सासंदलाई गोजमुमो विमलपक्षको आभार: डा. आरबी भुजेलले भने, ‘सडक आन्दोलन धेरै भइसकेको छ, अब बौधिक रूपमा नै अघाडी बढ्नुपर्छ’

कालेबुङ, 30 जुलाई: दार्जीलिङका सासंद राजु विष्टले संसदमा दार्जीलिङ, तराई अनि डुवर्सको स्थायी समाधानको मुद्दा उठान गरेपछि गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङपक्षले खुशी व्यक्त गर्दै सासंद विष्टप्रति आभार प्रकट गरेको छ। गोजमुमो विमलपक्षका कालेबुङ जिल्ला संयोजक डा. आरबी भुजेल, नारी मोर्चा प्रमुख ननिता गौतम अनि जिल्ला युवा संयोजक तोप्देन भोटियाले पत्रकार सम्मेलनको आयोजना गर्दै सासंदप्रति आभार प्रकट गरेका हुन्।

‘भाजपाले आफ्नो मेनिफेस्टोमा यहाँको स्थायी समाधानको मुद्दा राखेको थियो अनि त्यही मुद्दाको आधारमा सासंद राजु विष्टले यहाँबाट विशाल मतले जितेर गएका थिए’-डा. भुजेलले भने, ‘त्यही मेनिफेस्टोको आधारमा सासंद विष्टले जसरी पहाड, तराई अनि डुवर्सको स्थायी समाधानको मुद्दा उठाउने शुरूवात गरेका छन् यसका निम्ति प्रशंसाका पात्र छन्।’

डा. भुजेलले पार्टीको पक्षबाट अनि अलग राज्य चाहनेहरूका पक्षबाट आभार प्रकट गरे। यसै प्रसङ्गमा विष्टले उठान गरेका कुराहरू दोहोऱ्याउँदै डा. भुजेलले पार्टीको अडान स्पष्ट गरे।

विष्टले यहाँ दागोपाप अनि जीटीएजस्ता दुईवटा व्यवस्था असफल भइसकेको अनि त्योभन्दा माथिको व्यवस्था हुनुपर्छ अनि सम्बन्धित पक्षहरूलाई बोलाएर चर्चा हुनुपर्छ भनेर दिएको वक्तलाई गोजमुमोले गहकिलो तर्क बताएको छ।

‘हामीलाई लाग्छ यो शुरूवात हो’-डा. भुजेलले भने, ‘हामी विश्वास गर्छौँ यो शुरूवातले आगामी दिनहरूमा एउटा राम्रो रूप लिएर यहाँका जनताको जुन अलग राज्यको इच्छा-आकांशा छ त्यहाँसम्म पुगेर मात्रै बिसाउनेछ भन्नेकुरामा हामी आश्वस्त छौँ।’

उनले अझ भने अनुसार अलग राज्यको निम्ति दार्जीलिङ पहाडमा धेरै सडक आन्दोलनहरू भए। अब दार्जीलिङ पहाडको स्थायी समाधानको मुद्दा संसदमा उठिसकेको छ। यस मुद्दालाई बौधिक रूपमा नै अघाडी बढाएर लानुपर्छ।

उनले दार्जीलिङ पहाडको स्थायी समाधान अलग राज्य नै रहेको बताएपनि कतिपय राजनैतिक मुद्दाहरूलाई राजनैतिक तरिकाले नै उठान गर्नुपर्ने भएका कारण सोझै अलग राज्य नभनेर ‘स्थायी राजनैतिक समाधान’-भनिँदै आएको बताए। उनले यहाँको स्थायी राजनैतिक समाधानको निम्ति दिल्लीमा डायलग ओपन गर्न सासंदलाई जुन-जुन कुराको आवश्यकता पर्छ पार्टीले सहयोग गर्दै जाने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया