कालेबुङमा स्वतन्त्रता दिवसको तयारी: 4 अगस्तदेखि फूटबल प्रतियोगिता

कालेबुङ, 1 अगस्त: कालेबुङमा छुट्टै महत्त्व बोकेको स्वतन्त्रता दिवस समारोह यसवर्ष पनि धुमधामसित पालन गरिने भएको छ। उक्त समारोहका निम्ति प्रारम्भिक तयारी आरम्भ भइसकेको छ। स्वतन्त्रता दिवस समारोहलाई केन्द्र गर्दै नवगठित कमिटी गठन गरिसकेको छ जुन कमिटीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै स्वतन्त्रता दिवस कार्यक्रमको तयारारे जानकारी गराएको हो।

नवगठित आयोजक समितिका सचिव अमिर बस्नेतले जानकारी दिए अनुसार स्वतन्त्रता दिवस दुई दिनव्यापी रूपमा सम्पन्न हुनेछ। प्रथम दिन विभिन्न स्कूलहरूको मार्चपास, राष्ट्रध्वजलाई सलामी एवं सांस्कृतिक कार्यक्रम अनि फूटबल खेल सम्पन्न हुनेछ भने दोस्रो दिन ब्याण्ड डिस्प्ले एवं सांस्कृतिक कार्यक्रम सम्पन्न हुनेछ। 15 अगस्तलाई राष्ट्रिय पर्वका रूपमा धुमधामसित पालन गरिने भएका कारण यसलाई सफलतापूर्वक पालन गर्नका निम्ति  आयोजक समितिले विभिन्न संघ-संस्था, व्यक्ति विशेष, क्लब आदिसित बैठक गरेर सुझाउ लिने भएको छ।

अर्कोतिर आगामी 4 अगस्तदेखि  मेलाग्राउण्डमा स्वतन्त्रता कप फूटबल टुर्नामेन्ट सम्पन्न भइरहेको छ। स्थानीय लगायत बाहिरका 16 वटा दलको सहभागिता हुने यस टुर्नामेन्टको बिजय दललाई 2 लाख अनि ट्रफी साथै उपविजय दललाई 1 लाख रुपियाँ प्रदान गरिने भएको छ। कालेबुङ डिस्ट्रिक्ट स्पोर्ट्स एसोसिएसनका सचिव डेण्डुप भोटियाले यसबारी जानकारी दिँदै यस प्रतियोगितामा दार्जीलिङ, कालेबुङ, खरसाङ लगायत बङ्गलादेश, नेपाल, बेङ्गलोर आदि ठाउँहरूबाट दलहरूको सहभागिता हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया