कृषकहरूलाई प्रोत्साहन गर्दै खरसाङको सिटोङमा कृषि मेला सम्पन्न: मकैबाट उत्पादित 100 भन्दा बेसी खाद्य सामाग्रीहरूको प्रदर्शनी

खरसाङ,  31 जुलाई : कृषि विभाग खरसाङको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिटोंगको तीनवटा ग्राम पञ्चायतहरूलाई लिएर मकैबाट उत्पादित खाद्य सामाग्रीहरूको मेला आज सिटोङ 1 ग्राम पञ्चायत अन्तर्गत तकलीफ गाउँमा सम्पन्न भएको छ। यस मकैको मेला समारोहमा मकैबाट उत्पादित 100 वटा जति विभिन्न खाद्य सामाग्रीहरूको प्रदर्शन गरिएको थियो। सिटोङको तीनवटा ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न गाउँका कृषकहरूले मकैबाट उत्पादित खाद्य सामाग्रीहरू यस मेलामा प्रदर्शन गरिएको थियो। यस मेला विषयमा बोल्दै कृषि विभागको डेपुटी डायरेक्टर दिनेशकुमार सुन्दासले यो मेला आयोजना गर्नुको मुख्य उद्देश्य सरकारबाट प्रदान गरिने विभिन्न कक्षाहरूका कृषि विभागबाट कृषकहरूलाई जानकारी गराउनु साथै कृषि क्षेत्रबाट पनि कृषकहरूलाई आर्थिक रुपमा माथि उठाउनु रहेको बताएका छन्। उनले कृषि क्षेत्रमा शिक्षित युवाहरूलाई पनि आकर्षित गराउनु र कृषकहरूलाई कम सब्सिडीमा जमीन जोत्ने मशीन प्रदान गर्नु रहेको पनि जानकारी गराए।

डेपुटी डाइरेक्टर दिनेश कुमार सुन्दासले सरकारबाट 50 प्रतिशत र जीटीएबाट 25 प्रतिशत गरेर सब्सिडीमा कृषकहरूलाई कृषि सामाग्रीहरू प्रदान गर्न सकिए आर्थिक स्थिति सुधार्न सकिने बताउँदै आज विशेषगरी कम्ती पानीमा कसरी सिँचाई गर्न सकिन्छ र वर्षाको पानीलाई संरक्षण गरी कसरी कृषिमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कृषकहरूलाई जानकारी गराएको बताए । उनले सरकारबाट आएको हरेक सहुलियतहरू विषयमा जानकारी लिनुको लागि कृषकहरूले नजिकैको खण्ड विकास कृषि कार्यालयमा जाईदिने आह्वान् पनि गरेका छन्। आयोजक समितिको तर्फबाट मकैको मेला आयोजना गरिनुको उद्देश्य विषयमा बताउँदै सिटोंगबाट दिल बान्तावाले यो मेला सिटोंगको तीनवटा ग्राम पञ्चायत अन्तर्गत पर्ने सबै कृषकहरूलाई लिएर गरिएको जानकारी गराएका छन् ।

उनले यो मेलाको उद्देश्य प्रधानमन्त्री कृषक योजनाबाट पाउने सहुलियतहरू विषयमा साथै राज्य सरकारबाट पाउने विभिन्न सहुलियतहरू विषयमा जानकारी गराउन रहेको बताएका  छन्। प्रधानमन्त्री ग्रामीण सिँचाई योजना सिटोंग 1 ग्राम पञ्चायत क्षेत्रमा प्रथमपटक शुरु भएको र यसको लागि 15 वटा क्लष्टरहरू पनि गठन गरिएको बताउँदै कृषकहरूको आर्थिक स्थिति सुधार गर्न जीटीए चेयरम्यान अनित थापाले पनि जीटीए मार्फत् धेरै सहुलियतहरू प्रदान गरेकोमा आभार प्रकट गरेका छन्। यस मेलामा मकैबाट उत्पादित 100 भन्दा बेसी खाद्य सामाग्रीहरूको प्रदर्शन गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने कृषकहरूलाई कृषि विभागबाट पुरस्कृत पनि गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया