक र उच्च माध्यमिक परीक्षामा उच्च अह्क प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान जनाइयो। यस अवसरमा माध्यमिक परीक्षामा जीटीए टप्पर रोमिदा राईलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा सांस्कृतिक नृत्य, गीत र कविताहरू पठन गरिएको थियो। कार्यक्रममा स्वागत वक्तव्य राजेन छेत्रीले गरेका थिए भने धन्यवाद ज्ञापन छगन ढुङ्गेलले गरेका थिए। कार्यक्रममा दिवंगत खसहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण पनि गरिएको थियो। कार्यक्रममा खस हितकारी सम्मेलन केन्द्रिय समितिका अध्यक्ष मदनकुमार मिश्र, केन्द्रिय महासचिव एसपी शर्मा, केन्द्रिय युवा प्रकोष्ठका अध्यक्ष चन्द्र भण्डारी लगायत शिक्षा विषयमा प्रताप छेत्रीले आफ्ना आफ्नो वक्तव्य राखेका थिए। सभाध्यक्ष पण्डित बलराम भण्डारीले पनि वक्तव्य राखेका थिए।