सप्तश्री ज्ञानपीठमा प्रेमचन्द्र जयन्ती पालन: मेघावी विद्यार्थीहरूलाई हिन्दी सम्मान

कालेबुङ, 31 जुलाई: हिन्दी साहित्यका शीर्षस्थ साहित्यकार मुन्सी प्रेमचन्दको 139 औँ जन्मजयन्ती आज यहाँको सप्तश्री ज्ञानपीठ विद्यालयले पालन गऱ्यो। स्कूल प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा आर्मी पब्लिक स्कूलका शिक्षिका शोभा प्रधान प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने प्रधान शिक्षिका मरियम गुरुङ विशेष अतिथिका रूपमा उपस्थित थिइन्। सप्तश्री ज्ञानपीठ हिन्दी विभागको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षक तथा समारोहका संयोजक मुकेश ठाकुरले स्वागत सम्बोधन राखेका थिए भने स्कूलका निर्देशक तपन कुमार प्रधान साथै कार्यक्रममा उपस्थित अतिथिहरूद्वारा मुन्सी प्रेमचन्दको तस्वीर अघि माल्य अर्पण एवम् दीप प्रज्ज्वलन गरिएको थियो।

यस अवधी विरेन्द्र तिवारीले प्रेमचन्दको संक्षिप्त परिचय राखे जहाँ वैष्णवी गुप्ताले प्रेमचन्दको अनमोल वचन सुनाएकी थिइन्। कार्यक्रमबिच आईएससी अनि आईसीएसई परिक्षामा 90 प्रतिशतभन्दा उच्च अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान जनाइयो जहाँ आईएससीमा 93 प्रतिशत अङ्क ल्याउने सेजल बन्सलसितै आईसीएसईमा 94 प्रतिशत अङ्क हासिल गर्ने नीहारिका प्रिया ठाकुर, 91 प्रतिशत अङ्क हासिल गर्ने आरती बन्सल अनि 90 प्रतिशत अङ्क हासिल गर्ने सोनी कुमारी गुप्ता अनि श्रेया पाललाई सम्मान जनाइयो।

सप्तश्री ज्ञानपीठद्वारा प्रत्येक वर्ष आयोजन गरिने प्रेमचन्द जयन्ती समारोहमा प्रत्येक वर्ष नै विद्यार्थीहरूलाई लिएर विभिन्न प्रकारको प्रतियोगिता पनि सम्पन्न गरिन्छ भने यस वर्ष विद्यार्थीहरूमाझ सम्पन्न निबन्ध प्रतियिगितामा प्रथम, दोस्त्रो अनि तेस्त्रो बन्ने विद्यार्थीहरूलाई आज समारोहबिच उपस्थित अतिथिहरूको बाहुलीबाट पारितोषिक वितरण गरियो। निबन्ध प्रतियोगिता अन्तर्गत सप्तम वर्गमा निशा प्रसाद, नितीका रानी शाह अनि प्रतिक साहु क्रमैले प्रथम, दोस्त्रो अनि तेस्त्रो बनेका थिए भने अष्टमवर्गमा अञ्जली वर्षा, मेहक ठाकुर अनि राज गुप्ता, नवम् अनि दसौँ वर्गमा शिखा गुप्ता, आर्यण आनन्द, विशाखा गुप्ता क्रमैले प्रथम दोस्त्रो अनि तेस्त्रो बनेका थिए।

एकादश अनि द्वादशवर्गमा  नीहारिका प्रिया ठाकुर, समीक्षा साजु अनि एकता मित्तल क्रमैले प्रथम दोस्त्रो अनि तेस्त्रो बनेका थिए। कार्यक्रमलाई मुख्य अतिथि शोभा प्रधान अनि निर्देशक तपनकुमार प्रधानले पनि सम्बोधन गरेका थिए भने गीत, नृत्य आदि सम्पन्न भएको समारोहमा नीहारिका प्रिया ठाकुरले धन्यवाद ज्ञापन गरिन्। उल्लेख्य, कालेबुङको इतिहासमा गत 28 अनि 29 सेप्टेम्बर 1980 –मा मुन्सी प्रेमचन्दको 100 औँ जन्म दिवस कालेबुङको टाउन हलमा पारसमणि प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो। त्यसपछि प्रेमचन्द जयन्ती कालेबुङको इतिहासमा पाइएन। लगभग 34 वर्षको अन्तरालपछि सन् 2014–मा सप्तश्री ज्ञानपीठ कालेबुङले पहिलोचोटी प्रेन्मचन्द जयन्तीको आयोजना गर्यो। त्यसपछि प्रत्येक वर्ष नै ज्ञानपीठले मुन्सी प्रेमचन्दको जन्म जयन्ती पालन गर्दै आइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया